डा ओममूर्ति अनिल
मुटुको मांसपेशीलाई रगत प्रदान गर्ने रक्तनलीलाई कोरोनरी आर्टरी भनिन्छ। दायाँ र बायाँ गरी २ वटा कोरोनरी आर्टरी हुन्छन्। बायाँ तिरको आर्टरी दुइवटा आर्टरीमा विभाजित हुन्छन्। एउटाले मुटुको अगाडिको भागलाई र अर्कोले पछाडीको भागलाई रगत प्रदान गर्छ। मुटुको अगाडिको भागलाई रगत प्रदान गर्ने आर्टरीलाई लेफ्ट एन्टेरियर डिसेन्डिङ (एलएडी) र पछाडिको भागलाई लेफ्ट सर्कुम्फ्लेक्स (एलसिएक्स) भनिन्छ। कोरोनरी आर्टरी साँघुरो हुने रोगलाई कोरोनरी आर्टरी डिजिज भनिन्छ। रक्तनली साँधुरो भएर मुटुको मांसपेशीलाई चाहिने रक्तसञ्चारमा कमी भएमा छाती दुख्ने गर्छ। यसलाई एन्जाइना भनिन्छ।
मुटुलाई लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीले सबैभन्दा बढी रगत प्रदान गर्छ। यो रक्तनलीमा अवरोध भएमा मुटुको ठूलो भागमा असर पर्ने भएकाले यसले हृदयाघात हुने खतरा बढी हुन्छ। यस्तो अवस्थामा मानिसको मृत्यु हुने सम्भावना पनि बढी हुन्छ।
सामान्यतया लेफ्ट सर्कुम्फ्लेक्स र दायाँ कोरोनरी आर्टरी (आरसिए) अर्टारीको आकार बराबर हुन्छ। तर, कसैको मुटुमा लेफ्ट सर्कुम्फ्लेक्स ठूलो र कसैकोमा दायाँ कोरोनरी आर्टरी ठूलो हुनसक्छ। जति ठूलो आर्टरीमा अवरोध भएको हुन्छ त्यति नै धेरै बिरामीको मुटुमा असर पर्नसक्छ।
यी रक्तनलीमा अवरोध छ/छैन भनेर थाहा पाउन गरिने महत्वपूर्ण जाँच भनेको नै एन्जिओग्राफी हो। एन्जिओग्राफी दुई किसिमले गर्न सकिन्छ। पहिलो सिटी स्क्यानको माध्यमबाट र दोस्रो भनेको क्याथ ल्याबमा राखेर क्याथेटर तारको माध्यमले गरिन्छ। सिटि स्क्यानको माध्यमबाट एन्जिओग्राफी गरेर हेर्दा रक्तनलीमा अवरोध देखिएमा पुनः क्याथेटरको माध्यमले एन्जिओग्राफी गर्नुपर्ने नै हुन्छ। त्यसकारण पछिल्लो समय क्याथेटरको माध्यमबाट गरिने एन्जिओग्राफी नै धेरै गरिन्छ।
हृदयाघात भएका बिरामी, हिँडडुल गर्दा छाती दुख्ने भएमा, मुटु कमजोर भएमा कारण पत्ता लगाउन, मुटुको अप्रेसन गर्नुअघि, हृदायघातको जस्तो लक्षण (छाती दुख्ने, हिँड्दा छातीमा तनाव, दबाब वा पोलेको जस्तो महसुस हुने, ढुकढुक हुने, पसिना आउने, रिंगटा लाग्ने, थकाइ लाग्ने, असजिलो महसुस हुने) भएमा पनि एन्जिओग्राफी गर्ने गरिन्छ।
के हो कोरोनरी एन्जिओग्राफी?
मुटुलाई रक्तसञ्चार गर्ने रक्तनलीमा अवरोध छ कि छैन भनेर पत्ता लगाउन मुटुको रक्तनलीमा विशेष किसिमको तरल पदार्थ पठाएर जाँच गर्ने विधिलाई कोरोनरी एन्जिओग्राफी भनिन्छ। क्याथ ल्याबको सुविधा भएको अस्पतालमा विशेषज्ञ चिकित्सकले यो जाँच गर्ने गर्छन्।
कसरी गरिन्छ?
यो जाँच तिघ्रा वा हातको नसाबाट विशेष किसिमको तार (क्याथेटर) छिराएर मुटुको रक्तनलीसम्म पुर्याइन्छ। त्यसपछि क्याथेटरलाई मुटुको रक्तनलीको प्वालमा छिराएर विशेष किसिमको तरल पदार्थ (कन्ट्रास्ट एजेन्ट)लाई सिरिन्जको माध्यमबाट रक्तनलीभित्र पठाइन्छ। त्यही समयमा विशेष किसिमको एक्सरे मेसिनले रक्तनलीमा पठाइएको तरल पदार्थको तस्बिर रेकर्ड गर्छ। त्यही तस्बिरको सहयोताबाट रक्तनलीमा अवरोध भए नभएको पत्ता लगाइन्छ।
मुटुको रक्तनलीमा ५० प्रतिशतभन्दा कमको अवरोधलाई साधारण रोगका रुपमा मानिन्छ। ५० प्रतिशतभन्दा कमको अवरोध एउटा वा धेरै रक्तनलीमा हुनसक्छ। बिरामीको रक्तचाप, सुगर, कोलेस्टेरोल राम्रो नियन्त्रण नभएमा अवरोध बढ्ने सम्भावना रहन्छ। यस्तो अवस्थामा औषधि र जीवनशैलीमा ध्यान दिन आवश्यक हुन्छ।
५० देखि ७० वा ८० प्रतिशतसम्मको अवरोधलाई धेरैजसो अवस्थामा औषधिले नै उपचार गर्ने गरिन्छ। औषधिले समस्याको राम्रो समाधान नभएमा एन्जिओप्लास्टी वा बाइपास सर्जरी गर्नुपर्ने हुनसक्छ। एन्जिओग्राफीमा अवरोध धेरै देखिएमा औषधिले मात्र नियन्त्रण नहुने भएकाले एन्जिओप्लास्टी वा सर्जरी सुरुमै गर्नुपर्ने पनि हुनसक्छ। ठूलो रक्तनलीको मुखमै ९० प्रतिशत वा बढी अवरोध देखिएमा चाँडै उपचार गर्नु राम्रो हुन्छ।
एन्जिओग्राफीपछि के के सावधानी लिनुपर्छ?
१. तिघ्रोको रक्ततलीबाट एन्जिओग्राफी गरेमा जाँचपछि ६ घन्टासम्म दुबै खुट्टा सिधा गरेर सुत्नुपर्छ।
२. एन्जिओग्राफी गरेको ठाँउमा रगत जम्मा हुन सक्छ। यस्तो भएमा तुरुन्तै डाक्टरलाई जानकारी दिनुपर्छ।
३. एन्जिओग्राफीपछि छाती दुख्नु, रिंगटा लाग्नु, रक्तचाप कम हुनु आदि सिकिस्त लक्षणहरु हुन्। यस्तो भएमा डाक्टरलाई तुरुन्तै जानकारी गराउनुपर्छ।
४. एन्जिओग्राफी रिपोर्टमा के खराबी देखियो र आफूले खाइरहेको औषधिमा केके थपघट गर्नुपर्ने हो सोको जानकारी डिस्चार्ज अगाडि नै सम्बन्धित डाक्टरबाट लिनुपर्छ।
एन्जिओप्लास्टी के हो?
मुटुको रक्तनलीमा अवरोध देखिएपछि तार, विशेष किसिमको बेलुन र स्टेन्टको मद्दतले साँघुरो भएकाले रक्तनलीलाई फराकिलो बनाउने वा बन्द भएको नलीलाई खुलाउने काम गरिनछ। अवरोध भएको रक्तनलीलाई खुलाउने र रक्तप्रवाहलाई राम्रो बनाउने पद्धतिलाई नै एन्जिओप्लास्टिी भनिन्छ।
यस उपचार पद्धतिमा शल्यक्रिया नगरी तिघ्रा वा हातको रक्तनली भएर मुटुको रक्तनलीमा तार छिराएर बेलुन वा स्टेन्टको मद्दतले अवरोधलाई हटाउने काम गरिन्छ। बेलुनको मद्धतले साँघुरो ठाँउलाई फराकिलो बनाइन्छ र त्यसपछि स्टेन्ट राखिन्छ। स्टेन्ट विशेष प्रकारको मेटलबाट बनेको रक्तनलीको आकारको हुन्छ। यसको काम फराकिलो गरिसकेको आर्टरीलाई फेरी साँघुरो हुनबाट बचाउनु र रक्तप्रवाहलाई सामान्य बनाउनु हो। एन्जिओप्लास्टि जहिले पनि एन्जिओग्राफी पछि मात्रै गरिन्छ।
-(डा ओममूर्तिको पुस्तक 'म पनि डाक्टर'बाट)
यो पनि