सुर्खेत - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका नवनियुक्त शिक्षाध्यक्ष र अस्पतालका निर्देशकले भेटवार्ता गरेका छन्।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापा र अस्पताल निर्देशक डा. मंगल रावल मुख्यमन्त्री शाहीसंग भेटबार्ता गरेका हुन्। सो अवसरमा उनीहरुले प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी गराउँदै थप सहयोगको लागि विशेष आग्रह गरेका छन्।
मुख्यमन्त्री शाहीले कर्णालीको वास्तविकतामा रहेर प्रतिष्ठानले काम अघि बढाउनुपर्ने सुझाव दिए। उनले भने, “प्रतिष्ठानलाई राजनीतिबाट मुक्त गर्नुपर्छ। यहाँका १० वटै जिल्लामा स्वास्थ्य जनशक्तिको अभाव छ। प्रतिष्ठानले प्रदेशभरि सेवा विस्तारगरी त्यसलाई प्रभावकारी बनाउँदै लैजानुपर्दछ। ” प्रदेश सरकारले प्रतिष्ठानको विकासमा समन्वय, सहजीकरण र आवश्यकतामा सम्पूर्ण सहयोग गर्ने जानकारी समेत दिए।
शिक्षाध्यक्ष डा. थापाले प्रतिष्ठानको शैक्षिक क्षेत्रको विकासका लागि योजनावद्ध रुपमा अघि बढ्ने बताए। प्रतिष्ठानको पुस १४ सातौं सिनेट बैठकले शैक्षिक कार्यक्रमहरु एमबीबिएस, एमडीजिपी जनरल प्राक्टिक्स, एमएस अर्थोपेडिक्स, एमडि ईन एनेस्थियोलोजी, एमडी एण्ड पेड्रियाडिक्स, एमडी गाईनोकोलोजी, एमएसी ईपिडिमियोलोजी, ब्याचलर इन न्यूट्रिसन र फार्मेसी सञ्चालन गर्ने निर्णय गरेको थियो।
अस्पताल निर्देशक डा. रावलले प्रतिष्ठानको विकासबाट कर्णालीको विद्यमान स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउने बताए। रासस