नर्सिङ

नर्सिङ काउन्सिल र संघ किन मौन?

रश्मिला थपलिया

विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसबाट संक्रमित हुने र यसैका कारण ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। शक्तिशाली मानिएका देशलाई यो भाइरसविरुद्धको लडाईं जित्न हम्मेहम्मे पारिरहेको छ। विकसित देशहरूमा नै संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढी छ, यद्यपि ६ लाख १६ हजारभन्दा बढी मानिस निको भइसकेको जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। 

कोरोना भाइरसका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी बढी जोखिममा छन्। हालसम्म इटालीमा मात्रै एक सय जनाभन्दा बढी कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीले ज्यान गुमाउनु परेको छ। अन्य देशमा पनि यसकै कारण ज्यान गुमाउने स्वास्थ्यकर्मीको संख्या बढ्दै छ। 

बिरामी चाहे कोभिड-१९ का हुन् वा अरु कुनै रोग लागेका नै किन नहुन्, बिरामीसँग धेरै समय सँगसँगै हुने नर्सहरू नै हुन्। त्यसैले धेरै जोखिम उनीहरूलाई छ। बिना पिपिई अथवा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेका स्वास्थ्य उपकरणका भरमा काम गरिरहनुपर्ने बाध्यता नर्सहरूलाई छ।

यो विषम परिस्थितिमा आफ्नो परिवारसँग नबसी, दुधे बालकलाई घरमै छाडेर बिरामीको सेवा गरिरहेका नर्सलाई डेराबाटै निकालिएको समाचार सुन्न बाध्य छौं। ड्युटी सकेर घर फर्कँदा घरबेटीले घरको गेट नखोलिदिएर अरुको घरमा बस्नुपर्ने बाध्यता कति छन् कति। 

नर्सहरुले प्रयोग गरेको शौचालय, पानीको धारासमेत प्रयोग नगर्ने. बाटोमा हिँड्दा पनि कोरोना नै बोकेर हिँडेजस्तो गरी मुन्टो बटारेर हिँड्ने जस्ता कुराहरू हामी दिन दिनै सुन्दै आइरहेका छौं। एक त समाजमा नर्स लाई छि! छि! र दुर्दुर गर्नेको संख्या थपिँदै गएको छ भने  अर्कोतिर नर्सले काम गर्ने अस्पतालले तलब नै नदिएको, कुनै अस्पतालले बेतलबी छुट्टी बस्न बाध्य गराएको छ भन्ने गुनासो गर्नेहरू पनि छन्। 

अधिकांश अस्पतालमा व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) छैन। आइसोलेसन र फिभर क्लिनिकमा भगवान्-भरोसा भन्दै काम गर्नुपर्ने अवस्था छ। पिपिई चाहियो भन्दा अस्पताल प्रशासनले कामबाटै निकालिदिएको खबर पनि नौलो रहेन। नर्सहरूमाथि दिन प्रतिदिन यस्तो अन्याय भइरहँदा पनि पेसागत अधिकारका लागि लड्ने भनिएको संस्था नेपाल नर्सिङ एसोसिएन (नान) र नियामक संस्था नर्सिङ काउन्सिल मौन भएर बसेको देख्दा नर्सहरूले दु:ख मान्नुबाहेक अरू गर्न सक्ने अवस्था छैन। यी संस्था आफ्नो स्वार्थ पूरा गर्न राजनैतिक दलको झन्डा ओडेर पेशागत संस्थालाई राजनीतिक दलको गुलाम बनाउँदैमा ठिक्क छ। चुनावका बेला ठूलाठूला नारा लिएर हिँड्ने चुनाव सकिएपछि वास्तै नगर्ने परम्परा बसेको छ।

आफूभन्दा पहिला देश सम्झेर काम गर्ने नर्सहरू अस्पतालमा काम गर्नकै लागि घरबाट छुट्टै बस्दै आएकाहरू समस्यासँग जुध्दै आएका छन्। उनीहरुका समस्या के छन् भनेर कहिल्यै नानले सोध्ने गरेको छ? नर्सहरुकै मत लिएर घुम्ने कुर्सीमा बस्ने अनि समस्या पर्दा गुपचुप रहन मिल्छ? वर्षमा एक दिन जेरीपुरी खाएर नर्सिङ दिवस मनाएर मात्र नानको दायित्व पूरा हुन्छ? 

जिम्मेवार निकायका पदाधिकारूहरू पनि सरकार जस्तै चिरनिन्द्रामा छन्। यो विषम परिस्थिति होस् या अन्य अवस्था, अग्रपंक्तिमा बसेर काम गर्ने नर्सहरु सदैव आफ्नो दायित्वलाई आत्मसात् गरेर कामलाई सर्वोपरि ठानी लगनशील छन्। वास्तवमा नर्सहरू कोरोनालाई कसरी जित्ने, आफू कसरी बच्ने, आफ्नो परिवारलाई कसरी सम्झाउने, परिवारलाई कसरी बचाउने, बिरामीलाई कसरी बचाउने भन्ने सोचिरहेका हुन्छन्। यति बेला काममा हौसला दिनुपर्नेमा उल्टो स्वास्थ्यकर्मीकै हुर्मत लिन अघि सरेका देखिन्छन् हाम्रा संस्थाहरू।

केही समय अगाडि मात्र त्रिवि शिक्षण अस्पताल तथा कान्ति बाल अस्पतालका डाक्टर र सुनसरीका हेल्थ असिस्टेन्टमाथि प्रहरीले नै बिनाकारण पिटेको विषयमा विरोध भएपछि पीडितले न्याय पाए भन्ने अपेक्षा गरौं। तर स्वास्थ्य क्षेत्रमा नै काम गर्नेहरूको समान पेसागत हैसियत छैन। यदि एक जना नर्सले पिटाइ खाएको भए कोठामा गएर रुनुबाहेक केही हुँदैनथ्यो। किनकि हाम्रो नानलाई यस्तो कुरा ले केही फरकै पर्दैन। त्यहाँका पदाधिकारीहरुलाई मात्र चुनाव जित्नु थियो, जितिसक्नु भएको छ। उहाँहरूलाई जित 'मुबारक' छ। 

नर्सहरूले आफ्नो सुरक्षा आफै गर्नुपर्छ। न अस्पतालले व्यक्तिगत सुरक्षाका विषयमा कुरा गर्छ, न नान र काउन्सिलले नै। कोरोना भाइरस हराउन हिम्मत नहारी आफू बच्दै देश बचाउनुपर्ने जिम्मेवारी सबै नर्सले बुझेका छन्। त्यही सम्झेर पिपिई र अन्य आवश्यक वतावरण तयार नहुँदानहुँदै पनि काम गर्ने उत्साह घटेको छैन। महामारीको विषम परिस्थितिमा अधिकारभन्दा पनि कर्तव्य सम्झेर युद्धमैदानबाट पछि हट्न हुन्न। अधिकारका लागि लड्न पनि छाड्नुहुन्न। एकआपसको हिम्मत लिएर काम गरौं।

-(नर्स थपलिया स्टार अस्पतालमा कार्यरत छिन्।)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने