ढाका- बंगलादेशको राजधानी ढाकास्थित 'द फरेस्ट लाउन्ज' मा ‘नेपाली इन्टर्न्स एण्ड डक्टर्स रिसेप्सन २०२६’ सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थी, इन्टर्न तथा स्नातकोत्तर तहका रेजिडेन्ट चिकित्सकहरूसहित करिब १५० जना नेपाली चिकित्सकहरूको उपस्थिति रहेको थियो। समारोह मित्रता, सांस्कृतिक आदानप्रदान, व्यावसायिक सञ्जाल विस्तार र आपसी एकताको सन्देश बोकेको विशेष अवसरका रूपमा सम्पन्न भएको हो।
वर्ल्डवाइड नेपाली स्टुडेन्ट्स अर्गनाइजेसन- बंगलादेशको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा 'सोसाइटी फर नेपाली डक्टर्स फ्रम बंगलादेश'ले सहकार्य तथा स्क्वायर फर्मास्युटिकल्स पीएलसी, बंगलादेशले प्रायोजन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम कोलोरेक्टल सर्जन डा. राकेश शाह थिए। सोसाइटी फर नेपाली डक्टर्स फ्रम बंगलादेशका संस्थापक अध्यक्ष तथा नेपाल चिकित्सक संघ एवं सोसाइटी अफ सर्जन्स अफ नेपालका कार्यकारी सदस्य रहेका डा. शाह वर्ल्डवाइड नेपाली स्टुडेन्ट्स अर्गनाइजेसन–बंगलादेशका संस्थापक तथा पूर्व अध्यक्ष समेत हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. शाहले चिकित्सा शिक्षा पूरा गरेको पाँच वर्षपछि पुनः ढाका फर्किन पाउँदा खुसी र भावुक भएको बताए। आफ्नो शैक्षिक तथा व्यावसायिक यात्रा निर्माणमा बंगलादेशको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले वर्ल्डवाइड नेपाली स्टुडेन्ट्स अर्गनाइजेसन–बंगलादेशको यस पहलको प्रशंसा गरे। यस्ता नियमित कार्यक्रमहरूले आपसी मित्रता, सांस्कृतिक सम्बन्ध र व्यावसायिक सञ्जाल थप बलियो बनाउने उनको भनाइ थियो।
साथै, अध्ययन पूरा गरेपछि पनि सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै डा. शाहले बंगलादेशबाट चिकित्सा शिक्षा हासिल गरी नेपाल फर्कने चिकित्सकहरूलाई आवश्यक सहयोग र व्यावसायिक सहजीकरण गर्न सोसाइटी फर नेपाली डक्टर्स फ्रम बंगलादेश सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।
वर्ल्डवाइड नेपाली स्टुडेन्ट्स अर्गनाइजेसन–बंगलादेशका अध्यक्ष डा. मुन्ना यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा सोसाइटी फर नेपाली डक्टर्स फ्रम बंगलादेशका स्थानीय प्रतिनिधि डा. मनीष गुरमैता तथा स्क्वायर फर्मास्युटिकल्सका प्रतिनिधिहरू एमदादुल होक रसेल, डा. रेजाउल हसन खान लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली कला र संस्कृति झल्कने विभिन्न प्रस्तुति, खुला मञ्च, मनोरञ्जनात्मक खेलहरू, पुरस्कार तथा र्याफल ड्रको समेत आयोजना गरिएको थियो। औपचारिक सत्रपछि सहभागीहरू अनुभव आदानप्रदान तथा बुफे डिनरसहित आत्मीय वातावरणमा रमाएका थिए।
आयोजकहरूले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने स्क्वायर फर्मास्युटिकल्स प्रति विशेष आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता व्यावसायिक सहकार्य र एकतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।