चारैतिर लकडाउन छ
कतै मेरो आँखाको पावरमा त लक लाग्या होइन?
मेरो मानसिक स्वास्थ्य त ठिक छ?
खै किन हो!
आमाभन्दा पर अस्पतालका
बिरामी र कुरुवा सबैमा अलिअलि आमा खोज्छु
भोकप्यासै थकित भएर
आइसोलेसन कक्षमा प्रवेश गर्नुअघि
तिमीलाई सम्झन्छु
मेरा आधा असुरक्षित पोसाक हेर्छु
अनि तिमीले लगाइदिएका
सुरक्षित र न्याना कपडा सम्झन्छु, आमा!
गर्व गर्दै तिम्रो गर्भबाट रुँदै निस्किएको दिन सम्झन्छु
तिमी रुँदै, सुर्ता गर्दै हुर्केको
तिम्रो गर्भ तुहिन्छ कि भनेर लोलाएको स्वरमा
'बाबु आफ्नो ख्याल गरेस्' भनेको सम्झन्छु
सायद!
तिमीलाई पनि मलाईजस्तै
आजकल निन्द्रा पर्दैन होला, आमा!
तिमीलाई तिम्रो अभिमन्युझैं
डाक्टर छोरालाई
अव्यवस्थित स्वास्थ्य सुरक्षानीतिको
चक्रव्यूहमा परी
कोरोनाजस्ता कर्णले पछाडिबाट
छुरा प्रहार गर्ने त होइन भन्ने पीर पर्दो हो
के खाँदो हो? कहाँ सुत्दो हो?
टाउको दुख्दा सुमसुम्याउने आमाको हात खोज्दो हो?
भन्ने सोचहरूले दिनदिनै गाल्दो हो
आफ्नै छोराजस्ता धेरै डाक्टर र नर्सले
बिरामीलाई स्वस्थ बनाउँदाबनाउँदै
आफै बिरामी भएर वैकुण्ठमा
बास गरेका खबरले
होसहवास उडाउँदो हो।
चिन्ता नगर आमा
म त ज्वरो क्लिनिकमा
बिरामीको थ्रोट स्वाब संकलन गर्ने
स्वाब स्टिकमा
तिमीले किनेर ल्याएको
नयाँ चम्चा छाडेर
मैले रोजेका तिम्रा हात देख्दछु।
बिरामीलाई मुख खोल्न लगाउँदा
तिमीले मुछेर खुवाउँदा मैले गर्ने आँ सम्झन्छु
मैले लगाउने आईसिल्डमा
तिमीले कसैको आँखा नलागोस् भनेर
हेमन्तको घामा तेल लाएर लगाई दिएको गाजल सम्झन्छु
मैले लगाउने मास्कमा त
तिमीले म सुतिरहँदा
किरा फट्याङ्ग्रा नाक भित्र नपसोस् भनेर
ओडाइदिएको तिम्रो
पातलो पछ्यौरी सम्झन्छु
मैले लगाउँने बुटमा त
कुल देउताको पूजा हुने साल
किनिदिएको आर्मी कलरको
त्यही एक जोर जुत्ता समझन्छु
अनि जसोतसो जुटेको यो गाउनमा
तिमीले पहिलो चोटी
मेरो स्कुलको सांस्कृतिक कार्यक्रममा
भाग लिँदा लगाइदिएको दौरा सम्झन्छु।
जनतालाई भित्रै बस्नु भन्दै
आफू बाहिर खटिएका जुझारु
राष्ट्रसेवक सुरक्षाकर्मीहरूमा तिमीलाई देख्छु
तिमीले सुनाएका भूतका कथा
अनि बाहिर हाउगुजी छ ननिस्कनु आदि
आफू बाहिर बजार निस्किएर
मेरै लागि भिटामिन ल्याइदिएको सम्झन्छु।
बिरामीलाई जाँच गराउन कक्ष सफा राख्न
आफै फोहोर हुँदै
रोग लाग्छ भन्ने त्रास हुँदाहुँदै
निस्वार्थ कर्ममा होमिएका
सहयोगी दाजुभाइ र दिदीबहिनीमा
तिमीलाई देख्छु।
तिमीले चम्काएको त्यो हाम्रो घर, आँगन, भान्सा
मेरो सेतो टिलक्क टल्किने
मंगलबार र शुक्रबार लगाउने पोसाक
त्यो तिम्रो थकित अनुहार
अनि दाग बसेको तिम्रो म्याक्सी सम्झन्छु
बिरामीलाई अहोरात्र समयमै औषधि खुवाउने
भाइटल्स मोनिटर गर्ने वीरङ्गाना
सिस्टरहरुमा तिमीलाई देख्छु
मलाई ज्वरो आउँदा
आँखा झिमिक्क नगरी
मेरो निधारमा पानीपट्टी गरेको
पटकपटक मेरो ज्वरो नापेको सम्झन्छु
म त बिरामीहरुमा तिमी देख्छु
लकडाउनका बेला घरमै बसेका
जिम्मेवार नागरिकमा तिमी देख्छु
उचित खबर प्रवाह गर्ने
पत्रकारमा तिमी देख्छु
पुलिसका लाठीले उठाएका डाम हेर्छु
अनि तिमीले घरको भर्याङबाट लड्दा
टाउकोमा उठेको टुटुल्कोमा
लगाइदिएको तेल सम्झन्छु।
तिमीलाई म कहाँ कहाँ देख्दिनँ होला
राहत बाड्ने परोपकारी हातमा तिमीलाई देख्छु
सरकारले देशवासीका नाममा गर्ने सम्बोधनमा
पनि मेरी आमालाई नै देख्छु
काम बिगार्दा आमाले दिने
अर्तीलाई सम्झन्छु
परीक्षामा फेल हुँदा
आमाले दिने हिम्मत सम्झन्छु।
नहोला नौ महिना गर्भको सम्बन्ध
नहोला दूधका धाराले मुखमा अकिञ्चन सेचन
बाँधियौं विश्व एकता अनि भाइचाराले
आमा म त तिमीले सुनाएजस्तै
सबैमा यसोधा देख्छु
कंसजस्ता महामारी परास्त गर्न कृष्ण बन्दैछु।
युद्ध जितेर आएँ भने
पहिलो चोटी कक्षामा प्रथम हुँदा
जितेको मेडल लगाइदिनू है
मेरो टाउको सुम्सुम्याई दिनू है
मलाई फेरी पनि मुछेर
आफ्नै हातले भात खुवाइदिनू है आमा।
आमारूपी चिकित्सक साथी, नर्स,
हेल्पर, सुरक्षाकर्मी, जनता, सरकार नमन सबैमा
म मरेँ भने हाँसीहाँसी पहिलेझैँ गर्व गर्दै बिदा गरिदेऊ
फेरि पनि तिम्रो छोरा बनी बस्नेछु तिम्रै गर्भमा
बिन्ती नरोएस् है आमा!
बसेर मेरो लासको छेउमा
बिन्ती नरोएस् है आमा!
बसेर मेरो लासको छेउमा।