म देख्छु,
आमा रोइरहेको!
पहिला आफ्नो जन्मसँगै रुन सिकेकी आमा,
रजस्वालाको रगतको थोपासँगै भिजेकी आमा,
सन्तानलाई जन्म दिन सक्छु भनेर सपना सिँचेकी आमा,
नयाँ जीवनमा प्राण भर्न आफूलाई प्रसवपीडामा मिचेकी आमा!
म देख्छु,
आमा रोइरहेको!
कहिले राजास्वालाको पीडासँग जुध्दै गरेकी आमा,
कहिले प्रसव वेदनामा डुब्दै गरेकी आमा,
कहिले आफ्नो नारीत्वालाई जीवन्त राख्ने अंगसँग जुझ्दै गरेकी आमा,
कहिले रोग त कहिले शोकको झरीमा रुझ्दै गरेकी आमा!
म देख्छु,
आमा रोइरहेको!
कहिले महिनावारी त कहिले प्रसवको भेलले बगाएकी आमा,
कहिले गर्भ तुहिएर खसे पनि हार नखाएकी आमा,
कहिले आङ झरे पनि नहड्बडाएकी आमा,
कहिले संक्रमणको सिकार भए पनि नडरएकी आमा!
म देख्छु,
आमा रोइरहेको!
आफ्ना सन्तानलाई दुध पिलाउने स्तन क्यान्सरले काट्नु परेको बेला,
आफ्नो गर्भ बाझो रहँदा अर्कैसँग गर्भ साट्नु परेको बेला,
आफ्नो सन्तानको घर रहेको आमाशय फाल्नु परेको बेला,
आफ्नो पीडालाई सन्तानको अगाडी लुकाउन झुटो हाँसोले टाल्नु परेको बेला!
म देख्छु,
आमा रोइरहेको!
तर पनि सन्तानका लागि हरदम हाँस्ने आमा,
आफू मरेर जाने भए पनि सन्तानका लागी सृष्टी साँच्ने आमा,
जब म देख्छु,
अनि सोच्छु!
साच्चिँकै यस्तो स्वास्थ्य क्षेत्र निर्माण गर्न पाए कस्तो हुन्थ्यो होला,
जहाँ हर रोगी अनि पीडित आमाले भर्ना पाए,
रोगसँग जुझ्ने आत्मबिश्वास अनि जगेर्ना पाए,
मर्न लागेकी आमाले फेरी संसार हेर्न पाए,
कस्तो हुन्थ्यो होला!
-सामना ओली
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान