काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्थिर सरकार गठन भएको दुई वर्ष पूरा भएको छ। तर यो अवधिमा स्वास्थ्य मन्त्रालय भने अस्थिर रह्यो।
स्थिर सरकार बनेपछिको दुई वर्षको अवधिमा स्वास्थ्य मन्त्रालय तीन जना मन्त्री परिवर्तन भइसकेका छन् भने सचिव ६ जना भएका छन्।
स्थिर सरकार बनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत विकासको गति लिने आशा गरेको कर्मचारीतन्त्र पटकपटक मन्त्री र सचिव फेरिने समस्याका कारण फेरि पनि आजित भएको छ।
दुई वर्षको यही अवधिमा स्वास्थ्य मन्त्रालयमा सचिवको दरबन्दी समेत थपेर दुई पुर्याइएको छ। विगतमा एक जना मात्र सचिव रहेको मन्त्रालयमा दुई जना सचिवको व्यवस्था भएपछि मन्त्रालयको कामकारबाही समेत प्रभावित हुन पुगेको छ।
मन्त्रालयमा गत आइतबार फेरि सचिवको सरुवा भएको छ। स्थिर सरकार बनेपछि स्वास्थ्यमा पाँचौ पटक सचिव परिवर्तन भएको हो। स्वास्थ्यमा डेढ वर्षअघि प्रशासनतर्फको सचिवको दरबन्दी समेत थप गरिएको थियो। त्यसयता डेढ वर्षको अवधिमा प्रशासनतर्फका ५ सचिव फेरिएका हुन्।
स्वास्थ्य सेवातर्फकी सचिव डा पुष्पा चौधरीले भने सरकारी सेवाबाट नै राजीनामा दिएकी छिन्।
गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच महिनाअघि स्वास्थ्य मन्त्रालय आएका सचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको हो।
तर, स्थिर सरकारको अस्थिर काम गराइले कर्मचारी र सेवाग्राहीमा थप चिन्ता थपेको छ। पटकपटक मन्त्री र सचिव फेरिइरहँदा स्वास्थ्य मन्त्रालय नै कर्मचारीहरुमाझ ‘सरुवा मन्त्रालय’का रुपमा चिनिन थालेको छ।
दुई वर्षअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा पद्मा अर्याल आएकी थिइन्। राज्यमन्त्री भए पनि उनलाई तत्कालीन समयमा मन्त्रीसरहको अधिकार दिइएको थियो। त्यसको केही महिनापछि समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मन्त्रीका रुपमा आए। उपप्रधानमन्त्रीकै हैसियतमा मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले मन्त्रालयको काममा कुनै पनि चासो दिएनन्। मन्त्रालयमा रहँदा उनले ‘डुलुवा’ मन्त्री र ‘असफल’ मन्त्रीको उपनाम पाए।
प्रधानमन्त्री ओलीले यादव भारतमा रहेको समयमा उनलाई कानुन मन्त्रालयमा सरुवा गरे भने कानुन मन्त्रालयमा रहेका भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिए। मन्त्री ढकाल स्वास्थ्यमा आएको तीन महिना पूरा भएको छ।
दुई वर्षको यो अवधिमा स्वास्थ्य मन्त्रालयमा मन्त्रीभन्दा बढी सचिवको उथलपुथल भयो। एक जना मात्र सचिवको दरबन्दी रहेको मन्त्रालयमा दुई सचिवको व्यवस्था भयो।
मन्त्रालयको नेतृत्व गर्दै आउने स्वास्थ्यमन्त्री र सचिव बीचको ‘ट्युनिङ’ मिलेको कमै मात्र देख्न पाइएको छ।
पछिल्लो पटक सरुवा भएका सचिव खराल र मन्त्री भानुभक्त ढकाल बीचको सम्बन्धका विषयमा बाहिर खासै चर्चा भएन। तर मन्त्री भएको ३ महिनामा नै सचिव फेरिनुले सन्तुलन आन्तरिक रुपमा मिलेको थियो नै भन्ने स्थिति पनि देखिँदैन।
मन्त्रालयका केही कर्मचारीका अनुसार शिक्षा मन्त्रालयमा लामो समय काम गरेका सचिव बरालले स्वास्थ्य मन्त्रालयमा काम गर्न इन्जोए गरेका थिएनन्।
सरकारले स्वास्थ्य सचिव रहेकी डा पुष्पा चौधरीलाई गत वर्ष मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा तानेपछि विवाद चुलिएको थियो।
स्वास्थ्य सेवाकी सचिव डा पुष्पा दरबन्दी नै नभएको ठाउँमा तानिएको भन्दै न्यायको माग गर्दै सरकारविरुद्ध सर्वोच्च अदालत पुगिन्। अदालतले आदेशपछि उनी पुनः स्वास्थ्य मन्त्रालय आइन्।
सरकारले सोही मौकामा स्वास्थ्य मन्त्रालयमा प्रशासन सेवाका सचिव केदारबहादुर अधिकारीलाई पठायो। अदालतले डा पुष्पालाई स्वास्थ्यबाट सरुवा नगर्न सरकारलाई आदेश दिएपछि पुष्पा पनि मन्त्रालयमा पुगिन्। जसका कारण डा पुष्पा र अधिकारीबीच सचिवको कुर्सीमा बस्न म्युजिकल चेयरको खेल नै चल्यो।
त्यसपछि सरकारले मन्त्रालयमा स्वास्थ्य र प्रशासन गरी दुई जना सचिवको दरबन्दीको व्यवस्था ग¥यो। दुई जना सचिव भएपछि काम र जिम्मेवारीका विषयमा विवाद उत्पन्न भयो। जसका कारण सेवा प्रवाहमा समेत बाधा उत्पन्न गरेको थियो। यो समस्याले कर्मचारी र सेवाग्राहीलाई को सचिवसँग काम गर्ने भन्ने अन्योल नै सिर्जना गरेको थियो।
सचिव बीचको विवाद चुलिँदै गएपछि अधिकारीले आफूलाई अन्यत्र सरुवा गर्न सरकारसँग माग गरे। २०७५ माघ ९ मा बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई स्वास्थ्यबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सरुवा गर्ने निर्णय ग¥यो। त्यस्तै अधिकारीको ठाउँमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई ल्याइयो।
घिमिरेले स्वास्थ्यमा तीन महिना काम गरे। त्यसपछि उनलाई पनि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सरुवा गरियो। घिमिरेको सरुवापछि स्वास्थ्यमा रामप्रसाद थपलियालाई सचिवका रुपमा ल्याइयो। उनलाई २०७६ वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेशका प्रमुख सचिवबाट सरुवा गरेर स्वास्थ्यमा ल्याउने निर्णय गरेको थियो।
मन्त्रालयका कर्मचारीले थपलिया स्वास्थ्यमा लामो समय काम गर्छन् भन्ने अनुमान गरेका थिए। तर उनको पनि भदौ २ गते खेलकुद मन्त्रलय सरुवा भयो। थपलियालाई सरुवा गर्दै सरकारले शिक्षा मन्त्रालयमा रहेका खगराज बराललाई स्वास्थ्यमा ल्याएको थियो।
तर, बराललाई पनि फागुन १८ गते सरुवा गर्दै सरकारले नयाँ सचिवका रुपमा यादव कोइरालालाई ल्याएको छ। कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्यमा सरुवा गरिएको हो। कोइराला बुधबारदेखि सवस्थ्य मन्त्रालयमा हाजिर भएका छन्।
स्वास्थ्य मन्त्रालयमा चिकित्सक सचिव हुने व्यवस्था भत्काएर प्रशासन तर्फका सचिव समेत रहने व्यवस्था भएपछि स्वास्थ्य मन्त्रालयको अवस्था झन् खस्किँदै गएको छ। त्यसमाथि छोटो अवधिमा सचिव परिवर्तन भइरहँदा नियमित काम समेत प्रभावित भइरहेको कर्मचारीहरु बताउँछन्।
नियमित कामसँगै स्वास्थ्यमा पछिल्लो समय कर्मचारी समायोजनको काम हुन सकिरहेको छैन। कर्मचारी समायोजनको काम नटुंगिँदा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मीको व्यवस्था हुन सकिरहेको छैन। कतिपय संस्था त कर्मचारीविहीन नै भइरहेका छन्। जसका कारण जनस्वास्थ्यमा गम्भीर समस्या निम्तिरहेको छ।
मन्त्री र सचिवको हेरफेरका कारण केही समयअघि डेंगुको नियन्त्रणमा समेत कर्मचारीले उचित निर्णय गर्न सकेका थिएनन्। महामारी लगायतको कमजोर व्यवस्थापनका कारण थलिएको स्वास्थ्य मन्त्रालयमा यतिबेला कोरोना संक्रमण व्यवस्थापनको चुनौती थपिएको छ।
‘एउटा सचिवलाई मन्त्रालयको काम बुझाउन भ्याएको हुँदैन, सरुवा भइहाल्छ। सधैं मन्त्री र सचिवलाई मन्त्रालय यस्तो हो भनेर बुझाउँदै समय जान्छ। अन्य काम त कहिले गर्न भ्याउनु,’ मन्त्रालयको नेतृत्व अस्थिर भएपछि आजित भएका मन्त्रालयका एक कर्मचारीले गुनासो गरे।
उनका अनुसार एक मन्त्री वा सचिवलाई राम्रो लागेर अघि बढाइएका काम, योजना वा नीति अर्को मन्त्री वा सचिवलाई चित्त बुझ्दैन। र, फेरि नयाँ ढंगबाट त्यही काम पुनः सुरु गरिन्छ। यसले समय मात्र होइन, अन्य विषयवस्तुमा काम गर्न समेत बाधा पुगेको उनको भनाइ छ।
स्थिर सरकार हुँदा समेत मन्त्री र सचिव स्थिर नहुँदा यसअघि हासिल भएका स्वास्थ्यका उपलब्धि गुम्ने अवस्था पुगेको कर्मचारीहरु बताउँछन्। यसबारे जनस्वास्थ्य विज्ञ र पूर्व स्वास्थ्यका प्रमुखले चिन्ता व्यक्त गरिरहेका छन्।
अहिलेको सरुवाको ग्राफ हेर्दा स्थिर सरकार आएपछि सबैभन्दा अस्थिर मन्त्रालय स्वास्थ्य नै भएको देखिन्छ, जुन चिन्ताको विषय हो।