प्रा डा रेवतीरमण मल्ल
के हो क्वारेन्टाइन?
कुनैपनि सरुवारोगको स्रोत अहिलेको सन्दर्भमा कोभिड१९ भाइरसबाट ग्रसित भएको व्यक्ति, समुह वा महामारी फैलिएको देशका व्यक्तिहरूसँग नजिकको सम्पर्क भएका व्यक्तिहरु जसको शरीरमा कोरोना भाइरस संक्रमित भएको सम्भावना हुन्छ।
त्यस्ता व्यक्तिहरुबाट अन्य व्यक्ति, समूह वा देशका नागरिकलाई सो जिबाणु सर्नबाट बचाउनका लागि निश्चित मापदण्द अपनाई सुरक्षित रुपमा राखेर सामान्य नागरिक, समूह वा देशबासीलाई रोग फैलिनबाट बचाउनको लागि अपनाईने प्रिभेन्टिभ पब्लिक हेल्थको विधिलाई क्वारेन्टाइन भनिन्छ। (साधारणतया क्वारेन्टाइन मान्छेहरुमा लागू हुने भएपनि कुनै रोग विशेषमा जनावरमा समेत लागु हुन्छ। तर नोबेल कोरोनाको हकमा अहिलेसम्मको खोजको आधार मा घरपालुवा जनावरहरुको क्वारेन्टाइनको आबश्यकता देखिएको छैन।)
कुनैपनि सरुवा रोगको जिवाणु व्यक्ति शरीरमा प्रवेश गरेपछि रोगको लक्षण देखिने अवधिलाई इक्न्युवेसन परियड भनिन्छ। अहिलेसम्म गरिएको अनुसन्धानको आधारमा नोबेल कोरोना सङ्क्रमण को इक्न्युवेसन परियड २ देखि १४ दिन मानिएकोले कोरोना आउटब्रेक हुनबाट बचाउनको लागि १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने गरिएको हो।
क्वारेन्टाइनमा राखिएका मानिसहरुको नियमितरूपमा सो रोगका लक्षणहरु देखिए नदेखिएको जाँच गरिनुको साथै ल्याव परिक्षण गरिन्छ।
यदि कुनै व्यक्तिको ल्याब परिक्षणमा पोजिटिभ देखिएमा रोगको अवस्था र उक्त व्यक्तिमा विकास भएको रोगको जटिलताको आधारमा निजलाई आईसोलेसनमा खासगरी कोरोना उपचारकै लागि बनाईएको वा तोकिएको अस्पतालको आसेलेटेड वार्ड वा आईसियुमा राखि उपचार थालिन्छ।
झट्ट सुन्दा क्वारेन्टाइन र आईसोलेसन उस्तै लागेपनि पोजिटिभ हुने सम्भावना भएकालाई क्वारेन्टाइनमा राखिन्छ भने पोजिटिभ भैसकेकालाई आईसोलेसनमा राखि उपचार थालिने हो भन्ने बुझ्नुपर्छ।
क्वारेन्टाईनमा राखिएका मानिसहरु मध्य कुनै व्यक्तिमा नोबेल कोरोना भाइरस संक्रमण भैसकेको लक्षण देखिएमा वा ल्याब परिक्षणमा पोजिटिभ देखिएमा उक्त व्यक्तिलाई आईसोलेटेड वार्डान लान ढिलो भएमा उसबाट क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिहरुलाई रोग फैलिने डर हुन्छ। क्वारेन्टाइनको लागि निश्चित मापदण्ड पूरा गरिनु पर्दछ।
के हो लकडाउन?
अहिलेको अवस्थामा लकडाउन भन्नाले निश्चित ईलाका वा देशमा नोबेल कोरोना भाईरस आफ्नो प्रदेश वा देशमा नफैलियोस र आफ्नो देशको नागरिक सो भाईरसको प्रकोपबाट बच्न सकुन भन्ने उद्देश्यले राज्य वा अधिकार प्राप्त निकायले निश्चित अबधि सम्म एउटा प्रदेश बाट अर्को प्रदेश बा एउटा देश बाट अर्को देशमा जान आउन बा सामानहरुको निकासी र पैठारी गर्न रोक लगाउन जारी गरिएको प्रोटोकल हो भनी बुझ्नुपर्छ । लकडाउनको सफलता नागरिकको चेतनशिलता वा उत्प्रेरणामा भर पर्छ ।
यो संवेदनशिल अवस्थामा राज्यले जारी गरेको लकडाउनलाई सफल बनाउन यसको नियम लाई इमानदारीपूवर्क पालन गर्नु तथा पालन गर्न लगाउनु, पालन गर्न मदत गर्नु हरेक नागरिकको कर्तव्य हो।
महामारी के हो ?
कुनैपनि सरुवा रोग निश्चित इलाकामा छोटो समय मा ठूलो मानिसको समूह वा जनसंख्याका ब्यक्तिहरुमा मानिस बाट मानिस लाई सरेर फैलिएको पाईएमा त्यसलाई महामारी भनिन्छ।
प्यान्डेमिक के हो ?
यदि कुनै रोग थुप्रै देश वा महादेशमा विश्वव्यक्ति रुपमा महामारीको रूपमा छोटो समयमा फैलिएर उल्लेखनीय संख्यामा मानिसहरु उक्त रोगबाट ग्रसित भएमा वा मानिसहरुको मृत्यु भएमा त्यो अवस्थालाई भनिन्छ।
कोभिड१९ भाइरसको संक्रमण सुरुमा चीनको वुहान प्रान्तको हुवेइ मा महामारीको रूपमा फैलिएको थियो भने हाल यो विश्वव्यापी रुपमा फैलिएरको रुप लिएको अवस्था छ।
हाल यो रोग १९० भन्दा बढी देशहरुमा फैलिएको छ। विश्व स्वास्थ्य संस्थाले मार्च ११ मा यस रोगलाई प्यान्डेमिक को रुपमा घोषणा गरेको हो।
यो रोग सर्ने तरिका:
१) यो रोग हावाबाट सर्ने हैन। तर संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छिउ गर्दा मुख वा नाकबाट निस्कने र्यालका छिटाहरु नजिकैको व्यक्तिले सास फेर्दा सर्न सक्छ। त्यसैले खोक्ने वा हाँच्छिउ गर्ने व्यक्तिले त्यसो गर्दा अरुको नाक मुखको पछाडि फर्किएर सफा रुमाल बा टिस्यु पेपरले नाख मुख छोप्नु पर्छ भने दुबै साथमा नहुने ले कुहिनाको भित्री भागले नाखमुख छोप्नु पर्छ। यदि तपाईको नजिक कसैले असुरक्षित तरिकाले खोकी हालेमा वा हाँच्छिउ गरि हालेमा तुरुन्त कम्तीमा ६ फिट्को दुरि राख्नु पर्छ।
यदि सो दुरी राख्न सम्भव नभएमा टाउकोलाई अर्को दिशामा वा हावा चलेको दिशाको विपरित दिशामा फर्किएर रुमाल वा सफा कपडाले नाक मुख छोप्नु पर्दछ। र केही समय सम्म श्वासप्रश्वास बन्द गर्नुपर्छ ताकि उक्त व्यक्तिको नाक मुखबाट निस्किएको आँखाले नदेख्ने र्यालका छिटाहरु जमिनमा खसुन्।
२) अरुले विशेष गरि रुघाखोकी लागेका व्यक्तिले छोएका घर वा सवारीका साधनको झ्याल ढोकाका ह्यान्डलहरु वा कुनैपनी वस्तु छुनु हुदैन। यदि केही गरि छोइन गएमा तुरुन्त आफ्नो हात साबुन पानीले धुनु पर्छ वा ह्यन्ड स्यानिटाईजर वा स्पिरिट वा कुनै एन्टिसेप्टिकले पुछ्नुपर्छ। केही गरि हात सफा गर्न नसकिएमा सो हातले आफ्नो ओठ, नाक मुख, दात र मुखभित्र तबसम्म छुनु हुदैन जबसम्म हात धुने ठाउँमा पुगिदैन।
३) नोबेल कोरोना संक्रमितले छोएको वा थुकेको जमिनमा २-३ दिन, स्टिल बा प्लास्टिकको भाडा वा वस्तुमा २-३ दिन, कार्डबोर्डमा २४ घन्टा, कपडामा १० घन्टा, तामाको भाडामा ४ घन्टा र हातमा १० मिनेटसम्म कोभिड१९ भाइरस जिवित रहन सक्ने भएकोले नै बारम्बार हात धोई राख्न बा ह्यण्ड स्यानिटाईजरले हात सफा गरि राख्न सल्लाह दिईएको हो।
४) एन९५ मास्क स्वयम् सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपलब्ध हुन सकेको छैन। बजारमा पाईने सर्जिकल मास्कले शतप्रतिशत कोरोनाको भाईरसबाट बचाउन नसके पनि लगाउनु बुद्दिमानी हुन्छ।
५) आफ्नो नजिकको व्यक्तिहरूसँग पनि २ फिटको दुरिमा रहेर कुरा गर्न उचित हुन्छ। विशेष गरि आफ्नो शरीरको रोगसंग लड्न सक्ने क्षमता कम भएका वृद्द व्यक्तिहरू, गर्भवती महिला, डायबेटिज, मुटु, फोक्सो, मिगौला र कलेजोका दिर्घरोगीहरु, लिम्फोमा तथा अन्य क्यान्सरबाट पीडित व्यक्तिहरु, मानव अङ्ग प्रत्यारोपण गरेका व्यक्ति, दम, जोर्नी वा क्यान्सर सम्बन्धी रोगको लागि स्टेरोड्डस वा इम्युनोसप्रेसन्ट ग्रुपका औषधि लिई रहेका व्यक्तिहरू, धेरै बर्षसम्म लिमिट भन्दा धेरै मात्रामा मदिरा सेवन गर्ने ब्यक्तिहरु यो रोग बाट सङ्क्रमित हुने र जटिलता जाने डर हुन्छ।
लकडाउन किन जरुरी ?
विश्वमा नोबेल कोरोनाबाट हाल सम्म संक्रमित ४ लाख ५४ हजार ३९८ व्यक्तिमध्य २१ हजार ५५० जनाको मृत्यु भैसकेको छ। यो क्रम दिनानुदिन बढ्दो अवस्थामा छ। जापान र चीनमा गरिएको अध्ययन मा ३० प्रतिशत नोबेल कोरोना को ल्याब टेष्ट पोजिटिभ व्यक्तिहरु यस रोगको सङ्क्रमणमा पाईने कुनै लक्षण बिनाका पाईएको छ। त्यस्तै न्युर्योकको कोलम्बिया युनिभर्सिटीका वैज्ञानिकहरुले चीनका २७५ शहरहरुमा जनवरी १० तारिख देखि जतिखेर यो रोग चीनमा महामारी को रुपमा देखिएको थियो त्यस तारीखदेखि जनवरी को २३ तारिख जतिखेर यातायातमा बन्देज गरियो त्यस समय सम्म गरिएको अध्ययन मा ८६ भाईरस पोजिटिभ मानिसमा कुनै लक्ष्यणहरु नदेखिएको र केहिमा सामान्य लक्षण मात्र पाईएको देखाईएको छ।
यसबाट नोबेल कोरोना भाईरस बाट सङ्क्रमित भएर पनि लक्ष्यण देखिन लाग्ने समय भित्र वा लक्ष्यण नदेखिएका कोरोना पोजिटिभ व्यक्तिबाट अरुलाई रोग सार्ने गरेको छ भन्ने बुझिन्छ।
यस रोगबाट छोटो समयमा विश्वभर फैलिएको आँकडा र असामान्य मृत्युदरसँग अत्याधुनिक स्वास्थ्य सेवा सेवा प्रवाह गर्नसक्ने विश्वका विकसित देशहरु समेत आज निरीह बनेका छन।
यो भयावह मृत्युदरबाट आफ्ना नागरिकलाई बचाउनु राज्यको दायित्व हुन्छ। यो रोगबाट आफ्नो देशलाई बचाउने सबैभन्दा प्रभावशाली उपाय भनेकै यसको रोकथामको लागि अपनाईने जनस्वास्थ्यको प्रतिकारात्मक स्वास्थ्यसेवाका विधिहरु हुन् ।
अहिलेको अवस्थामा राज्यले देशलाई लकडाउन गर्न गरेको निर्णय केही व्यक्ति वा समूहलाई केही असुविधा वा अप्रिय लाग्न सक्छ तर देशको सीमाना तथा एक अर्को गाउँ, जिल्ला, प्रदेश, संघ र देशमा यो खतरनाक भाईरस फैलिनबाट बचाउन गरिएको यो निर्णय अत्यन्त स्वागतयोग्य छ।
छोटो समयमा यो चुनौतीपूर्ण निर्णयलाई कार्यरुपमा सफल गराउन राज्यले गरेका प्रयासहरु प्रंसशनीय छन्।
यसलाई आत्मसात गरि हरेक नेपालीले राज्यको यस कदमलाई सफल गराउनको लागि आफ्नो तर्फबाट योगदान वा समन्वयकारी भुमिका खेल्नु पर्छ।
चिकित्सकिय विधामा एउटा भनाइ छ, ‘तिमीलाइ तिम्रा बिरामीलाइ हानी पुर्याउने कुनै अधिकार छैन र तिमी आफैलाइ हानी पु¥याउने अधिकार पनि छैन।’