मुख्य समाचार

स्वास्थ्यका सरोकारवाला नै सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्ट

डाक्टर र स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्यक्रम आएन, औषधिको विषय बेवास्ता

काठमाडौं-  सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। जुन विगतका वर्षहरुमा भन्दा केही फरक खालका छन् । 

कारण – यस वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई सरकारले पहिलो र प्रमुख प्राथमिकतामा राखेको छ। तर स्वास्थ्यकर्मी र यस क्षेत्रका सरोकारवाला भने सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रति सन्तुष्ट देखिदैनन्। उनीहरु भन्छन्, ‘अपेक्षा धेरै थियो तर कार्यक्रम अपुग भयो ।’

‘चिकित्सकको सेवा सुविधालाई नीति तथा कार्यक्रमले बोलेन’
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले सरकारको नीति तथा कार्यक्रम राम्रो तर अपुग भएको बताए । सरकारले स्वास्थ्यको संरचनालाई मात्र जोड दिएको तर जनशक्तिको विकासको कुरा नगरेको बताए । 

उनले भने, ‘नीतिगत रुपमा धेरै परिवर्तन गर्न सकिन्थ्यो तर त्यसो भएन । कार्यक्रम केही राम्रा पनि छन् । तर अपुरो छ ।’

सरकारले शय्याको नम्बरको आधारमा नभई गुणस्तरीय सेवा र सुविधाको आधारमा मात्र अस्पतालको वर्गाीकरण गर्नुपर्ने उनले बताए । स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण ( एफडीए ) र महामारी तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको एनसिडीसी स्थापना गर्ने, एकीकृत एम्बुलेन्स सेवा लगायत कार्यक्रम भने स्वागतयोग्य भएको उनले बताए । 

चिकित्सकको सेवा सुविधामा नीति तथा कार्यक्रमले नबोलेको भन्दै उनको गम्भीर आपत्ति छ । भन्छन्, ‘नेपालमा चिकित्सकको सेवा सुविधा राम्रो नभएकै कारण उनीहरु विदेशिन बाध्य छन् । तर सरकारले यस विषयमा सोचेन ।’

सरकारले कार्यक्रम ल्याएर मात्र नभई त्यही अनुसारको जनशक्तिको वृद्धि र विकासमा पनि ध्यान दिनुपर्ने उनको भनाई छ । कोरोनाको उपचारमा चिकित्सकहरु खटिरहेको बेला आफुहरुको मनोबल बढाउने खालको कार्यक्रम नआएको उनी बताउँछन् । 

‘कोभिड एउटा लडाई थियो । स्वास्थ्य क्षेत्रको कमी कमजोरी सच्याउने मौका थियो । तर सरकारले गर्नसक्ने परिवर्तन पनि गरेन ।’ उनले भने । 

चिकित्सकको सेवा सुविधा, सुरक्षा, जनशक्तिको वृद्धि विकासको विषयलाई प्राथमिकता नदिएकोमा उनको आपत्ति छ । 

औषधि आत्मनिर्भरताको विषयलाई सरकारले बेवास्ता गर्‍यो 
नेपाल औषधि उत्पादक संघको अपेक्षा थियो – यस वर्ष औषधि आत्मनिर्भरताको विषयमा पक्कै केही कार्यक्रम आउँछ । तर त्यसो नभएकोमा उनीहरु सन्तुष्ट छैनन् । 

आफुहरुले पटक–पटक सरकारलाई विभिन्न सुझाव दिएपनि औषधि उद्योगको लागि सरकार मौन रहेको संघका अध्यक्ष जी नारायण क्षेत्री बताउँछन् । उनले भने, ‘गत वर्षको बजेटमा औषधि उद्योगलाई आत्मनिर्भर गराउने कार्यक्रम थियो । तर यो वर्ष त त्यति पनि भएन । तर अब बजेट कसरी आउँछ । त्यसमा निर्भर गर्छ ।’

यस वर्षको कार्यक्रम स्वदेशी उत्पादकलाई प्रोत्साहन गर्ने खालको नआएको उनले बताए । संभावना बोकेको र आत्मनिर्भर बन्न सक्ने औषधि उद्योग क्षेत्रलाई सरकारले कुनै पनि किसिमले प्रोत्साहन नगरेको उनको भनाई छ । 

यसअघि औषधि उद्योगलाई प्रोत्साहन गर्ने बताएपनि व्यवहाराम लागू नगरेको उनले बताए । उनले भने, ‘सरकारले संरक्षण र प्रोत्साहन गरे हामी औषधिमा आत्मनिर्भर हुन सक्छौ । तर हामीलाई कुनै पनि किसिमले प्रोत्साहन गरिएन।’ 

स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्यक्रम आएन
सरकारले यस वर्ष ल्याएको नीति तथा कार्यक्रम स्वास्थ्यकर्मीको मनोबल बढाउने खालको नभएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। 

सरकारले स्वास्थ्यको संरचनामा मात्र जोड दिएको नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे बताउँछन् । भन्छन्, ‘स्वास्थ्यकर्मीको मनोबल बढाउने खालको कार्यक्रम आएन । संरचनामा मात्र जोड दियो। स्वास्थ्यकर्मीहरु उत्साहित हुने कुनै पनि कार्यक्रम छैन।’

सरकारले केही कार्यक्रम राम्रो ल्याएपनि कार्यान्वयन हुनेमा उनको आशंका छ। स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारबीच समन्वय नहुँदा स्वास्थ्यकर्मीले दुख पाएको उनको भनाई छ । कर्मचारी समायोजनमा विभेद गरेकाले अहिले समस्या आएको उनले बताए। 

स्वास्थयकर्मीको वृद्धि विकास र मनोबल बढाउने खालका कार्यक्रम आए मात्र अन्य कार्यक्रम प्रभावकारी हुने उनी बताउँछन्। 


यो पनि :

स्वास्थ्य केन्द्रित नीति तथा कार्यक्रम, यी हुन् प्राथमिकताका क्षेत्र 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने