सिर्जना खत्री/समर्पण श्री
‘त्यहाँ कसरी काम गर्ने होला ? बिरामीहरू कस्ता पो हुन्छन् ?’
लगनखेलस्थित मानसिक अस्पतालमा पोस्टिङ भएको थाहा पाएपछि नर्स सम्झना श्रेष्ठको मनमा भय मिश्रित कौतुहल जाग्यो। नवजात शिशु वार्डमा रमाएर काम गरिरहेकी उनको अनुहारमा एकाएका चिन्ताका बादल देखिन थाले। ‘मास्टर्स सकिएको थियो। मानसिक अस्पतालमा पोस्टिङ भएको सुन्दा खुसी हुनै सकिनँ,’ सम्झनाले भनिन्।
हुन त पिसिएल पढ्दा पनि मानसिक अस्पतालमा काम नगरेकी होइनन् उनले। तर, २ हप्ताको अनुभव पर्याप्त थिएन। त्यतिबेलाको एउटा घटनाले भने सम्झनाको मनमा डरले डेरा जमाएको थियो। ‘त्यो बेलामा हामी धेरैले नियन्त्रण गर्दा खोज्दाखोज्दै पनि एउटा कडा खालको मानसिक बिरामी फुत्केर दिसा खान पुगेको थियो,’ उनले सम्झँदै भनिन्।
आखिर खल्लो मन लिएर उनी मानसिक अस्पताल जानै प¥यो।
त्यस अस्पतालमा काम गर्दाका सुरुका क्षण सम्झनाको लागि सहज थिएनन्। बिरामी हो कि कुरुवा, चिन्नै कठिन हुन्थ्यो उनलाई। ‘कोही हाँसिरहेका हुन्थे। कोही खेलिरहेका हुन्थे,’ सम्झना सुनाउँछिन्।
एक पटक औषधि खुवाउन जाने बेलामा बिरामीको नाम नै याद नगरी गइछन्। त्यतिबेला निकै समस्या भएको उनको अनुभव छ। ‘कति पल्ट त औषधि खुवाउन खोज्दा बिरामीले नै कुरुवातर्फ देखाइदिन्थे,’ सम्झना भन्छिन्। गेटबाट भित्र छिर्नेबित्तिकै उनलाई सधैं डर लाग्थ्यो, ‘बिरामीले धकेल्न सक्छन्।’
बिरामीमध्ये कसैलाई कडा खालको मानसिक समस्या ‘साइकोसिस’ र ‘सिजोफ्रेनिया’ थियो। कोही मेनिया, डिप्रेसन, एन्जाइटी डिस अर्डर त कोही कुलतमा फसेका क्रिटिकल बिरामी। युवा, महिलादेखि वृद्धसम्मका बिरामी हेर्नुपथ्र्यो।
यी थरीथरीका मानसिक बिरामी देख्दा सुरुमा असहज अनुभव गरिन् सम्झनाले। तर, त्यो असहज परिस्थिति समयसँगै सहजतामा बदलियो।
‘यस्ता बिरामीलाई विशेष केयर चाहिन्छ भन्ने थाहा भयो। उनीहरूलाई गर्नुपर्ने व्यवहार पनि विस्तारै बुझ्दै गएँ,’ सम्झनाले सुनाइन्।
०००
साढे २ वर्ष भयो, मानसिक अस्पतालमा इन्चार्जको रुपमा रुपमा कार्यरत छिन् सम्झना। बिरामीलाई कसरी नियन्त्रण गर्नुपर्छ अहिले बुझेकी छन् उनले। हरेक बिरामीलाई सजिलै चिन्न सक्छिन् उनी। ‘काम गर्दागर्दै पारिवारिक वातावरण भइसक्यो। थाहै नपाई उनीहरूसँग आत्मीय पो भइँदो रहेछ,’ शान्त भावमा सम्झनाले भनिन्।
एक पल्ट सम्झना अस्पताल परिसरमा हिँडिरहेकी थिइन्। एउटा बिरामीले उनीतिर सिँगान फालिदियोे। उनको कपडामा लाग्यो। तर, त्यसलाई सहज रुपमा लिइन् उनले।
औषधि दिने क्रममा थुप्रै पटक बिरामीको अपशब्द भोगेकी छन् सम्झनाले। ‘त्यही त धैर्यता चाहिन्छ। प्यासन चाहिन्छ यहाँ काम गर्न। जे गरे पनि जानेर गरेका होइनन् उनीहरूले,’ उनी सहज भावमा बोल्छिन्।
यहाँ काम गर्दा सम्झना बेलाबेलामा भावुक पनि हुन्छिन्। कुरुवाहरूको दुःखले पिरोल्छ उनको मन। आफ्नो कुरुवालाई केही बिरामीले भने देखिसहँदैनन्। लामो समयदेखि बसेका कुरुवाको मन खिन्नताले भरिएको हुन्छ।
‘एक पल्ट एउटा ६० कटेकी बुढी आमा हुनुहुन्थ्यो। ती आमालाई उसको छोराले नराम्रोसँग कुट्यो। उहाँ हामीसँग नराम्रोसँग रुनुभयो,’ उनले भावुक हुँदै भनिन्, ‘विचरा! त्यो छोरालाई पनि के थाहा र उनको पीडा। उसको माग धेरै हुन्थ्यो। उसले मागेको कुरा नदिएपछि आमाले पिटाइ खानुप¥यो।’
ती बाइपोलार एफेक्टिभ डिसअर्डर (बिपिएडी)का बिरामी थिए। डेढ महिनासम्म उनी अस्पताल भर्ना भएर बसेका थिए। यस्ता घटना बेलाबेलामा घटिरहेको सम्झनाको आँखाले देख्छ।
यहाँ बिरामीहरू लामो समय अस्पताल बस्नुपर्ने हुन्छ। ‘कम्तीमा पनि एक महिना बस्नुपर्छ। अझ कोही त ७ महिनासम्म पनि बसेका छन्,’ सम्झना सुनाउँछिन्।
बिरामीलाई औषधि खुवाउन पनि निकै ध्यान दिनुपर्ने उनी सुनाउँछिन्। उनका अनुसार प्रायः औषधि मुखबाट खाने ट्याब्लेटहरू हुन्छन्। मुखबाट खान नसक्नेलाई इन्जेक्सन लगाइने गरेको छ।
‘कोही बिरामी अरुलाई पिट्ने दुःख दिने भयो वा नियन्त्रण गर्न नसक्ने अवस्था भयो भने करेन्ट दिन्छौं,’ सम्झना कार्यानुभव बताउँछिन्।
करेन्ट अन्तिम विकल्प रहने रहेछ। ‘हामी करेन्ट लगाउनुअघि परामर्श लिन्छौं। बिरामीको आफन्तलाई यसको फाइदाबारे बताउँछौं। त्यतिकै लगाइहाल्दैनौं,’ सम्झना सुनाउँछिन्।
यो बीचमा अस्पताल बसेर पटकपटक फर्केर आउने बिरामी पनि सम्झनाले देखेकी छन्। समस्या बल्झिएर आउनेहरूदेखि सहानुभूति जाग्छ उनको।
पूर्ण निको भएर गएका कतिपय बिरामी देख्दा निकै खुसी हुन्छिन् सम्झना। त्यसरी निको भएपछि ‘जान्छु है’ भनेर खुसी साटेर जाने बिरामीले धेरै पटक उनको अनुहारमा मुस्कान छरिदिएका छन्। ‘त्यति बेला हाम्रो खुसी र जीवनको प्राप्ति नै त्यही हो जस्तो लाग्छ,’ सम्झना सुनाउँछिन्।
यहाँबाट पूर्ण निको भएर गएका कतिपयको नयाँ जीवन आफ्नै आँखाले देख्दा उनी दंग पर्छिन्। यतिबेला एउटा बिरामीको स्मरण गर्छिन् उनी, ‘एक जना बिरामी थिए, रेसब। उनी मिलनसार थिए। ३ महिना भर्ना भएर अस्पताल बसे। निको भएर गएको ३ महिनापछि उनी पुनः अस्पताल आए। त्यो पनि नयाँ जीवन लिएर।’
तिनी आएको देख्नेबित्तिकै सम्झनाको टिमले अनौठो मान्दै भन्यो– तिमी रेसब हैन ? ‘हो म रेसब नै हुँ,’ उनले मुस्कुराउँदै जवाफ दिए।
रेसब माकेर्टिङमा काम गर्दारहेछन्। उनी चिया, साबुन लगायतका सामान बोकेर बिक्री गर्न आएका रहेछन्। ‘हामी सबैले खुसी मानेर सामान किनिदियौं। कमसेकम ऊ ठीक भएर नयाँ जीवनमा फर्कियो। उसले पेसा अँगाल्यो,’ प्रफुल्ल भावमा सम्झना सुनाउँछिन्। एकैछिन मौन हाँसो हाँसेर पुनः भन्छिन्, ‘यस्ता पेसेन्टलाई सधैं याद गरिन्छ। हाम्रो निम्ति ऊ त उदाहरण नै हो।’
मानसिक अस्पतालमा प्रायः आउनेहरूको आर्थिक अवस्था कमजोर हुन्छ। गरिबीका रेखाहरू ती मानिसको निरस अनुहारमा प्रस्टै कोरिएका हुन्छन्। ‘हामी उनीहरूका लागि निःशुल्क खानाको व्यवस्था गर्छौं। कुरुवालाई पनि गर्छौं। कसैको त लगाउने कपडा समेत हुँदैन, हामीले पहिलो पल्ट प्रयोग गरेका कपडाहरू जम्मा गरेर उनीहरूलाई सहायता गर्छौं,’ सम्झना सुनाउँछिन्।
सुत्केरी बिरामी छन् भने अतिरिक्त आहारको लागि किचेनबाट व्यवस्थापन गर्न लगाइने सम्झना बताउँछिन्।
बिरामीहरूलाई अकुपेसनल थेरापी पनि समयसमयमा गराइने सम्झना बताउँछिन्। ‘हामी सिर्जनशील कामहरू बिरामीलाई गराउँछौं। कहिले खेल खेलाउँछौं। कहिले विभिन्न सामग्री बनाउन लगाउँछौं,’ उनी भन्छिन्।
बिरामीलाई खेल खेलाउने क्रममा एउटा नमिठो अनुभव सम्झनाले बटुलेकी छन्। ‘खेल खेलाइरहेका थियौं। एक पल्ट एउटा बिरामी खेल्दाखेल्दै ढले। पाटनमा लगेर उपचार गराउँदा उनको डेथ भइसकेछ,’ उनले भनिन्, ‘साह्रै दुःख लाग्यो। त्यसपछि लामो समय नचाउने र खेलाउने गरेनौं।’
अस्पतालको व्यस्तताले कहिलेकाहीँ पारिवारिक जिम्मेवारीहरू भुल्ने सम्झना बताउँछिन्। एक दिन आकस्मिक कामका कारण ‘ड्युटी आवर’ सकिसक्दा पनि उनी व्यस्त भइछन्। काम गरुन्जेल न समयको याद भयो, न घरको।
काम सकेर निस्कनै लाग्दा मात्र उनलाई सन्तानको याद आयो। ‘ओहो ! कामले गर्दा मैले छोरालाई नै बिर्सेछु। जब घर जान लागेँ, तब याद भयो,’ उनले सम्झिइन्। त्यसपछि उनी असिनपसिन गर्दै घर गइन्। ‘घर पुगेपछि थाहा भयो, बाबु स्कुलबाट घर आएर रोएर बसेको रहेछ,’ सम्झनाले भनिन्।
०००
मानसिक अस्पताल मात्र होइन, अन्य अस्पतालमा काम गर्दाका अनुभव पनि रोचक छन् सम्झनाका। सानोमा घर नजिकैको नर्स दिदीलाई देखेर भविष्य कल्पिन्थिन्– म पनि एक दिन नर्स बन्छु।
अनि एसएलसीपश्चात् उनले त्यही विषय रोजिन्। ललितपुर क्याम्पसबाट पिसिएल र स्नातक गरिन्। महाराजगञ्ज नर्सिङ क्याम्पस टिचिङबाट मास्टर्स गरिन्।
पिसिएल पढ्दा पनि अस्पतालमा प्राक्टिकलस्वरुप काम गर्नुपथ्र्यो। नर्स भनेर शब्दमात्र बुझेकी सम्झनाले काम गर्दै जाँदा बुझिन् पेसाको वास्तविकता।
पहिलो पटक पाटन अस्पतालको मेडिकल वार्डमा काम गर्दाको अनुभव सम्झनासँग ताजा छ। ‘सुरुमा बिरामीदेखि एकदमै धेरै डर लाग्थ्यो। बिरामीलाई भेट्नु पहिले हामी बिरामीको हिस्ट्री हेथ्र्यौं। ऊ के कारणले भर्ना भयो भनेर। हेर्दाहेर्दै आत्तिन्थेँ कसरी केयर गर्ने भनेर,’ सम्झना विगत सुनाउँछिन्।
एक पल्ट डरकै कारण एउटा बिरामीलाई खुवाउनुपर्ने औषधि अर्को बिरामीलाई लगेर खुवाइछिन् उनले। त्यो गल्तीबाट ठूलो पाठ सिकिन्। शिक्षकबाट धेरै गाली खाइन्। ‘बिरामीलाई के हुन्छ भन्ने डर भयो। अनि बिरामीको मान्छेलाई गएर भनियो, औषधि गल्ती प¥यो भनेर। धन्न, त्यस्तो इफेक्ट नपार्ने औषधि थियो,’ सम्झनाले सुनाइन्।
मेडिकल वार्डमा फोक्सो, निमोनिया, दम र एचआइभी लगायतका बिरामी भर्ना भएका थिए। सुरुमा बिरामीसँग एडजस्ट हुनै गाह्रो भएछ उनलाई। स्नातक गर्दा भने उनी खारिइसकेकी थिइन्। उनको काम र बिरामीको हेरचाहमा परिपक्वता आइसकेको थियो।
स्नातक गर्ने क्रममा उनले गंगालाल हृदय केन्द्रमा काम गरिन्। ‘त्यहाँ विशेषतः मुटुको उपचार हुने हुँदा अधिकांश मुटुकै समस्याका बिरामी हुन्थे। काममा संवेदनशील हुनुपथ्र्यो,’ सम्झनाले भनिन्। यसरी काम गर्दा उनको बिरामीसँग आत्मीय सम्बन्ध हुन्थ्यो।
‘एक जना बिरामी हुनुहुन्थ्यो, उहाँलाई म बा भन्थेँ। लामो समय अस्पताल बस्नुभयो। उहाँलाई मैले खास केयर गरेँ। पछि जाने बेलामा खुसी भएर मलाई भन्नुभयो– मेरो छोरी छैन। तिमीलाई छोरी बनाउँछु। बासँग मेरो पछिसम्म पारिवारिक सम्बन्ध नै बस्यो,’ सम्झनाले सुनाइन्।
गंगालालपछि टिचिङमा तीन वर्ष काम गरिन् सम्झनाले। उनको पोस्टिङ नवजात शिशु वार्डमा थियो। शिशु वार्डमा काम गर्ने विशेष रुचि पनि थियो उनको। संयोगबस त्यति बेला उनी पनि आमा बनिसकेकी थिइन्। जन्मेको एक महिनासम्मका बच्चाको उपचार हुन्थ्यो त्यहाँ। आफ्नै सन्तान जसरी केयर र माया गर्थिन् उनी।
यद्यपि, भर्खरै आमा बनेर काम गर्नुका केही पीडा पनि सम्झनाले सँगालेकी छन्। बच्चालाई घरमा छाडेर ड्युटी गर्न आउँदा सुरुमा निकै कठिन भयो उनलाई। ‘ड्युटीमा पुग्नै परिहाल्यो। ध्यान आफ्नो बच्चापट्टि हुन्थ्यो। साह्रै नरमाइलो हुन्थ्यो। कुनै बच्चाको रगत निकाल्नु पर्दा आफ्नै बच्चा रोएको जस्तो लागेर आँखामा आँसु आउँथ्यो,’ उनी अनुभव सुनाउँछिन्।
एक पल्ट सम्झनाको छोरा बिरामी थियो। ज्वरो १०४ डिग्री पुगेको थियो। छोरालाई श्रीमान्को जिम्मामा छाडेर अस्पताल आउन बाध्य थिइन् उनी। ‘५÷५ मिनेटमा फोन गरेर तनाव दिइरहेका थिए। निकै तनावमा थिएँ। सिफ्टमा हामीले छोड्नै मिल्दैनथ्यो,’ सम्झनाले सुनाइन्, ‘त्यतिबेला तुरुन्तै एउटा इमर्जेन्सी केस आयो। हामीले गर्नुपर्ने कुरा सबै ग¥यौं। तर, बच्चा बाँच्न सकेन।’ त्यो बेला बच्चाको अभिभावक निकै रोए।सम्झना पनि छाँद हालेर रोइन्। ‘यति रोएँ कि त्यो अवस्थामा साह्रै गाह्रो भयो। आफैंलाई भएको जस्तो। बाबुको साह्रै याद आयो,’ उनले भावुक हुँदै भनिन्।
त्यसपछि उनले मास्टर्स गरिन् र पोस्टिङ मानसिक अस्पतालमा भयो।
०००
१३ वर्ष भएछ, सम्झना आफ्नै रुचिको पेसामा गहिरिएर लागेको। सिक्दै गर्दाका गल्तीले उनलाई झन् सबल बनाएको छ। नर्सिङ पेसाका सुख–दुःखसँग उनी घुलमिल भएकी छिन्। पीडामा पनि हाँस्नुपर्ने स्वभाव बनाएकी छन्।
मानसिक अस्पतालमा आएपछि उनको बुझाइ फराकिलो भएको छ। ‘गेटबाट भित्र छिरेपछि मानसिकता नै अर्को बनाउनुपर्छ। संवेदनशीलता हाम्रो महत्वपूर्ण हतियार हो,’ उनी ठान्छिन्।
मानसिक वार्डमा काम गर्ने नर्सलाई छुट्टै तालिमको व्यवस्था हुनुपर्ने उनको मत छ। भन्छिन्, ‘यहाँ त कुनै तालिमबिनै आउनुपर्छ। सुरुसुरुमा त कम्ति गाह्रो हुँदैन। यदि तालिम भइदिएको भए त्यस्तो हुँदैनथ्यो,’ उनको गुनासो छ।
आफ्नो पेसामा काम गर्दाका खुसी उनीसँग अनिगिन्ति छन्। मुस्कुराउँदै भन्छिन्, ‘जब बिरामी निको भएर प्रफुल्ल मुद्रामा बाहिर निस्कन्छन्। अनि हामी पनि ढुक्कको श्वास फेर्छौं।’