काठमाडौं- नेपालमा कोरोना भाइरस कोभिड१९)का संक्रमित बिरामी फेला परेपछि सरकारले देशभर लकडाउन गरेको छ। कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भनेर लकडाउन भएको एक सता भइसकेको छ।
तर, लकडाउनको एक साता बितिसक्दा पनि सरकारसँग नेपालका अस्पतालहरुमा कति आइसियु र भेन्टिलेटर छन् भन्ने कुनै जानकारी नै छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बल्ल आफू माताहतका सरकारी अस्पतालसँग कति संख्यामा आइसियु र भेन्टिलेटर छ भन्ने विवरण संकलन गर्न सुरु गरेको छ। तर, सोमबार साँझसम्म पनि मन्त्रालयले सरकारी अस्पतालमा कति आइसियु र भेन्टिलेटर छन् भन्ने जानकारी दिन सकेको छैन।
नेपालमा हालसम्म पाँच जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये एक जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी चारजना भने अस्पतालमा उपचाररत छन्। संक्रमण देखिएकामध्ये दुई जना काठमाडौंभित्रका छन् भने बाँकी दुई जना उपत्यका बाहिरका।
अहिलेसम्म संक्रमण देखिएका सबै विदेशबाट नेपाल आएकाहरु मात्र छन्। तर, संक्रमित देखिएका पाँचमध्ये दुई जना भने सार्वजनिक यातायातमा धेरै स्थानमा पुगेका कारण संक्रमण फैलिने खतरा बढेको छ। यसका साथै पछिल्लो समय लगातार रुपमा देखिएका चार जना संक्रमित आएको विमानमा धेरै यात्रु रहेका र उनीहरु पनि धेरै स्थानमा पुगिसकेका कारण जोखिम बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोनाको नियिमत ब्रिफिङका क्रममा बताएका छन्।
सरकारले उनीहरुको निगरानी सुरु गरिसकेको छ। तर, अझै पनि उनीहरुको सम्पर्कमा आएकाहरु सबैको विवरण भने संकलन गरेर परीक्षण लगायतका प्रक्रिया अगाडि बढाउन सफल भएको छैन।
संक्रमण फैलिएका देशबाट आएका थुप्रै नेपाली देशका विभिन्न स्थानमा पुगिसकेका छन्। उनीहरु क्वारेन्टाइनमा बसेका छैनन् भन्ने विषय पनि बाहिर आइरहेका छन्।
यस्तो अवस्थामा नेपालमा कोरोनाको संक्रमण बढ्न सक्ने र धेरै जना संक्रमित हुने खतरा रहेको भन्दै विज्ञहरुले परीक्षणलाई अगाडि बढाउन र कन्ट्याक्ट ट्रेसिङ गर्न सुझाब दिइरहेका छन्।
विज्ञहरुका अनुसार संक्रमण फैलिँदै जाँदा भोलीका दिनमा धेरै संक्रमितलाई आइसियु र भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै देशभरका अस्पतालमा त्यसको उचित व्यवस्था गर्न पनि सुझाब दिइरहेका छन्।
तर, अस्पतालहरुको नियमन गर्ने र अनुगमन गर्ने स्वास्थ्य मन्त्रालयलाई नै नेपालका अस्पतालमा आइसियु र भेन्टिलेटरको संख्या, कति चलिरहेका छन्, कति बिग्रिएका छन्? त्यहाँ कति जनशक्ति छन्? लगायतका विषयमा जानकारी नै छैन।
कति आइसियु र भेन्टिलेरटर छन्?
अहिलेसम्म देखिएका संक्रमितको अवस्था सामान्य भएकाले पनि उनीहरुलाई आइसोलेसनमा मात्र राखेर उपचार भइरहेको छ। तर, भोली देखिनसक्ने संक्रमित गम्भीर खालका भए भने उनीहरुलाई आइसियु तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ।
स्वास्थ्य मन्त्रालयले यही कुरालाई मध्यनजर गरेर होला ढिलै भए पनि देशभर २ सय ३५ वटा आइसियु थप गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा मात्र १ सय २० आइसियु थप गर्नेसहित एक हजार बेडको आइसोलेसन तयारी अवस्थामा राखेको जनाएको छ।
तर लकडाउनको एक साता हुँदासम्म पनि मन्त्रालयले आफू अन्तर्गतकै सरकारी अस्पतालमा कति आइसियु र भेन्टिलेटर छ भन्ने विषयमा बेखबर छ।
सरकारी अस्पतालमा कति आइसियु र भेन्टिलेटर छन्, कति चालु छन् लगायतका विषयमा कुनै अध्ययन नै नगरी हचुवाका भरमा अहिले देशभर २ सय ३५ आइसियु थप्ने निर्णय भएको मन्त्रालयका एक कर्मचारी बताउँछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशभर सानाठूला गरी १ सय २२ सरकारी अस्पताल छन्। त्यसमध्ये १५ वेडदेखि जिल्ला तहसम्मका गरी ८५ अस्पताल छन्। ती सबै अस्पतालमा गरी कहाँ कति शय्याका आइसियु, भेन्टिलेटर र जनशक्ति छन् भन्ने एकिकृत तथ्यांक संकलन भएर आउने क्रममा छ।
स्वास्थ्य मन्त्रालयबाट आइसियु र भेन्टिलेटरको तथ्यांक नआएपछि स्वास्थ्यखबरले विभिन्न अस्पताल, संघसंस्था र तथ्यांकहरु संकलन गर्ने प्रयास गरेको छ। जसअनुसार भरतपुर, भेरी, धौलागिरी, हेटौंडा, हुम्ला, जनकपुर, कर्णाली, कटारी, कोशी, लुम्बिनी, महाकाली, मध्यपश्चिमाञ्चल, नारायणी, राप्ती प्रादेशिक, सगरमाथा, सेती, डडेलधुरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी ९६ वटा आइसियु भेन्टिलेटर रहेको तथ्यांक फेला परेको छ। यो संख्या केही पुरानो भएकाले केही तलमाथि हुन सक्ने स्वास्थ्य सेवा विभागका एक कर्मचारीले जानकारी दिए।
नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनले केही समय काठमाडौंका ५० शय्याभन्दा माथिका अस्पतालमा रहेको आइसियु र भेन्टिलेटरको संख्याबारे सर्वे गरेको थियो। सोसाइटीका महासचिव डा हेमराज पनेरुका अनुसार काठमाडौंका ४६ वटा अस्पतालमा फोन सर्वे भएको थियो । जसमा निजी र सरकारी समेत गरेर काठमाडौंका ५० शय्याभन्दा माथिका अस्पतालमा जम्मा ४८० वटा आइसियु वेड रहेको पाइएको छ। जसमध्ये झण्डै वेड चाहिँ सरकारी अस्पतालहरुमा छन। भेन्टिलेटरको संख्या झण्डै २६० रहेको उनले जानकारी दिए।
उनले सर्वेका क्रममा निजी अस्पतालमा आइसियु र भेन्टिलेटरको संख्या धेरै देखिएको बताए। उक्त सर्वेमा सबैभन्दा धेरै सहिद गंगालाल हृदय केन्द्रमा ३५ आइसियु वेड र २० भेन्टिलेटर रहेको पाइएको थियो। त्यसैगरि निजामती अस्पतालमा ७ आइसियु र ५ भेन्टिलेटरको व्यवस्था छ।
स्वास्थ्यखबरले जिज्ञासा राख्दा वीर अस्पतालले ३२ आइसियु र १६ भेन्टिलेटर भएको जानकारी दिएको छ। जसमा १० वेडको आइसियु कोरोना संक्रमणका बिरामीको उपचारका लागि तयार गरिएको हो।
स्वास्थ्यका क्षेत्रमा कलम चलाउँदै आएका दिपक महतले विभिन्न अस्पतालका बायोमेडिकल इन्जिनियर र टेक्निसियनहरुलाई सम्पर्क गरेर संकलन गरेको तथ्यांक अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा १०, टिचिङ अस्पतालमा २२, कान्ति बाल अस्पतालमा २२, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा २२, भक्तपुर अस्पतालमा २, प्रसुति गृहमा ९, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा १३, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३ (कोरोना लक्षित गरी थप ५), लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ८, सेती प्रादेशिक अस्पतालमा १ वटा भेन्टिलेटर रहेका छन्।
किन चाहिन्छ आइसियु र भेन्टिलेटर?
कोरोना भाइरसका संक्रमित देखिन थालेसँगै निजी अस्पतालले ज्वरो बिरामी हेर्न आनाकानी गरिरहेका छन्। यस्तो अवस्थामा भोलीका दिनमा कोरोना संक्रमितको सख्या धेरै देखिएमा सरकारी अस्पतालमा चाप बढ्ने देखिन्छ। सरकारी अस्पतालमा हाल ज्वरो क्लिनिक सञ्चालन भइसकेका छन्। शंकास्पद व्यक्तिको ल्याब परीक्षण गरिएको छ। उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ।
चिकित्सकहरुका अनुसार कोरोना संक्रमण देखिएका सबै बिरामीलाई आइसियु वा भेन्टिलेटर आवश्यक पर्दैन। संक्रमणका कारण गम्भिर अवस्थामा पुगेका बिरामीलाई मात्र आइसियुमा राख्नुपर्ने हुनसक्छ।
हालसम्म नेपालमा देखिएका संक्रमितलाई आइसियुको आवश्यता परेको छैन।
कोरोनाका गम्भीर बिरामीलाई सास फेर्न समस्या हुने, शरीरमा अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या हुने देखिएको अवस्थामा भेन्टिलेटरको आवश्यकता पर्दछ।
नेप्लिज सोसाइटी अफ त्रिटिकल केयर मेडिसिनका महासचिव डा हेमराज पनेरुका अनुसार सिकिस्त र गम्भीर प्रकृतिका बिरामीलाई राखेर उपचार गर्ने ठाउँ आइसियु हो।
उनी भन्छन,‘सबै आइसियुमा उपचार गर्नुपर्ने बिरामीलाई भेन्टिलेटर चाहिँदैन, जो बिरामीलाई सास फेर्न गह्रो भएको छ, आफैं सास फेर्न सक्दैन भने भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ।’
हब अस्पताल र आइसोलेसनको तयारी
सरकारले देशभरका २५ अस्पताललाई कोरोना संक्रमितको हब अस्पतालको रुपमा तयार गर्न १० लाखका दरले हरेक अस्पताललाई बजेट निकासा गरेको जनाएको छ। मन्त्रालयले ती अस्पताललाई त्यहाँको आइसियु, भेन्टिलेटरको अवस्था, बेड संख्याबारे गत साता विवरण मागेको छ।
‘हामीले विवरण पठाउन पत्राचार गरेका छौं, केही विवरण आयो केही आउनेक्रममा छ। सबैको विवरण आयो भने एकमुष्ट संख्या थाहा पाउन सकिएला,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘धेरै अस्पतालले आइसियु र भेन्टिलेटरको विवरण नपठाएर आइसोलेसन वार्डको मात्र तथ्यांक पठाएकाले पनि समस्या परेको छ।’
मन्त्रालयले पछिल्लो समय कोरोना भाइरससँग सम्बन्धित सबै विवरण आफैंले दिने भन्दै कर्मचारीलाई सुचना दिन कडाई गरेको छ। त्यसैले पनि यो विषयमा काम गरेका कर्मचारीले नाम सार्वजनिक हुने डरले सुचना दिन डराइरहको अवस्था छ।
कतिपय हब अस्पतालले आइसोलेसन, आइसियु र भेन्टिलेटरको व्यवस्था भएपनि शंकास्पद बिरामीको नमुना लिएर परीक्षण गर्नका लागि पठाउन समस्या भएको बताएका छन्।
मेची अस्पतालका मेसु डा पिताम्बर ठाकुरले भने,‘हामीसँग एउटा भेन्टिलेर छ, त्यसैले ३ वेडको आइसियु चलाइरहेका छौं, मुख्य समस्या लिइएको नमुना पठाउनका लागि भएको छ। धरानमा परीक्षण सुरु भएको छ। अब भने स्वाबको नमुना पठाउन केही सहज हुन्छ।’
उनले कोरोना भाइरसको रोकथाम र उपचारका लागि ८ वटा आइसोसेलन वेड सञ्चालनमा ल्याएको र त्यसलाई २० वेड बनाउने तयारी गरेको बताए।
कस्तो छ एम्बुलेन्सको अवस्था
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्सका लागि स्वीकृती दिने गर्छ। नेपालमा अस्पतालको मात्र होइन विभिन्न संघसंस्थाका पनि एम्बुलेन्स सञ्चालनमा छन्।
मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७५/७६ सम्ममा दुई हजार ३९७ एम्बुलेन्स नेपालमा दर्ता भएका छन्। तर, तीमध्ये कति सञ्चालनमा छन् र कति बिग्रिएका छन् भन्ने बारे पनि जानकारी छैन।
आर्थिक वर्ष ०७५/७६मा नेपालमा ३ सय ५७, ०७४/७५मा २ सय ८२, ०७३/७४ मा २सय १४, ०७२/७३मा १ सय ६१ र ०७१/७२ मा १ सय ४ एम्बुलेन्स नेपाल भित्रिएका थिए।
दुई हजार ३९७ एम्बुलेन्समध्ये कति नेपाल सरकारको मातहतमा र कति निजी अन्तरगत सञ्चालनमा छन् भन्नेबारेमा पनि स्वास्थ्य मन्त्रालयसँग तथ्यांक छैन।