काठमाडौं– कंलकीस्थित नेपाल नेसनल अस्पतालले भ्रमण वर्ष २०२०लाई लक्षित गर्दै निःशुल्क ओपिडी सेवा सुरु गरेको छ। अस्पतालले निःशुल्क ओपिडी सेवा भने सातामा एक दिन मात्र दिने छ।
अस्पतालले भ्रमण वर्षभर हरेक बुधबार निःशुल्क ओपिडी सेवा दिने अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडेले जानकारी दिए। उनका अनुसार भ्रमण वर्षभर उक्त ओपिडीमा स्वदेशी र विदेशीलाई निःशुल्क हुनेछ। निःशुल्क ओपिडी सेवा प्रत्येक बुधबार बिहान १०देखि साँझ ५ बजेसम्म चल्ने उनले बताए।
ओपिडीमा मेडिसिन, सर्जरी, अर्थोपेडिक्स, गाइनेकोलोजी लगायत सम्पूर्ण विशेषज्ञ चिकित्सकले सेवा प्रदान गर्ने डा पौडेल बताउँछन्। उनका अनुसार यो अवधिमा अन्य सेवा लिएमा ७ देखी १५ प्रतिशतसम्म छुट दिने व्यवस्था समेत गरिएको छ।
साथै अस्पतालले हस्पिटल प्रिभिलेज कार्ड प्रयोगकर्ताले हरेक दिन ओपिडीदेखि शल्यक्रियासम्मको सेवामा १५ प्रतिशत छुट दिने व्यवस्था समेत गरेको छ। अस्पतालका अनुसार यस्तो कार्ड १५ सयमा किन्न सकिन्छ।