एजेन्सी – कोरोना भाइरसले महामारीको रुप लिँदै संसारभर आतंक सिर्जना गरेको छ। यसको संक्रमणबाट आइतबार बिहानसम्म १ लाख ८ हजारभन्दा बढी मानिसको मुत्यु भइसको छ। यो रोग कहिले उन्मुलन होला भनेर अनुमान लगाउन पनि सहज छैन। तर विश्वमा कोरोना भाइरसजस्तै विश्वका मानवजातिले धेरै पटक महामारीको शिकार हुनुपरेको इतिहास छ।
आजभन्दा करिव २ हजार वर्ष अगाडि नै महामारी भोगेको थियो विश्वले। यसबीचमा संसासरभर २० ठुला महामारी फैलिसकेका छन्। जसबाट लाखौं संख्यामा मानवको मृत्यु भएको पाइन्छ।
एन्टोनाइन प्लेग
इतिहास हेर्ने हो भने विश्वमा ठूलो माहामारी पहिलो पटक सन् १६५ महामारी फैलिएको इतिहास छ। जसको नाम एन्टोनाइन प्लेग थियो। यो महामारी सन् १८० सम्म फैलिएको थियो। यसबाट एसिया, ग्रीस र इटाली नराम्ररी प्रभावित भएका थिए। एन्टोनाइन प्लेगबाट करिव ५० लाखभन्दा बढी मानिसको मुत्यु भएको थियो। यो महामारीका कारण तत्कालीन समयमा बलियो रोमन साम्राज्य नै कमजोर भएको थियो।
जस्टिनियन प्लेग
सन् ५४१ देखि ५४२ सम्म एसिया, उतर अफ्रिका, अरेबिया र यूरोपमा यो महामारी फैलिएको थियो। यो रोगले सबैभन्दा बढी असर रोममा परेको थियो। १५ सय वर्ष पहिले फैलिएको यो रोगले ५ करोड मानिसको मुत्यु भएको बताइन्छ। त्यतिबेलाको कुल जनसंख्याको आधा मानिसले यही रोगका कारण ज्यान गुमाएका थिए। एक वर्ष फैलिएको यो रोगले रोमको शासन व्यवस्था नै बदलिदिएको इतिहास छ।
पश्चिम एसियादेखि पश्चिम युरोपसम्म फैलिएको यो रोगबाट बाइजान्टाइन साम्राज्यका सम्राट जस्टिनियन नै संक्रमित भएपछि उनकै नाममा रोगको नामाकरण गरिएको इतिहासमा पाइन्छ। महामारीबाट सम्राट जस्टिनियन भने बाँचेका थिए ।
द ब्ल्याक डेथ
जस्टिनियन प्लेगपछि सन् १३४७ देखि सन् १३५१ सम्म फैलिएको महामारीलाई ‘द ब्ल्याक डेथ’ का रुपमा लिइन्छ। यो रोग चीनबाट फैलिएको थियो। यो रोगले सबैभन्दा बढी युरोप र एसियामा ठूलो संख्यामा मानिसको ज्यान लिएको थियो। त्यो बेलामा यातायातको साधनको रुपमा पानीजहाजको प्रयोग गरिन्थ्यो। पानीजहाजमा मुसा हुन्थे। मुसाबाट झिँगा हुदैं मानवजातिमा सरेको यो रोगले महामारीको रुप लिएको थियो। भनिन्छ, ‘त्यो बेलामा यूरोपमा मात्र यति धेरै मानिसको मुत्यु भएको थियो कि युरोपमा त्यति नै जनसंख्या पुग्न करिब २ सय वर्ष लागेको थियो।’
स्मल पक्स
यो रोग सन् १४९२ मा फैलिएको थियो। यूरोपियनहरु अमेरिकामा गएपछि यो रोग फैलिएको थियो। यो रोग यति खतरनाक थियो कि संक्रमित हुने ३० प्रतिशत मानिसको मुत्यु भएको थियो। यो रोगबाट त्यससमयमा प्रत्येक वर्ष चार लाख मान्छेको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ। पछिल्लो सय वर्षमा यो रोगबाट ५ करोडभन्दा बढी मानिसको मुत्यु भएको अनुमान गरिएको छ। यो रोगबाट संक्रमित हुने एक तिहाईमा अन्धोपनको समस्या भएको थियो।
हैजा (कलेरा)
१९औं शताब्दीमा देखापरेको यो भारतबाट फैलिएको थियो। यो रोगको नाम थियो, कलेरा अर्थात हैजा। गंगा नदीको फोहोर पानी खाएका कारण यो रोग फैलिएको बताइन्छ। भारतबाट सुरु भएको हैजा सिंगो एसिया, यूरोप, उत्तर अमेरिका र अफ्रिकासम्म फैलिएको थियो। यसबाट त्यतिबेला १० लाख मानिसको मुत्यु भएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले पनि हरेक वर्ष १३ देखि ४० लाख मानिसलाई यो रोग लाग्ने गर्छ भने हरेक वर्ष एकलाख भन्दा बढीको मृत्यु हैजाकै कारणले हुने गर्छ।
स्पेनिस फ्लू
सन् १९१८ देखि सन् १९२० सम्म फैलिएको फ्लू इतिहासमा पछिल्लो ५ सय वर्षमा देखिएको सबैभन्दा खतरानाक रोग हो। १९१८ फ्लू प्यान्डेमिक नामले चिनिएको यो रोग कहाँ बाट फैलियो अहिलेसम्म पत्ता लागेको छैन। तर यसका कारण संसारभर एक तिहाइ यानिकी ५० करोड मानिस संक्रमित भएकोे अनुमान भएका थिए। यो महामारीबाट ठीक हुने सम्भावना १० देखि २० प्रतिशत मात्र रहन्थ्यो। ५ करोड मानिसले स्पेनिस फ्लूबाट ज्यान गुमाएका थिए। भारतमा मात्र यो रोगबाट करिव १ करोड ७० लाख मानिसको मृत्यु भएको थियो। यो रोगले मृत्यु हुने सबैभन्दा धेरै २० देखि ४० वर्षका व्यक्ति थिए।
एसियन फ्लू/एच२एन२
यो भाइरस सबैभन्दा पहिला सिंगापुरमा सन् १९५७ फेब्रुवरीमा रिपोर्ट भएको थियो। त्यसपछि अप्रिलमा हङकङमा देखिएको थियो। पूर्वी एसियाबाट निस्किएकोले यो रोगलाई एसियन फ्लु भन्ने गरिन्छ। यो रोगबाट ११ लाख मानिसको मुत्यु भएको थियो। अमेरिकामात्र यो रोगबाट एक लाखभन्दा बढीको ज्यान गएको थियो।
हङकङ फ्लू/एच३एन२
पहिलो पटक यो रोग सन् १९६८ जुलाईमा हङकङमा रिपोर्ट भएको थियो। त्यसपछि यो भाइरस भियतनाम र सिंगापुरमा देखिएको थियो भने सोही वर्षको सेप्टेम्बरमा अमेरिकामा देखिएको थियो। यो भाइरसबाट १० लाख मानिसको मुत्यु भएको थियो। मृत्यु हुनेमा अधिकांश ६५ वर्ष भन्दा माथि उमेरका थिए। यो महामारीले पहिले नै गम्भीर बिरामी भएका व्यक्तिलाई बढी असर गरेको थियो।
स्वाइन फ्लू (एच१एन १)
यो भाइरस पहिलो पटक मेक्सिकोमा देखिएको हो। केहि महिनामै यो रोग संसारभर फैलिएको थियो। यो रोगबाट मुत्यु हुने ८० प्रतिशत मानिस ६५ वर्ष भन्दा माथि उमेरका थिए। यो रोगबाट ५ लाख भन्दा बढी मानिसको मुत्यु भएको बताइन्छ।
इबोला
पश्चिम अफ्रिकामा महामारीको रुप लिएको इबोला भाइरसले पनि धेरैको ज्यान लिएको थियो। सन् २०१४ बाट सुरु भइ २०१६ सम्म जारी रहेको महामारीमा ११ हजार भन्दा बढीको ज्यान गएको थियो। पश्चिमी अफ्रिकी देश गिनीबाट फैलिएको यो रोग छिमेकी मुलुकहरु लाइबेरिया र सियरालेओनमा महामारीको रुप लिएको थियो। वैज्ञानिकहरुले चमेराबाट मान्छेमा यो रोग सरेको पत्ता लगाएका छन्।
कोरोना भाइरस (कोभिड १९)
कोरोना भाइरस (कोभिड १९ )चीनको वुहानबाट सुरु भएको हो। डिसेम्बर ८, २०१९ मा पहिलो संक्रमित बिरामी भेटिएको थियो। तर रिपोर्टं भने ३१ डिसेम्बरमा भएको थियो। १३ मार्चमा २०२०मा विश्व स्वास्थ्य संगठनले यो रोगलाई महामारी घोषणा गरेको थियो। यो रोगले संसारभर १ लाख २६ हजारभन्दा बढी मानिसको मुत्यु भइसकेको छ। कोरोना अझै नियन्त्रणमा नआइसकेकाले मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गर्न सकिन्छ।
दुई हजार वर्षमा विश्वमा फैलिएका २० ठूला महामारी
- एजेन्सी र अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा