काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कर्मचारी युनियनले स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ। पुस २० गते आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटी कार्मचारी युनियनले ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो।
युनियनमा आवद्ध कर्मचारीहरुले विगतमा पटकपटक विभिन्न माग प्रस्तुत गर्दै आइरहे पनि उक्त मागका बारेमा कुनै सुनुवाइ नभएको भन्दै प्रतिष्ठानका सहकुलपति समेत रहेका मन्त्रीसमक्ष मागहरुको सम्बोधन गरिदिन अनुरोध गरेका थिए।
युनियनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवा आयोगका रिक्त पदाधिकारीहरु नियुक्ति गर्नुपर्ने, प्रतिष्ठानलाई विश्वविद्यालयको नामकरण गर्नुपर्ने, कर्मचारीको वृत्ति विकास, उपदान तथा कल्याणकारी कोषको खाता सञ्चालन गरी आवश्यक रकम जम्मा गरिनुपर्ने, अस्थायी, करारमा कार्यरत कर्मचारीको सेवा अवधि गणना गरिनुपर्ने लगायतका माग राखेका छन्।