काठमाडौं- नेपाल इन्जुरी अनुसन्धान केन्द्रले कीर्तिपुरमा 'इन्जुरीको अवधारणा' विषयक एक दिने कार्यशाला आयोजना गरेको छ। इन्जुरीको विषयमा नेपाली समाजलाई राम्रोसँग बुझाउनु कार्यशालाको मुख्य उद्देश्य रहेको बताइएको छ।
सो कार्यशालामा मानवशास्त्री, समाजशास्त्री, सामाजिक कार्यकर्ता, स्कुल शिक्षक, नर्स, डाक्टर, महिला स्वास्थ्य स्वयंसेविका (एफसिएचभी), जनस्वास्थ्यकर्मी र स्थानीय उद्यमी लगायत विविध पृष्ठभूमिबाट ३४ जनाको सहभागिता थियो।
कार्यशालामा नेपाल इन्जुरी अनुसन्धान केन्द्रका निर्देशक प्राडा सुनिलकुमार जोशीले काठमाडौं मेडिकल कलेज चोटपटक रोकथामका लागि सदैव प्रतिबद्ध रहेको बताए।
कार्यशालाका सहभागीहरूलाई स्वास्थ्य समूह, समाजशास्त्री, मानवशास्त्री र सामुदायिक स्वास्थ्यकर्मीहरू गरी चार समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहबाट चोटपटकको बारेमा आफ्नो दृष्टिकोण र रोकथाम गर्ने उपायको बारेमा छलफल गरी अन्त्यमा प्रस्तुति दिन लगाइएको थियो।
सहभागीहरूले चोटपटकका विभिन्न सामाजिक र चिकित्सकीय दृष्टिकोणमाथि प्रकाश पारेका थिए। धेरैजसो सहभागीहरूले शारीरिक चोटलाई मात्र नभई मानसिक चोटपटकका बारेमा पनि बहस गरेका थिए।