तस्बिर सौजन्य : ट्राभलटियर डट कम
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भम्रण वर्ष २०२०लाई लक्षित गरी स्वास्थ्य सेवा प्रवाहका लागि २ विषयमा ९ बुँदे निर्णय गरेको छ।
मन्त्रालयले पर्यटकलाई नियमित तथा आकस्मिक सेवा दिँदा विशेष ग्राह्यता दिनेदेखि लिएर योग केन्द्र सञ्चालन गर्नेसम्मका निर्णय गरेको छ।
पर्यटकसँगै रोग समेत भित्रिने खतरा रहेका कारण मन्त्रालयले त्रिभुवन विमानस्थलको हेल्थ डेस्कलाई प्रभावकारी रुपमा सञ्चालन गर्नेदेखि नयाँ बन्ने अन्तराष्ट्रिय विमानस्थालमा पनि पर्यटकको स्वास्थ्य जाँच गर्न सक्ने हेल्थ डेस्क स्थापन गर्न नागरिक उड्डयन प्राधिकरण र प्रदेश सामाजिक विकास मन्त्रालयसंग समन्वय गर्ने निर्णय पनि गरेको छ।
भ्रमण वर्ष सुरुहुने दिनसम्म पनि सरकारले स्वास्थ्यका विषयमा कुनै पनि तयारी नगरेपछि स्वास्थ्यखबरले विशेष रिपोर्ट प्रकाशित गरेको थियो। ‘भ्रमण वर्ष २०२० : स्वास्थ्यको तयारी शून्य, पर्यटकसँगै भित्रिन्छ रोग’ शीर्षकमा समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयले विशेष बैठक बोलाएको थियो।
बैठकमा पर्यटकको स्वास्थ्यका विषयमा मन्त्रालयले तत्कालै केही काम गर्नुपर्ने सुझाब आएपछि २ विषयमा ९ बुँदे निर्णय गरेको मन्त्रालयका एक उच्च तहका कर्मचारीले जानकारी दिए।
‘सञ्चारमाध्यममा पर्यटकको स्वास्थ्यका विषयमा केही नगरेको भन्ने विषय आइसकेको छ,’ बैठकमा भएको छलफलको विषयमा जानकारी दिँदै ती कर्मचारीले भने, ‘सञ्चारमाध्यमले थप आलोचना गर्नुअघि नै हामीले यो विषयमा केही निर्णय गर्नुपर्छ। त्यसपछि धेरैको सुझाब अनुसार ९ बुँदे निर्णय भएको हो।’
यस्ता छन् स्वास्थ्य मन्त्रालयले भ्रमण वर्षलाई लक्षित गर्दै गरेको निर्णय
१. नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक लक्षित स्वास्थ्य सेवा प्रवाह सम्बन्धीः
- पर्यटकहरूलाई नेपालमा स्वास्थ्य सेवा प्रवाह गर्ने विभिन्न स्वास्थ्य संस्थाहरू सम्बन्धी विवरण तयार पारी पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई उपलब्ध गराउने तथा विभिन्न वेब पोर्टलहरूमा अद्यावधिक गराउने।
- सबै स्वास्थ्य संस्थाहरू लाई पर्यटन वर्ष २०२० भरी नै पर्यटकहरूलाई नियमित तथा आकस्मिक स्वास्थ्य सेवा दिदा विशेष ग्राह्यता दिन सम्बन्धित निकाय मार्फत निर्देशन दिने,
- पर्यटकहरूलाई लक्षित गरी गण्डकी प्रदेशमा योग अभ्यास केन्द्र संचालन गर्ने।
- पर्यटकहरूलाई प्रदान गरेको सेवाको अभिलेख राखी प्रतिवेदन तयार गरी सेटलाईट अस्पतालले हब अस्पतालमा, हब अस्पतालले प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रमा र प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रहरूले राष्ट्रिय स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रमा पठाउनका लागि व्यवस्था मिलाउने।
- राष्ट्रिय र प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रहरूलाई पर्यटन वर्ष २०२० अवधिभरनै पर्यटनको आकस्मिक स्वास्थ्य सेवा प्रवाहलाई सहजीकरण गर्न सजक एवं सतर्क अवस्थामा रहन निर्देशन दिने,
- पर्यटकहरूलाई लक्षित गरी आवश्यक पर्ने श्रव्य(दृश्य सामग्रीहरू संस्कृत, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसंगको समन्वयमा तयार पारी वितरणको व्यवस्था मिलाउने।
- यस सम्बन्धी अन्य क्रियाकलापहरूका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भिजिट नेपाल २०२० को सचिवालय, पर्यटन बोर्ड, विभिन्न साझेदार निकायहरू संग समन्वय गर्ने।
२. प्रमुख पर्यटक प्रवेश नाकामा हेल्थ डेस्क संचालन सम्बन्धमा
- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य सेवा विभागबाट संचालित हेल्थ डेस्कलाई नर्भिक अन्तर्रा्ष्ट्रिय अस्पताल र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले संचालन गरेका हेल्थ डेस्क संग समेत समन्वय गरी थप प्रभावकारी रुपमा संचालन गर्ने।
- सन् २०२० भित्रमा संचालन हुने अन्तराष्ट्रिय विमानस्थलहरूमा पनि हेल्थ डेस्क संचालनका लागि नागरिक उड्डयन प्राधिकरण, प्रदेश सामाजिक विकास मन्त्रालयहरू संग समन्वय गर्ने।
यस्तो थियो स्वास्थ्य खबरले प्रकाशन गरेको समाचार:
भ्रमण वर्ष २०२० : स्वास्थ्यको तयारी शून्य, पर्यटकसँगै भित्रिन्छ रोग
न पर्यटकको उपचारमा चासो, न त ‘स्वास्थ्य पर्यटन’का विषयमा बन्यो कुनै योजना
करिब २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले नेपाल भ्रमण वर्ष २०२० को तयारी तीब्र रुपमा अगाडि बढाइरहेको छ। स्वदेशदेखि विदेशमा समेत भ्रमण वर्षको व्यापक प्रचारप्रसार पनि भइरहेको छ।
भ्रमण वर्षमा पर्यटकसँगै विभिन्न रोग पनि भित्रिने खतरा रहन्छ। यसका साथै नेपाल भ्रमणका क्रममा पर्यटक बिरामी पनि हुन सक्छन्। नेपाल भ्रमणका क्रममा पर्यटकको स्वास्थ्य उपचार र हेरचाह तथा नेपालमा पर्यटकसँगै रोग नभित्रियोस् भनेर नेपाल सरकार कति सजग छ त ? यो विषयमा के काम भइरहेको छ वा हुँदै छन् त ? भ्रमण वर्षको समयमा स्वास्थ्य पर्यटनको विकास र विस्तारका लागि केके योजना बनेका छन् ?
भ्रमण वर्ष सुरु हुनभन्दा दुई साताअघि मात्र स्वास्थ्य खबरपत्रिकाले यी विषयको उत्तर खोजी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पुगेको थियो। तर, दुवै मन्त्रालयका सबै महाशाखा तथा कर्मचारीबाट यी विषयमा कुनै पनि उत्तर आउन सकेन।
स्वास्थ्य खबरपत्रिकाले यी दुई मन्त्रालयका १३ जना कर्मचारीसँग कुराकानी गरेको थियो। तर, उनीहरु कसैले पनि भ्रमण वर्षमा स्वास्थ्यका विषयमा कुनै योजना वा कार्यक्रम बनेको बताउन सकेनन्। बरु उनीहरु उल्टै भन्थे, ‘यो विषय निकै महत्वपूर्ण छ। हामीलाई सम्झाइदिनु भएकोमा धन्यवाद। यस विषयमा सरकारले आवश्यक कदम चाल्नुपर्छ।’
यसले पनि के प्रष्ट पार्छ भने भ्रमण वर्षमा स्वास्थ्यका विषयमा सरकारले कुनै पनि चासो दिएको छैन।
देशका विभिन्न स्थानमा होटल, होमस्टे, विभिन्न पार्क, मन्दिर, पाटीपौवाको रंगरोगन सुरु गरेको सरकारले पर्यटकसँगै भित्रिन सक्ने संक्रामक रोगको न्यूनीकरण तथा रोकथामका लागि भने कुनै योजना र कार्यक्रम नै बनाएको रहेन छ।
आएका पर्यटकहरु बिरामी भए भने कसरी उपचार गर्ने, कहाँ उपचार गर्ने, कति शुल्क लिएर उपचार गर्ने, के–के उपचार गर्ने/नगर्ने वा रेफर गरेर कुन अस्पतालमा पठाउने, कसरी उद्धार गर्ने भन्नेबारे केही पनि तयारी वा प्रारम्भिक छलफल समेत गरेको पाइएन।
स्वास्थ्य र पर्यटन मन्त्रालय मात्र होइन, स्वास्थ्य खबरपत्रिकाले पर्यटन व्यवसायी, पर्यटकको उपचारमा सक्रिय स्वास्थ्य संस्था, डाक्टर तथा सरोकारवालाहरुसँग पनि कुराकानी गरेको थियो। जसमा उनीहरुले सरकारका तर्फबाट पर्यटकको स्वास्थ्यका विषयमा कुनै पनि छलफल नभएको बताए।
‘पर्यटन वर्षको विभिन्न तयारी गर्दैगर्दा सरकारले छुटाएको महत्वपूर्ण पाटो स्वास्थ्यको तयारी हो,’ पर्यटन मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘भ्रमण वर्षमा देशको स्वास्थ्य सेवालाई पनि उत्तिकै ध्यान दिनुपर्ने हो। तर खोई आजको मितिसम्म यो विषयमा एक शब्द पनि कसैले बोलेको सुनेको छैन।’
पर्यटन मन्त्रालयले चासो नदिए पनि स्वास्थ्य मन्त्रालयले त यो विषयमा चासो दिएको होला भन्ने अनुमान थियो। तर, स्वास्थ्य सेवाकै पाटो हेर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यति महत्वपूर्ण विषयमा केही पनि कार्य गरेको पाइएन।
मंसिर २६, २७ र २८ गते लगातार ३ दिन स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्यका हरेक महाशाखाका प्रमुख र अन्य कर्मचारीसँग यो विषयमा जानकारी लिन खोज्दा कसैलाई पनि यस विषयबारे जानकारी थिएन। बरु उल्टै उनीहरु एक र अर्को महाशाखालाई जानकारी होला भन्दै पन्छिरहेका थिए।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘यो विषयमा केही काम भएको छ जस्तो मलाई लागेको छैन। भएको भए केही सूचना आउनुपर्ने हो। सायद गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंहलाई जानकारी हुनुपर्छ। केही बैठकमा उहाँ गएको कुरा सुनेको थिएँ।’
डा दीपेन्द्ररमण सिंह पनि यो विषयमा आफूलाई भन्दा नीति, योजना तथा अनुगमन महाशाखालाई जानकारी होला भन्दै पन्छिए। उनले भने, ‘यो महत्वपूर्ण विषय हो। यसमा केही गर्नुपर्ने त हो। सायद नीति–योजना महाशाखाले यो विषयमा केही गरिरहेको छ की?’
पर्यटन वर्षको केही बैठकमा तपाईं गएको भन्ने कुरा छ नि भन्ने जिज्ञासामा उनले भने, ‘स्वास्थ्यको भन्दा पनि समग्र पर्यटन वर्षको छलफल भएको हो। वास्तवमा यो विषयमा केही गर्नुपर्ने छ। अब हामी केही गर्छौँ।’
त्यसपछि स्वास्थ्य खबरपत्रिकाले नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा विकास देवकोटासँग जिज्ञासा राखेको थियो। उनले भने, ‘यो विषय मेरो महाशाखाअन्तर्गत नपरे पनि मैले आवाज उठाउँदै आइरहेको छु। अबको केही समयपछि यो विषयमा केही निर्णय हुन्छ जस्तो लागेको छ।’
पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले त आफूले विल्कुलै नयाँ विषयको जानकारी पाएको बताए। भने, ‘तपाईंहरुले त मलाई निकै नयाँ विषय पो दिनु भयो त। यो विषयमा त मलाई कुनै पनि जानकारी छैन। पर्यटन महाशाखाबाट केही जानकारी पाउनुहुन्छ होला। म पनि बुझ्ने प्रयास गर्छु।’
पर्यटन महाशाखाका प्रमुख घनश्याम उपाध्यायले विगतमा पर्यटकको उपचारका लागि भइरहेको संयन्त्रले नै भ्रमण वर्षमा काम गर्ने बताए। उनले पर्यटकको उद्धारका लागि भने थप केही गर्नुपर्ने जानकारी दिए।
‘पर्यटकको सुरक्षा र उपचारमा हामी कुनै कमी आउन दिँदैनौँ,’ उनले भने, ‘यसका लागि सम्बन्धित निकायसँग सहकार्य गरेर अगाडि बढ्ने छौं।’
पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले पनि भ्रमण वर्षका सम्बन्धमा स्वास्थ्यका विषयमा सरकारले गरेको तयारी र योजनाका विषयमा कुनै प्रतिक्रिया दिन सकेनन्। उनले हिमाली क्षेत्रमा जाने पर्यटकमा हाई अल्टिच्युडको समस्या देखिँदा उद्धार गर्ने काममा भने सुरक्षाकर्मी र हिमालयन उद्धार संघसँग छलफल भइरहेको जानकारी दिए।
भिभिआइपी आउँदा सुविधा, अरु बेला छैन
सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका समयमा मुक्तिनाथ जाने क्रममा उक्त क्षेत्रमा मिनी आइसियुसहितको व्यवस्था गरेको थियो। त्यहाँ आइपर्न सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै उपचारसहित स्वास्थ्यका अन्य व्यवस्थासमेत गरेको थियो। तर, उनी फर्किएसँगै उक्त क्षेत्रमा बनाइएको स्वास्थ्य संरचना पनि हटाइयो।
हजारौँ पर्यटकको आवतजावत हुने उक्त स्थानमा सुविधासम्पन्न स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था हुनुपर्ने बताउँछन्, स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा बाबुराम मरासिनी।
‘भिभिआइपी र भिआइपीले मात्र उपचार पाउने तर अरुलाई भने वास्ता नै नगर्ने गर्नु हुँदैन,’ उनले भने, ‘पर्यटकको बढी आवागमन हुने मुक्तिनाथ क्षेत्र मात्र नभई अरु क्षेत्रमा पनि सुविधासम्पन्न स्वास्थ्य संरचना हुनुपर्छ।’
महाशाखाकै अर्का पूर्वनिर्देशक डा भीम आचार्य पनि पर्यटकको आवागमन बढी हुने क्षेत्रमा स्थानअनुसार सानादेखि ठूला उपचार सेवा प्रदान गर्ने संरचना हुनुपर्नेमा जोड दिन्छन्। ‘विदेशी आइदिन्छन् र खर्च गरेर गइदिन्छन् भन्ने भ्रम मात्र पालेर हुँदैन,’ उनले भने, ‘नेपालमा आएका उनीहरुले राम्रो उपचार सेवा पाएनन् भने त उसले आफ्नो देशमा फर्किंदा के सन्देश लिएर जान्छ ? त्यो पनि सोच्न जरुरी छ।’
डा मरासिनीका अनुसार ट्रेकिङमा हिँड्दा सामान्य चोट लाग्दा होस् वा खुट्टा मर्किंदा नै किन नहोस्, पर्यटकले हेलिकोप्टर चार्टर गरेर काठमाडौं आउनुपर्ने बाध्यता हटाउनुपर्छ। ‘सामान्य स्वास्थ्य समस्याको उपचारका लागि पनि लाखौँ खर्चेर काठमाडौं आउनु परेपछि पर्यटक पुनः त्यही स्थानमा जाँदैन,’ उनले भने, ‘त्यसकारण विदेशीदेखि स्वदेशी पर्यटकको आवागमन धेरै स्थानमा उपचार केन्द्र र स्वास्थ्य सुझाव दिने केन्द्रहरु बनाउन जरुरी छ।’
सरकारको बेवास्ता देखेर भ्रमण वर्ष घोषणाका लागि मात्रै हो कि भन्ने लागेको बताउँछन् नेपाल पर्वत आरोहण संघका अध्यक्ष शान्तवीर लामा। अहिलेसम्म सरकारले गरेको तयारी नियालिरहेका लामाका अनुसार सरकारले स्वास्थ्य सेवाको पक्षबाट सोच्दै सोचेको छैन।
‘गोरो छाला भएका बाहिरबाट आएका मानिस बिरामी नै हुँदैनन् भन्ने हाम्रो धारणा छ,’ उनले भने, ‘पर्यटन वर्ष घोषणा गरेपछि डलर बोकेर पर्यटक आउँछन् भन्ने तर्फमात्र ध्यान भयो। यस्तो सोच भएपछि उनीहरुको स्वास्थ्यका विषयमा कसको ध्यान जाने ?’
नेपालमा पर्यटकको उपचार गराउँदै आएको सिविक अस्पतालकी मेडिकल डाइरेक्टर डा प्रतिभा पाण्डे पर्यटकलाई नेपालमा आइपर्न सक्ने रोग र स्वास्थ्य समस्याबारे पहिल्यै जानकारी दिनुपर्ने बताउँछिन्।
‘पर्यटकका लागि यहाँ आएपछि हुनसक्ने सम्भावित समस्याका बारेमा पहिले नै जानकारी दिनुपर्ने हुन्छ,’ उनले भनिन्, ‘यसका साथै कुन क्षेत्रमा कस्तो उपचारको व्यवस्था छ भन्ने जानकारी पनि अनलाइनमा पहिले नै हुनुपर्छ।’
नेपाल आएपछि पर्यटकलाई मुख्यतः खानपानका कारण पेटसम्बन्धी समस्या देखिने गरेको छ। पर्यटकलाई उपचार गर्दै आएका अस्पताल तथा स्वास्थ्य संस्थाको तथ्यांकका अनुसार ७० देखि ८० प्रतिशतलाई नेपाल आएपछि पखालाको समस्या हुने गरेको छ।
यसपछि हिमाली क्षेत्रमा जाने पर्यटकलाई हाई अल्टिच्युडको समस्या बढी हुने गरेको छ। त्यसपछि पैदल यात्राका क्रममा पर्यटकको खुट्टा मर्किने, चोट लाग्ने, केहीमा भाँचिने समस्या पनि देखिने गरेको पाइन्छ। तराईका क्षेत्रमा पुगेका केही पर्यटकलाई सर्पले टोकेको समेत पाइएको छ।
पर्यटकलाई बिरामी पर्न नदिन पिउने पानीदेखि खानेकुरामा समेत ध्यान दिन आवश्यक रहेको बताउँछन् डा मरासिनी। ‘तर यहाँको पानीको गुणस्तर, होटलका खानाको गुणस्तर कसले हेरेको छ ? धुलो, धुँवा र प्रदूषण उस्तै छ,’ उनले भने, ‘यसले उनीहरुको स्वास्थ्यमा पार्ने नकारात्मक असर र त्यसपछि उनीहरुमा पर्ने छाप कस्तो होला ? यो विषयमा किन कसैले चासो दिन सकेको छैन ?’
स्वास्थ्य मन्त्रालय अन्तर्गतको कर्मचारीका रुपमा कार्यरत रहँदा उनले पर्यटकलाई ठमेल क्षेत्रमा भुस्याहा कुकुरले टोकेको र पछि ती पर्यटकलाई रेबिज भएर मृत्यु भएको समेत जानकारी पाएका थिए।
‘विकसित देशबाट आएका एक पर्यटक आफ्नो देशमा जस्तै होला भनेर काठमाडौंको सडकमा राति हिँडिरहेको थियो,’ उनले विगतको घटना सम्झँदै भने, ‘एक्कासि ती पर्यटकलाई कुकुरले टोक्यो, उनले समयमा नै रेबिज विरुद्धको सुई लगाउन पाएनन्। दुःखको कुरा आफ्नो देशमा फर्किएको केही समयपछि उसको निधन भयो।’ डा मरासिनी यस्ता कुरामा सरकारले तत्कालै कदम चाल्नुपर्ने सुझाव दिन्छन्।
पर्यटकको उपचारका लागि सरकारले कतिसम्म बेवास्ता गरिरहेको छ भन्ने कुरा केही समयअघि सार्वजनिक भइरहेको पर्यटकको फेक रेस्क्युले पनि प्रष्ट पार्छ। पर्यटकीय क्षेत्रमा उपचारको उचित व्यवस्था नहुँदा केही निजी अस्पताल, बिमा कम्पनी र हेलिकोप्टर व्यवसायीको मिलोमतोमा पर्यटकलाई बिरामी बनाउने र रेस्क्युका नाममा रकम उठाउने गरेको पर्यटन मन्त्रालयले नै सार्वजनिक गरेको फेक रेस्क्युसम्बन्धी प्रतिवेदनले देखाउँछ। तर, अझै पनि सरकारले त्यसलाई व्यवस्थित गर्ने र सरकारी उपचार संयन्त्र बलियो बनाउने काम गर्न सकेको छैन।
पर्यटकसँगै भित्रिन्छन् रोग
भ्रमण वर्षका समयमा पर्यटकसँगै रोग पनि भित्रिने खतरा रहन्छ। विगतमा पनि नेपाल आएका पर्यटकले धेरै रोग भित्र्याइसकेका छन्। पर्यटकले अफ्रिका तथा समुद्र छेउछाउका क्षेत्रमा मात्र देखिने रोगसमेत नेपालमा भित्र्याएको रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ। महाशाखाका अनुसार भाइरसले गराउने चिकेनगोनिया, वाइस्ट नाइल, न्युराइन टाइफस जस्ता नयाँ रोग नेपालमा देखिएको छ। यस्तै ब्याक्टेरियाका कारण हुने रिपेक्सिया पनि बाहिरबाट नै नेपालमा भित्रिएको हो।
एचआइभी, औलो जस्ता रोग अहिले पनि बाहिरबाट नेपालमा भित्रिरहेका छन्। यसका साथै विश्वका धेरै देशमा देखिइरहेको जिका भाइरस, मर्स, निपा, इबोला जस्ता खतरनाक भाइरससमेत नेपाल भित्रिने खतरा रहेको छ। संसारका विभिन्न कुनामा देखिने रोगसमेत नेपालमा देखिनुको प्रमुख कारण पर्यटक वा विदेशबाट फर्कनेहरु नै हुन्।
महाशाखा प्रमुख डा विवेक लाल पर्यटकसँगै केके रोग भित्रिन सक्छन् भन्ने विषयमा कसैले पनि चासो नदिएको बताउँछन्। ‘हामीले पर्यटक ल्याउने नारा त ल्यायौँ, तर पर्यटक भित्रिँदा उनीहरुसँग केके रोग भित्रिन सक्छन्, त्यसमा चासो दिएका छैनौँ।’
उनले यसका लागि एयरपोर्ट र नेपाल भित्रिने नाकामा सुविधासम्पन्न हेल्थ डेस्क सञ्चालन गर्नुपर्नेमा जोड दिए। त्रिभुवन विमानस्थल तथा नेपालका ८ सीमा नाकामा विगतमा सरकारले हेल्थ डेस्क सञ्चालन गरेको थियो तर अहिले त्यो बेकामको भएको छ। पर्यटक विमानस्थलबाट ओर्लिने बित्तिकै उनीहरुको स्वास्थ्य चेकजाँच गर्दा धेरै रोग भित्रिनबाट बच्न सकिने उनले जानकारी दिए।
उनले हेल्थ डेस्क सञ्चालनका विषयमा विभिन्न निकायमा पटकपटक कुरा राख्दा पनि कार्यान्वयन हुन नसकेको गुनासो पोखे।
‘पर्यटकहरु रोग बोकेर आउन सक्छन्। उनीहरु विमानस्थलमा अवतरण भएपछि कुनै रोग ल्याएका छन् कि छैनन् जाँच हुनुपर्छ,’ उनले भने, ‘तर हाम्रो हेल्थ डेस्क कर्मचारी अभावमा बन्द जस्तै छ।’
सरकारले करिब पाँच वर्षअघि विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरेको थियो। २०७२ सालका भूकम्पका कारण क्षतिग्रस्त भएपछि मर्मत गरी हेल्थ डेस्क पुनः सञ्चालनमा ल्याउने प्रयास भएको थियो। विश्व स्वास्थ्य संगठनको सहयोगमा मर्मत भयो पनि भनियो। तर त्यसको काम अहिले शून्य छ।
थर्मल स्क्यानर क्यामेराले बाहिरबाट आएका यात्रुको तापक्रम नाप्ने काम गर्छ। सो क्यामेराको फोकस बाहिरबाट आएको मानिसको निधारमा परी उसको शरीरको तापक्रम नाप्ने काम गर्छ। सोही तापक्रमको आधारमा बढी तापक्रम भएका व्यक्तिलाई हेल्थ डेस्कमा ल्याइ परामर्श गरी थप जाँच गरी कुनै रोगको जोखिम भए÷नभएको पत्ता लगाउने गरिन्छ। तर विमानस्थलमा अहिले त्यो व्यवस्था छैन।
पर्यटकहरु सबै स्वस्थ नै हुन्छन् भन्ने हुँदैन। मुख्यतयाः रोगग्रस्त मुलुकबाट आएका यात्रीसँगै रोगको संक्रमण देशभित्र भित्रिन सक्ने हुनाले विमानस्थललै त्यसको जानकारी लिई सजकता अपनाउनु पनि हेल्थ डेस्कको उद्देश्य हो। तर त्रिभुवन विमानस्थलको हेल्थ डेक्समा न उपकरण छ न त जाँच गर्ने व्यक्ति नै।
खुला सिमाना भएकाले बोर्डरमा पनि हेल्थ डेक्स स्थापना गरिएको थियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले झापाको काँकडभिट्टा चौकी, विराटनगरको रानी भन्सार, रसुवाको रसुवागढी नाका, कञ्चनपुरको गड्डाचौकी, भैरहवाको बेलहिया नाका, नेपालगञ्जको जमुनाहा नाकामा हेल्थ डेस्क स्थापना गरेको थियो। अहिले समायोजन लगायतका विभिन्न कारणले ती हेल्थ डेक्स कामविहीन भएका छन्।
खै स्वास्थ्य पर्यटन बढाउने विषय?
नेपालमा स्वास्थ्य पर्यटन बढाउने विषयमा विभिन्न समयमा बहस र छलफल हुँदै आइरहेको थियो। तर भ्रमण वर्ष २०२० घोषणा भएदेखि अहिलेसम्म यो विषयमा कुनै पनि छलफल र बहस भएको छैन।
नेपालमा आधुनिक चिकित्सातर्फ आँखा, दाँत, छाला, कपाल प्रत्यारोपण तथा अन्य कस्मेटिक उपचारमा धेरै पर्यटक भित्र्याउन सकिने बताउँछन् लामो समय पर्यटन व्यवसायमा काम गरेर हाल स्वास्थ्य र पर्यटन व्यवसायलाई सगै लगिरहेका अरोगिन क्लिनिकका प्रबन्ध निर्देशक रोशन पाण्डे। ‘सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्यसँगै नेपालको स्वास्थ्य पर्यटन बढाउने विषयमा पनि चासो दिन आवश्यक छ,’ उनले भने, ‘अहिले फाट्टफुट्ट रुपमा नेपालका स्वास्थ्य संस्थामा विदेशबाट उपचारका लागि आउने गरेका छन्। तर सरकारले भ्रमण वर्षमा स्वास्थ्य पर्यटनको विषयलाई पनि उठाउने हो भने धेरै फाइदा लिन सकिन्छ।’
पर्यटन वर्षमा आयुर्वेद र नेपालको परम्परागत उपचार विधिका विषयमा प्रचार गर्नुपर्ने बताउँछन्, आयुर्वेद क्षेत्रका अभियन्ता नारायणप्रसाद आचार्य। ‘यो भ्रमण वर्षमा विश्वकै पुरानो चिकित्सा पद्धतिका सेवाहरुका विषयमा हामीले प्रचारप्रसार गर्न सक्नुपर्छ,’ उनले भने, ‘राज्यले भ्रमण वर्ष २०२० मनाउँदै गर्दा हरेक नागरिकले गर्वका साथ हामी नेपाली आयुर्वेदका जननी हौं भन्ने सन्देश फैलाउन सके स्वास्थ्य पर्यटनसमेत बढ्ने थियो।’
तिलगंगा आँखा प्रतिष्ठानकी कार्यकारी निर्देशक डा रीता गुरुङ भम्रण वर्षका समयमा नेपालमा पर्यटकले लिनसक्ने लाभबारे प्रचार गर्नुपर्ने बताउँछिन्।
‘पर्यटकलाई उपचार सेवा दिने कुरा छलफल गरी कसरी कति शुल्कमा गर्ने, उनीहरुको अन्य व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुराबारे तयारी गर्नुपर्छ,’ उनले भनिन्।
अहिले पनि केही विदेशी आँखाको उपचार गर्न तिलगंगा आउने गरेको भन्दै उनले सरकारले चाहने हो भने यसले मेडिकल टुरिजमको विकासमा पनि मद्दत गर्नसक्ने धारणा राखिन्।
उनी भन्छिन्, ‘तिलगंगाको हकमा भन्नुपर्दा हामी आँखाको सबैखाले उपचार सेवा दिन सक्षम छौँ। स्वास्थ्य पर्यटन बढाउने हो भने पूर्वाधार लगायतका अन्य तयारी पनि गर्नुपर्ने हुन्छ।’
तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञ तथा रिफ्लेक्टिभ सर्जन डा शाश्वत ढुंगेल दृष्टिदोष भएका व्यक्तिको लेजर प्रविधिमा आँखाको उपचार विदेशमा भन्दा नेपालमा निकै सस्तो भएकाले त्यसलाई समेत प्रचार गर्न सकिने बताउँछन्।
हरेक राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा एम्बुलेन्स सहितको स्वास्थ्य तयारी आवश्यक
नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशतभन्दा धेरै राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा पुग्छन्। नेपाल सरकारकै यो तथ्यांकलाई आधार मानेर हेर्ने हो भने २० लाख पर्यटकमध्ये आधाभन्दा धेरै इको पर्यटनसँग सम्बन्धित हुन्छन्।
हाम्रा राष्ट्रिय निकुञ्ज बजार नजिक छैनन्। त्यहाँ वरपर होमस्टेहरुको अत्यधिक प्रचलन छ। तर त्यहाँ पनि खानपानसम्बन्धी समस्या हुन्छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा लामो समयसम्म काम गरेका एक वरिष्ठ कर्मचारी भन्छन्, ‘प्रत्यक्ष बाघ हेर्न वा आरक्षमा शिकार गर्न एउटा पर्यटक एक हप्ताभन्दा बढी जंगलमै बसेको रेकर्ड छ। त्यस्तो समयमा जंगली जनावरले आक्रमण गर्नेदेखि मौसमको कारणले स्वास्थ्यमा समस्या हुनसक्छ। त्यस्तो बेला उद्धार गर्ने र उपचार गर्ने सरकारको कुनै मेकानिजम छैन।’
बिरामी गम्भीर भएमा तुरुन्त अस्पताल लैजान एम्बुलेन्सको पनि व्यवस्था हुँदैन। यस्ता समस्याले निकुञ्जकै कति कर्मचारीको त मृत्यु भएकोसमेत उनले बताए।
त्यहाँ यस्ता समस्याका लागि मेडिसिन, परार्मशका लागि डाक्टर र अलि गम्भीर बिरामी भए भने अस्पतालसम्म पुर्याउने एम्बुलेन्सको तयारी आवश्यक छ। त्यसबाहेक अस्पताल र बजार टाढा भएका ठाउँका होटलमा सामान्य समस्यादेखि महिलाले प्रयोग गर्ने सेनेटरी प्याड लगायतका अनिवार्य आवश्यकताका सामानको पनि व्यवस्था हुनुपर्छ।
पर्यटकलाई घुम्न आऊ भन्ने तर बिरामी पार्ने गरियो भने को आउँछ?
डा बाबुराम मरासिनी, पूर्वनिर्देशक, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
एक चोटी नेपाल घुमिसकेका मेरा अमेरिकी साथीलाई एक दिन मैले नेपाल भ्रमणको निम्तो दिएँ। उनले ठाडै अस्वीकार गरिदिए। उनले आफू नेपाल भ्रमण आउँदा बिरामी भएको अनुभव सुनाए। नेपाल आउँदा उनलाई उच्च ज्वरोले सताएको रहेछ। हस्पिटल पनि भर्ना भएछन्। तर कारण पत्ता लागेन। ज्वरो ठिक नहुँदै उनी घर फर्किए। ३० दिनसम्म उनलाई ज्वरो आयो।
पछि त्यहाँको अस्पतालमा देखाउँदा टाइफाइड भएको पुष्टि भयो। ती साथीले ४५ दिनसम्म अफिसमा बिदा लिँदा गाह्रो भएको बताए। मलाई त्यो कुराले एकदमै नराम्रो लाग्यो, फेरि हाम्रो देशमा आऊ भनेर कुन मुखले भन्नु? हामीले पर्यटकलाई आऊ त भन्छौं तर सामान्य कुरामा पनि ध्यान दिन सकेका छैनौँ। पर्यटकलाई खुसी बनाएर पठाउन ठूलाठूला कुराको आवश्यकता छैन।
सफा खानेपानी, स्वच्छ शौचालयको पहुँच तथा सफा खाना, यी तीन चिजमा ग्यारेन्टी दिन सके पर्यटकहरु खुसी भएर फर्किने छन्। हामीले नेपालको कुन मिनिरल वाटरको बोतल देखाएर यो स्वच्छ खानेपानी हो भनेर दाबीका साथ भन्न सक्छौँ?
हिमालमा जाँदा एकथरी, पहाडमा अर्कोथरी अनि तराईमा अर्कोथरी स्वास्थ्य समस्या देखिन सक्छ। यस्ता विषयमा हामीले पर्यटकलाई पहिले नै जानकारी दिन आवश्यक छ। यसका साथै उपचार हुने संस्थाहरुको बारेमा पनि जानकारी दिनुपर्छ। संस्था छैन भने सरकारले आवश्यकताको पहिचान गरेर बनाउनु पनि पर्छ।
चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएको पर्यटकलाई सर्पले टोक्यो भने के गर्ने? सगरमाथा चढ्न हिँडेको पर्यटकको खुट्टा मर्कियो भने उसले कहाँ उपचार गर्ने, कति दिन बस्ने, खोई त जानकारी? खोई कहाँ हुन्छ उपचार? यहाँ आएकाको उपचार मात्र होइन, नेपाल भित्रिने पर्यटकले केके रोग ल्याउन सक्छन्? त्यसको पहिचान कसरी गर्ने? यो कुरामा ध्यान दिन आवश्यक छ।
यहाँ मुख्य त सहज शौचालय नै छैन। राजमार्गमा नै कतै पनि गतिलो शौचालय छैन। यही समस्याले महँगा पर्यटकहरु नेपाल आउन चाहँदैनन्। बासी खाना खुवायो, खराब पानी खुवायो अनि झाडापखाला हुन्छ पर्यटकहरुलाई। हिमालमा अल्टिच्युड सिकनेस भएर आउँछन् भन्ने होला तर प्रमुख समस्या भनेको झाडापखाला नै हो।
हामीकहाँ फुड हाइजिन भएन, किचेन पनि सफा भएन। पानी पनि सफा भएन। कुन पानी खाने त पर्यटकले?
रेबिज लागेर पर्यटकको मृत्युसमेत भएको छ। सो कुरा विश्वकै प्रतिष्ठित पत्रिका लस एन्जलसले पनि छापेको थियो। नेपालमा धेरै छाडा कुकुरहरु छन् भनेर धेरै पर्यटकहरु आउनै छाडेका थिए।
जहाँ बढी पर्यटक जान्छन्, त्यहाँ स्वास्थ्य सेवा कसरी दिने भन्ने छैन। अन्नपूर्ण सर्कलतिर पनि छैन। हाम्रो देशमा घुम्न आऊ भन्ने तर बिरामी पार्ने गरियो भने को आउँछ?
बिरामी भइहालेको खन्डमा उनीहरुले कहाँ गएर जचाउने? उदाहरणको रुपमा लुम्बिनीमा जाँदा बिरामी परियो भने उनीहरुले कहाँ जचाउने? तयारी पनि छैन। सरकारी अस्पतालमा क्लिनिकहरु राखिदिएर उपचार दिनुपर्छ।
पर्यटकलाई दिने नियमित स्वास्थ्य सेवा चुस्त हुनुपर्छ
डा विवेक लाल, निर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
विश्व स्वास्थ्य संगठनको १९६ मुलुकले सही गरेको आइएचआर अर्थात् इन्टरनेसनल हेल्थ रेगलेसन भन्ने सन्धि छ। त्यसमा सबै सदस्य राष्ट्रहरुले कुनै पनि त्यस्तो सम्भावित प्रकोप वा महामारी फैलियो भने तुरुन्तै खबर सम्प्रेषण गर्ने नेटवर्क हुन्छ। त्यो नेटवर्क हो आइएचआर फोकल प्वाइन्ट। त्योमार्फत कुनै रोग देखिएमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्छ र त्यो जानकारी तुरुन्तै जानुपर्छ। उदाहरणका लागि मान्छेमा पहिलो चोटी बर्ड फ्लु लाग्दा विश्वमा नै त्यो समाचार पुग्यो।
त्यो सूचना आएपछि हामीले तुरुन्त त्यो सर्कुेलेट ग¥यौँ। नेपालमा रोग नियन्त्रण शाखालाई त्यो केन्द्र तोकिएको छ।
कुनै पनि देशका मानिसहरु कतै यात्रा गर्दैछन् भने त्यहाँको स्वास्थ्यको निकायले सम्बन्धित निकायलाई जानकारी गराउँछ। कोही विदेशी व्यक्ति नेपाल आएको थियो। नेपालबाट फर्किएपछि गम्भीर रोग देखाप¥यो भने त्यसपछि पनि हामीलाई तुरुन्त जानकारी आउँछ।
जति हाम्रो हवाई आगमन सजिलो भएको छ, त्यसैअनुसार त एकै दिनमा धेरै रोग फैलिन सक्ने हुन्छ। नेपालमा कुनै मुलुकको मान्छे आयो भने भिसा हेरिन्छ तर तपाईं कुन देशबाट आउनुभएको, यो–यो खोप लगाउनु भएको छ की छैन भनेर सोधिँदैन। जबकी नेपालमा त्यस्तो प्रावधान छ।
कोही पाकिस्तान, अफगानिसतानबाट आउँदैछ भने उसले अनिवार्य रुपमा पोलियोको भ्याक्सिन लगाएर आउनुपर्छ। अहिले हामी नेपालीहरु अफ्रिकाको कुनै मुलुकमा जाँदैछौँ भने यलो फिभरको भ्याक्सिन लगाएर जानुपर्छ या आउनुपर्छ। प्रमाणपत्र लिएरै आउनुपर्छ।
सबै रोगको लक्षण एकैचोटी देखिँदैन, त्यसैले पहिचान गर्न पनि मुस्किल पर्छ। जस्तै डेंगु रोग लागेको छ भने त्यसको ७ दिनपछि लक्षण देखिन्छ। इन्ट्री स्क्रिनिङका साथसाथै एक्जिट स्क्रिनिङ पनि गर्नुपर्छ। हामीमा त्यसको अभ्यास छैन।
हामी आफ्नो देशबाट मान्छे बाहिर जाँदैछ, त्यसमा चासो दिँदैनौँ तर बाहिरबाट मान्छेबाट रोग ल्याउँछ कि भन्ने छ। आउने प्रत्येक व्यक्तिको स्वास्थ्य जाँच गर्न सम्भव हुँदैन।
पर्यटक जुनै यातायातबाट पनि आउन सक्छन्। त्यहाँ हामीले स्क्रिनिङ बलियो बनाउन सक्नुपर्छ तर त्यो छैन। हाम्रो हेल्थ डेस्क ८ ठाउँ सीमा नाकामा र यहाँको विमानस्थलमा बजेट विनियोजन गरेर सरकारले पठाइरहेको हो। कुनै ठाउँ स्थायी दरबन्दी भएर हाम्रो स्थायी संरचना बन्न सकेको छैन। यसको निर्णयको लागि फाइल पठाएको छौँ। पहिला काठमाडौँ जनस्वास्थ्य थियो अनि काजमा मान्छे पठाइन्थ्यो तर अब त स्थानीय तहमा गयो। मान्छे खटाउन मानेको छैन। दरबन्दी नै स्वीकृत गर्नुपर्छ।
१२ वर्ष अगाडिको कुरा हो। म सोलुुखुम्बु जिल्ला अस्पतालमा काम गर्थेँ। हिमाल चढ्न गएको एक जना पर्यटक बिरामी भएर फर्कियो। लुक्लाबाट तल फाप्लुमा ओरालियो। हामीले जाँच्यौँ। औषधिहरु पनि दियौँ। तर उसको अल्ट्रासाउन्डलगायत थप उपचार गर्नुपर्ने देखियो। उसको लिभरमा खराबी देखिएको थियो भने उच्च ज्वरो पनि थियो। उसले आफ्नो इन्स्युरेन्स कार्ड दिन खोज्यो। तर मैले उपचार निःशुल्क हो भने। काठमाडौं जाँदा प्राइभेट अस्पतालमा गएपछि इन्स्युरेन्स कार्डबाट रिइन्भर्स हुन्छ, खल्तीबाट तिर्नुपर्दैन भनेँ।
तर त्यो सब ठाउँमा व्यवस्था छैन। यहाँ कोही इन्स्युरेन्स बोकेर आए पनि उपचारको व्यवस्था छैन, त्यो चिजको हामीले पूर्वतयारीमा पर्याप्त ध्यान दिएका छैनौँ।
रोगबाट बच्न, रोग लाग्न नदिनका लागि र रोग लागिहाले पूर्ण रुपमा प्रभावकारी उपचारका लागि हामीले धेरै काम गर्नुपर्छ जस्तो लाग्छ।
यहाँ त धेरै अल्टिच्युड सिकनेसको कुराभन्दा खानेकुरा, स्वच्छ खानेपानी, शौचालयले नै अप्ठ्यारो पार्छ पर्यटकहरुलाई। पूर्वतयारी चाहिँ भएकोे छैन। महामारी नियन्त्रण तबमात्र सम्भव छ, जब नियमित दिने स्वास्थ्य प्रणाली तथा सेवा चुस्त रहन्छ।
पर्यटकलाई सम्भावित स्वास्थ्य समस्याबारे पहिल्यै जानकारी दिनुपर्छ
डा प्रतिभा पाण्डे, मेडिकल डाइरेक्टर, सिविक अस्पताल
नेपाल आएका पर्यटकलाई पेटको समस्या धेरै देखिन्छ। उनीहरुलाई दिसा लाग्ने, पेट दुख्ने, वान्ता हुने जस्ता समस्याले बढी सताएको हुन्छ। ३० वर्षदेखिको अवस्था हेर्ने भने यो समस्यामा खासै परिवर्तन भएको छैन। यसमा रेस्टुरेन्ट हाइजिनले ठूलो भूमिका खेल्छ। बाहिर भएको एउटा अध्ययनले रेस्टुरेन्ट हाइजिनलाई व्यवस्थित गरेको खन्डमा समस्या समाधान हुने देखिएको छ।
पर्यटक नेपाल आउने योजनामा छ भने उसले यहाँका सबै सुविधा इन्टरनेटमा खोज्न थाल्छ। त्यो समयमा उसले स्वास्थ्य सुविधा, स्वास्थ्यमा देखिने समस्या, उपचारको सहजताबारे पनि खोज्छ। उसले औषधि बोकेर आउँछ। यसलाई सेल्फ ट्रिटमेन्ट भनिन्छ। आफूले बोकेर ल्याएको औषधिले भएन, निकै गाह्रो भयो भने मात्र अस्पताल आउने हुन्।
सरकारी स्तरका बेवसाइटमा यस्ता कुरा निकै कम भेटिन्छन्। पर्यटक यहाँ आएर बिरामी हुने मात्र होइन, आउँदासमेत विभिन्न रोग लिएर आउन सक्छन्। यस्ता विषयमा राज्यले चासो दिनुपर्छ। यसले पछिसम्म नेपालको पर्यटन क्षेत्रलाई प्रभावित बनाउन सक्छ।
हामीले करिब ३५ वर्षदेखि ट्राभल मेडिसिन सेवा दिइरहेका छौँ। यहाँ बिरामी भएर आउने पर्यटकले बेलाबेलामा गुनासो गर्छन् कि, उपलब्ध स्वास्थ्य संस्था, आइपर्न सक्ने समस्याबारे पहिले नै भनिदिए सतर्क हुन सजिलो हुन्थ्यो।
नेपालका ठूला सहरमा दिन प्रतिदिन प्रदूषण बढ्दो छ। जसले रुघाखोकी, इन्फ्लुएन्जा, छातीमा समस्या, श्वास फेर्न समस्या लगायतका समस्या धेरै हुन्छ। गत वर्ष खुम्बुमा जाने धेरै पर्यटकलाई इन्फ्लुएन्जा भएर हेलिकोप्टरबाट उद्धार गर्नुपरेको थियो। पर्यटकले इन्फ्लुएन्जा भ्याक्सिन लगाउन जरुरी छ। यसबारे सरकारले बताउन सक्नुपर्छ।
अर्को समस्या भनेको लेक लाग्नु हो। आजकल पर्यटकहरु एडभेन्चर ट्राभलमा रुचि राख्न थालेका छन्। मुटु, मिर्गौला प्रत्यारोपण गरेका, शरीरका ठूलाठूला शल्यक्रिया गरेका व्यक्ति, गर्भवतीसमेत टे«किङ जान चाहन्छन्। उनीहरुले धेरैले आफ्ना डाक्टरसँग परामर्श गरेर आएका हुन्छन् नै। तर यहाँको अवस्था जति विकट ठाउँ गयो, उति नै स्वास्थ्य सेवा पनि विकट छ। यस्तो समयमा हामीले उनीहरुलाई जाने ठाउँको अवस्था, स्वास्थ्यमा देखिन सक्ने समस्या, समस्या भए कसरी समाधान हुन्छ, चिकित्सक, उद्धारको व्यवस्था कस्तो छ भनेर सम्पूर्ण जानकारी दिनुपर्छ। त्यो जानकारी दिने काम हुँदैन।
गाइडहरुले समेत स्वास्थ्य सेवाको अवस्थाका बारेमा जानकारी दियो भने पर्यटक ती क्षेत्रमा जाँदैनन् भन्ने डरले सबै जानकारी लुकाउँछन्।
आजकल लेक लागेर मर्नेहरुको संख्या धेरै छ। हरेक वर्ष ७/८ जना लेक लागेर मर्छन्। लेक लाग्ने समस्याबारे जानकारी दिनुपर्छ। एभरेस्टको खुम्बु क्षेत्रमा ९० प्रतिशत पर्यटकलाई लेक लागेर उद्धार गर्नुपर्छ।
नाम्चे, फेरिचे, लुक्ला, खुम्बु, गोक्योमा मेडिकल स्टेसन छ। तर उनीहरुलाई यसबारे थाहा नै छैन। त्यहीँ उपचार हुने भए पनि जानकारीको अभावमा उनीहरु ठूलो समस्यामा पर्छन्।
यो पटक सबैभन्दा धेरै डेंगुका बिरामी ठमेलबाट आएका थिए। एक जना पर्यटक जोडी हामीकहाँ आए। श्रीमान्लाई ज्वरो आइरहेको थियो। त्यो समयमा डेंगु फैलिरहेको अवस्था थियो। उनलाई डेंगु भएछ। उनको उपचार भयो। पछि उनले भने, ‘हामीलाई यहाँ डेंगु फैलिरहेको छ भन्ने जानकारी मात्र दिएको भए म फुल बाहुला भएको लुगा लगाएर हिँड्थें, सर्तक हुन्थें। यस्तो जानकारी त पर्यटकलाई होटलबाटै पनि दिने व्यवस्था हुनुपर्छ।’
नेपाल आउने पर्यटकलाई यस्ता कुराको जानकारी दिनुपर्छ ताकि उनीहरु सुरक्षित हुन सकून्। हामीले लुकाएर राम्रो हुने होइन।
अर्को भनेको सडक दुर्घटनाबारे पनि उनीहरुलाई सही जानकारी दिनुपर्छ। पछिल्लो समय सडक दुघर्टना दिन प्रतिदिन बढ्दो छ। हरेक दिन सडक दुर्घटनामा परी ज्यान गुमाइरहेका छन्। हामीसँग परामर्श लिन आउने पर्यटकलाई सकेसम्म
भीडभाडयुक्त साधनभन्दा पर्यटक बस नै प्रयोग गर्न सल्लाह दिन्छौँ।
स्वास्थ्यको तयारीबिना भ्रमण वर्ष सफल हुँदैन
शन्तवीर लामा, अध्यक्ष, नेपाल पर्वतारोहण संघ
स्वास्थ्य क्षेत्रको तयारीबिना भ्रमण वर्ष सफल हुन गाह्रो छ। सरकारले भ्रमण वर्षको तयारी गरिरहेको हामीले समाचारबाट थाहा पाउनुपर्छ। खास कुरा के हो भने अहिलेसम्म तयारी भएकै छैन। लोकप्रियताका लागि घोषणा गरेर मात्र हुँदैन। त्यसका लागि तयारी पनि सुरुबाटै गर्नुपर्छ। त्यसमा स्वास्थ्यको तयारी त पहिलो प्राथमिकतामा राखिनुपर्ने हो। तर सरकारले यो विषयमा सोचेको छैन।
फेक रेस्क्युले अन्तर्राष्ट्रिय बजारमा बदनाम भइरहेको समयमा स्वास्थ्यमा बिनातयारी भ्रमण वर्ष सफल बनाउन गाह्रो पर्छ। त्यसको असर दीर्घकालीन रुपमा देखिन्छ।
पछिल्लो समय केही पर्यटन व्यवसायी, केही पर्यटक र अस्पतालले स्वास्थ्य उपचार गर्ने बहानामा पयर्टकमाथि गरेको शोषणले राष्ट्र बदनाम भएको छ। तर उनीहरु कारबाही गर्नुको साटो सरकारी तहबाटै संरक्षण गरिएको दुखद पक्ष छ।
खासगरी हिमाली यात्रामा जाने पर्यटकहरुलाई खाना, हाई अल्टिच्युडको समस्या धेरै हुन्छ। अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा भएपछि इन्फरमेसन सेन्टरमा स्वास्थ्यको जानकारी दिने पनि व्यवस्था गरिनुपर्छ।
पर्यटक अलि विकट ठाउँतिर गए भने सिटामोलसमेत नपाइने स्थिति छ। देशमा अहिलेसम्म स्वास्थ्य सेवा लिँदाको शुल्क तोकिएको अवस्था छैन। हामीले कतिसम्म भेटेका छौँ भने रेस्क्यु गरी ल्याइएका पर्यटकलाई डाक्टर भिजिट शुल्क नै २५ सय डलरसम्म लिइएको छ। पढेलेखेका डाक्टर, अस्पताल सञ्चालकले रातारात एकै व्यक्तिबाट उपचारका नाममा लुटेर खानु निकै लाजमर्दो कुरा हो।
जुन कुरा सरकारलाई थाहा छ। तर कारबाही गर्दैन। सरकारले चाहने हो भने यस्ता विकृति धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ। मैले पर्यटन मन्त्रालयको मिटिङमा पटकपटक स्वास्थ्य सेवाको तयारी नभई लक्ष्य सफल नहुने कुरा पटकपटक उठाएको छु। तर, यतातिर ध्यान गएकै छैन। हामीकहाँ कुनै मेला–पर्व हुन लाग्यो वा पशुपतिमै कुनै पर्व पर्यो भने त स्वास्थ्य शिविर, एम्बुलेन्स तयारी अवस्थामा राखिन्छ, यो त ठूलो आयोजना हो। यसमा स्वास्थ्यको तयारी निकै अघिदेखि हुनुपथ्र्यो। तर केही भएको छैन।
भम्रण वर्ष मार्केटिङको समय हो। यहाँ आएका पर्यटकले राम्रो सत्कार, सेवा पाए भने फर्केर आफ्नो देशमा प्रचार गर्छन्।