काठमाडौं– संघीय सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि विमानस्थलदेखि स्थलगत नाकाको आवतजावतमा कडाइ गर्नेदेखि उपचारमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई भत्ता दिनेसम्मका निर्णयहरु गरिसकेको छ।
विश्वका धेरै देशमा कोरोनाको संक्रमण फैलिएपछि सरकारले भिसामा कडाइ गर्ने, विदेश जान रोक लगाउने, विदेशबाट आउने समयमा अनिवार्य रुपमा स्वास्थ्य जाँचको रिपोर्ट देखाउनुपर्ने, क्वारेन्टाइनमा बस्नुपर्ने लगायतका थुप्रै निर्णय गरेर त्यसअनुसार काम अगाडि बढाइसकेको छ।
संघीय सरकारसँगै ७ वटै प्रदेशका सरकारले पनि कोरोनाको रोकथाम, नियन्त्रण र पूर्वतयारीका लागि विभिन्न निर्णय गरेका छन्। प्रदेशले आइसोलेसन शय्याको व्यवस्था गर्नेदेखि लिएर नाकामा हेल्थ डेस्क स्थापना गर्नेसम्मका निर्णय गरेका छन्।
संघीय सरकारका निर्णय बाहेक प्रदेश सरकारले गरेका निर्णय यस्ता छन्ः
प्रदेश १
– प्रदेश अन्तर्गत ४ वटा अस्पतालमा २८ वटा आइसोलेसन श्ययाको व्यवस्था।
– ४ वटा स्थलगत नाकामा हेल्थ डेक्सको स्थापना गरी स्वास्थ्य जाँचको व्यवस्था।
– कोभिड–१९ सम्बन्धी दु्रत प्रतिकार्य समिति गठन।
प्रदेश २
स्वास्थ्य निर्देशनालय प्रदेश २ ले कोभिड–१९ रोकथाम तथा प्रतिकार्यका लागि सरोकारवाला निकायहरुसँग प्रवेश नाकाहरुमा हेल्थ डेक्सको सुदुढीकरण, थप आइसोलेसन कक्षको व्यवस्थापन, सचेतना, आवश्यक औषधि उपकरणको व्यवस्थापन गर्ने।
बागमती प्रदेश
सामाजिक विकास मन्त्रालयमा मन्त्रीको उपस्थितिमा सचिवको संयोजकत्वमा उच्चस्तरीय अनगमन समिति बनाई कोरोनाको रोकथाम, नियन्त्रणका गतिविधिलाई सञ्चालन र अनुगमन गरिरहेको।
गण्डकी प्रदेश
कोभिड–१९ नियन्त्रणको लागि मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति बनाइएको छ। प्रमुख सचिवको संयोजकत्वमा प्रदेशस्तरीय समन्यन समिति लगायत विविध १० वटा विषयगत समिति गठन भएका छन्।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशकको अध्यक्षतामा विशेष कार्यदल समेत गठन भएको छ।
हेल्थ डेक्स स्थापनाका लागि समन्वय, विभिन्न अस्पतालका स्वास्थ्य प्रविधिकहरुलाई तालिम तथा अभिमुखीकरण र सरोकारवाला निकायहरुसँग समन्वय।
सचेतनामूलक स्वास्थ्य शिक्षा सामग्रीको विकास तथा सम्प्रेषण।
आइसोलेसन (८० बेड), क्वारेन्टाइन स्थलको व्यवस्थापनका लागि स्थानको खोजी, उद्धार कार्यका लागि एम्बुलेन्सको व्यवस्थापन जस्ता आवश्यक तयारी गरेको छ।
प्रदेश ५
सामाजिक विकास मन्त्रालयले नेपाल भारतको नाकामा रहेका हेल्थ डेक्सको अनुगमन गर्न समूह विभाजन गरी कार्य भइरहेको।
१४ वटा अस्पतालमा ८९ वटा आइसोलेसन शय्याको व्यवस्था गरिएको छ।
कर्णाली प्रदेश
प्रदेश अस्पताल अन्तर्गत दु्रत प्रतिकार्य टोली तयारी अवस्थामा रहेको।
प्रदेश अस्पतालको नयाँ भवनमा २० वटा बेड सहितको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ।
प्रदेश अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरी नियमित रुपमा अपडेट गर्ने गरिएको छ।
६ वटा स्थलगत नाकामा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य सूचना केन्द्र तथा स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ।
कोभिड–१९ सम्बन्धी सचेतनामूलक ब्रोसिएर तयार गरी आम जनसमुदायलाई वितरण गरिएको छ।
सुदूरपश्चिम प्रदेश
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले कोभिड–१९ को रोकथाम प्रतिकार्य, व्यवस्थापनको नीतिगत निर्णय।
भारतसँगका ११ वटा स्थलगत नाकामा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य सूचना केन्द्र तथा स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ।
सुदूरपश्चिम प्रदेशले कोभिड–१९ संक्रमण निगरानी तथा रोकथाम सम्बन्धी हेल्थ डेक्स सञ्चालन मार्गदर्शन २०७६ तयार पारी कार्यान्वयनमा ल्याएको छ।
१८ वटा अस्पतालमा ४७ वटा आइसोलेसन शय्याको व्यवस्था गरिएको छ।