काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिका लगायत अन्य विकसित मुलुकमा अध्ययन/तालिमका लागि नेपाली चिकित्सक/स्वास्थ्यकर्मीलाई दिइने आवश्यकता पत्र (स्टेटमेन्ट अफ निड) मा कडाइ गरेको छ।
मन्त्रालयबाट आवश्यकता पत्र लिई विदेशमा अध्ययन तथा तालिममा गएका चिकित्सक तथा स्वास्थ्यकर्मी उतै हराउने क्रम बढ्न थालेपछि कडाइ गरिएको हो। यसका लागि मन्त्रालयले छुट्टै कार्यविधि बनाएको छ।
स्वास्थ्य मन्त्रालयले विदेशमा अध्ययन वा तालिम लिने हेतुले जान चाहने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकता पत्र जारी गर्ने सम्बन्धमा स्तरीय कार्य सञ्चालन कार्यविधि (स्टान्डर्ड अपरेटिङ प्रोस्युडर) २०७६ जारी गरेको हो। यसअघि आवश्यकता पत्र लिन कुनै आधिकारिक व्यवस्था गरिएको थिएन।
हालसम्म स्वास्थ्य मन्त्रालयबाट यस्तो पत्र लिई कति चिकित्सक वा स्वास्थ्यकर्मीले विदेशमा अध्ययन वा तालिम लिएका छन्, कति फर्किए र कति उतै हराए भन्ने तथ्यांक छैन। यसका साथै अहिले कति चिकित्सक वा स्वास्थ्यकर्मीले विदेशमा अध्ययन गरिरहेका छन् भन्ने पनि कुनै आधिकारिक तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन।
कार्यविधिमा नेपालभित्रै अध्ययन हुने विषय/विधामा अध्ययन वा तालिमका लागि जान चाहने व्यक्तिका लागि मन्त्रालयले स्टेटमेन्ट अफ निड जारी नगर्ने व्यवस्था गरेको छ।
त्यसैगरी नेपालको सरकारी, निजी वा गैरसरकारी क्षेत्रमा कम्तीमा १ वर्ष सेवा नगरेको चिकित्सक वा स्वास्थ्यकर्मीलाई पनि स्टेटमेन्ट अफ निडको पत्र दिन बाध्य नहुने व्यवस्था गरिएको छ।
कार्यविधि अनुसार सो पत्र लिई विदेशमा अध्ययन वा तालिम लिन चाहने व्यक्तिले यसरी सेवा गरेको व्यहोरा, सेवा गरेको स्थानको स्थानीय तह वा स्वास्थ्य कार्यालयबाट प्रमाणित गरेको हुनुपर्ने छ।
छात्रवृत्तिमा अध्ययन गरेको व्यक्तिले छात्रवृत्ति सेवा करार पूरा गरेको व्यहोरा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले प्रमाणित गरेको हुनुपर्ने विषय पनि कार्यविधिमा उल्लेख छ।
नेपालभित्र अध्ययन नहुने विषयको सूची चिकित्सा शिक्षा आयोग, सम्बन्धित पेसागत काउन्सिल र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहितको समितिले प्रत्येक वर्ष निर्णय गरी जारी गर्ने बताइएको छ। नेपालमा अध्ययन नहुने विषयको सूची तयार नभएसम्म स्टेटमेन्ट अफ निड जारी गर्न बाधा नपर्ने पनि कार्यविधिमा व्यवस्था गरिएको छ।
स्टेटमेन्ट अफ निडको लागि निवेदन दिने व्यक्ति सम्पूर्ण कागजातसहित र नेपालमा स्थायी बसोबास गर्ने अभिभावकसहित उपस्थित हुनुपर्ने अनिवार्य व्यवस्था समेत गरिएको छ।
सो पत्रका लागि निवेदन दिँदा ‘अध्ययन समाप्त भएको मितिले ३ महिनाभित्र नेपाल फर्किएर तोकिए बमोजिम सेवा गर्नेछु’ भन्ने व्यहोरा खुलेको प्रतिवद्धता पत्र पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।
स्वास्थ्य मन्त्रालयबाट स्टेमेनट अफ निड लिई अध्ययन गर्न गएको व्यक्तिले अध्ययन समयावधि सकिएको ३ तीन महिनाभित्र मन्त्रालयमा आफू फर्किएको लिखित जानकारी दिनुपर्ने छ।
मन्त्रालयले सो पत्र लिई अध्ययन गर्न गएको व्यक्तिको नाम, थर, नेपालको स्थायी ठेगाना, राहदानी नम्बर, अभिभावकको नाम, थर, ठेगाना, अध्ययन गर्ने शिक्षण संस्थाको विवरण, अध्ययन गर्ने विषय र अध्ययन समाप्त हुने मिति समेत खुलेको विवरण वेबसाइटमा सार्वजनिक गर्ने छ।
यदि फर्कने कबुलियत गरेको व्यक्ति तोकिएको अवधिभित्र नफर्किएमा परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशको दूतावासमा पत्राचार गरी नेपाल फर्काउने कानुनी प्रक्रिया थाल्ने समेत कार्यविधिमा व्यवस्था गरिएको छ।
अध्ययन गरी फर्किएपछि काठमाडौं उपत्यकाभित्र कम्तीमा २ वर्ष वा उपत्यका बाहिरको हकमा कम्तीमा १ वर्ष सरकारी, निजी वा गैरसरकारी क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने छ।