काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयूटीएच) ले स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा बिरामी सुरक्षासम्बन्धी दुईदिने कार्यशाला र एकदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ।
अस्पतालको गुणस्तर सुधार तथा बिरामी सुरक्षा इकाइ (क्युआईपीएस) को आयोजनामा अक्टोबर ३० र ३१ मा कार्यशाला तथा नोभेम्बर १ (कात्तिक १६) मा सम्मेलन गरिएको हो। काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित कार्यक्रम कन्सोर्टियम अफ एक्रेडिटेड हेल्थकेयर अर्गनाइजेसन्स (काहो) सँगको सहकार्यमा सम्पन्न भएको हो।
‘गुणस्तर सुधार र बिरामी सुरक्षालाई सचेतनाबाट कार्यान्वयनतर्फ लैजाने’ नारासहित आयोजित कार्यक्रममा कार्यशालामा ६६ जना र सम्मेलनमा २२५ जना सहभागी भएका थिए। नेपालका विभिन्न अस्पतालका स्वास्थ्यकर्मी तथा भारत र बंगलादेशका स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
सम्मेलनमा अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञ, स्वास्थ्य संस्थाका नेतृत्वकर्ता, नीतिनिर्माता, प्राज्ञिक व्यक्तित्व तथा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरू सहभागी भएका थिए। स्वास्थ्य सेवामा देखिएका प्रणालीगत चुनौती पहिचान गर्ने, बिरामी सुरक्षाका उपाय प्रभावकारी बनाउने र स्वास्थ्य संस्थामा गुणस्तरीय सेवाको दिगो संस्कृति विकास गर्ने विषयमा सम्मेलनमा छलफल गरिएको थियो।
कार्यशालामा काहोका अध्यक्ष डा. लल्लु जोसेफ, भारतको अमृता अस्पतालका मेडिकल डाइरेक्टर डा. सञ्जीव के. सिंह, मणिपालस्थित कस्तुरबा मेडिकल कलेजका बालरोग प्राध्यापक डा. सुनील सी. मुन्डकुर र माइक्रोबायोलोजी विशेषज्ञ डा. जे. जयलक्ष्मीलगायत अन्तर्राष्ट्रिय विज्ञहरूले सहजीकरण गरेका थिए।
सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले गरेका थिए। कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डिन प्रा. डा. मोहनराज शर्मा अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवाप्रसाद आचार्य, सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा. डा. पवनराज चालिसे र काहोका अध्यक्ष डा. लल्लु जोसेफ पनि सहभागी थिए।

टीयू शिक्षण अस्पतालमा सन् २०२५ जुलाईमा गुणस्तर सुधार तथा बिरामी सुरक्षा इकाइ (क्युआईपीएस) औपचारिक रूपमा स्थापना भएपछि यो सम्मेलनलाई अस्पतालले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। इकाइ स्थापना भएको एक वर्षको अवधिमा बिरामी सुरक्षालाई संस्थागत प्राथमिकताका रूपमा अघि बढाउन र विभिन्न विभाग तथा स्वास्थ्यकर्मीलाई समेटेर बहुआयामिक पहल अघि बढाउन सफल भएको आयोजकको दाबी छ।
सम्मेलनका आयोजक अध्यक्ष तथा क्युआईपीएस इकाइका संयोजक प्रा. डा. पवनराज चालिसेका अनुसार स्वास्थ्य सेवामा समस्या वा जटिलता उत्पन्न भएपछि मात्रै प्रतिक्रिया जनाउने परम्परालाई परिवर्तन गर्दै जोखिमको पूर्वपहिचान, रोकथाम र योजनाबद्ध बिरामी सुरक्षा अभ्यासलाई प्राथमिकता दिन सम्मेलनले सहयोग पुर्याउनेछ।
स्वास्थ्य सेवाको गुणस्तर सुधार र बिरामी सुरक्षा प्रभावकारी बनाउन अस्पतालको नेतृत्वदेखि चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र व्यवस्थापन पक्षसम्मको साझा प्रतिबद्धता आवश्यक रहेको सम्मेलनको मूल सन्देश रहेको छ।