काठमाडौं- बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय बालक आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनलाई आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ल्याइएको हो।
घटनामा घाइते भएका पासवानलाई सुरुमा वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनलाई घटनाको भोलिपल्ट बिहान ११ः३० बजे अस्पताल ल्याइएको थियो।
गोली लागेर तिघ्रामा गम्भीर चोट लागेका बालकको अस्पतालमा प्रारम्भिक उपचारपछि शल्यक्रिया गरिएको थियो। कलेजका पेडियाट्रिक सर्जन डा. विनोद कुमार रायसहितको चिकित्सकीय टोलीले शल्यक्रिया गरी उनको तिघ्राबाट गोली निकालेको अस्पतालले जनाएको छ।
शल्यक्रियापछि थप निगरानी र उपचारका लागि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको थियो। थप विशेषज्ञ उपचार आवश्यक देखिएपछि सम्बन्धित निकायसँग समन्वय गरी काठमाडौं स्थानान्तरण गर्ने व्यवस्था मिलाइएको नेशनल मेडिकल कलेजले जनाएको छ।
अस्पतालका अनुसार नेपाली सेनाको हेलिकप्टर बिहान ११ः३९ बजे बालकलाई लिएर काठमाडौंका लागि उडेको थियो। उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको हो।
बालकको उपचार तथा स्थानान्तरण प्रक्रियामा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको नेतृत्वमा अस्पतालको प्रशासनिक तथा चिकित्सकीय टोलीले समन्वय गरेको थियो।
त्यसैगरी, पर्साका प्रहरी प्रमुख एसपी पवनकुमार भट्टराई, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाली सेना तथा अस्पतालका टोलीबीच आवश्यक समन्वय भएको अस्पतालले जनाएको छ।