डक्टर्स आर्टिकल

कोरोना रोकथाममा मेडिकल विद्यार्थी परिचालन : लगाउन सकिन्छ यी काम

सुजित कुमार मण्डल

संक्रमणको अवस्था 
कोरोना भाइरस अर्थात् कोभिड-१९ ले विश्वभर महामारीको रुप लिसकेको अवस्थामा यसबाट नेपाल पनि अछुतो नरहेको सर्वविदितै छ। नेपालमा अमेरिका, युरोप र भारतको जस्तो विकराल अवस्था नआइसके पनि हाल भइरहेको संक्रमणको दरलाई मध्यनजर गर्दा उक्त समय निकै टाढा नरहेको सजिलै अनुमान लगाउन सकिन्छ।

स्वास्थ्यकर्मीको अवस्था 
नेपालका अस्पतालहरुमा स्वास्थ्यकर्मीको कैयौं दरबन्दी रिक्त रहेको अवस्थामा यस्तो महामारी फैलिएकोले हाम्रो स्वास्थ्य प्रणालीलाई यसले थप कमजोर तुल्याएको छ। सो पदपूर्ति गर्न विभिन्न निकायबाट करारमा कर्मचारी भर्ना गर्न आवेदन माग गरिएको छ। तर यस्तो महामारीको बेला प्रोत्साहनबिना फिल्डमा खटिन संकोच मान्नु मानवीय व्यवहार हो। फलस्वरूप तीन महिने करारमा आवेदन दिने निकै कम नै भए।

यस विषयमा फास्ट ट्रयाकबाट भए पनि स्थायी कर्मचारी नै भर्ना गर्नुपर्ने मागहरु उठे, जुन एक किसिमले स्वभाविक पनि हो। स्वास्थ्य कर्मचारीको अभावलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७६ चैत ९ मा जनशक्ति व्यवस्थापन सम्बन्धमा एउटा निर्णय सार्वजनिक गर्‍यो। त्यस निर्णयमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययनपश्चात् कार्यरत मेडिकल अधिकृतहरु, वरिष्ठ चिकित्सकहरु, प्रदेश अन्तर्गत सञ्चालनमा रहेका मेडिकल कलेजमा सरकारको छात्रवृत्तिमा एमडी/एमएस  र आवश्यक परेको खण्डमा एमबिबिएस अध्यनरत विध्यार्थीहरुलाई समेत कोरोना रोकथाममा सहयोगीको रुपमा परिचालन गर्न सकिने भनेर भनिएको छ।

मेडिकल विध्यार्थीको भूमिका 
सर्वप्रथम के बुझ्न जरुरी छ भने मेडिकल विध्यार्थीहरु मेडिकल विधाका सिकारु हुन् अर्थात् विध्यार्थी हुन्, कर्मचारी हैनन्। सो कुरा भन्दैगर्दा मेडिकल विध्यार्थी एक सामान्य विध्यार्थी मात्रै नभई डाक्टर हुन गइरहेका व्यक्ति हुन्। नेपालमा भएका सबै मेडिकल कलेजका पाठ्यक्रम एकैनासको छैन। कसैले सुरुदेखि नै अर्थात् तेस्रो वर्षदेखि बिरामीको हेरचाहलाई प्राथमिकतामा राखी प्रयोगात्मक सिपहरु सिकाइरहेका हुन्छन् भने कतिले अध्ययनपश्चात् इन्टर्नसिपमा मात्रै यस कुरालाई विशेष जोड दिन्छन्। जसका कारण विभिन्न विध्यार्थीमाझ प्रयोगात्मक सिपको सिकाइ स्तर फरक पर्न जान्छ।

मेडिकल विध्यार्थीलाई बिरामी उपचारमा सहभागी गराउनु हुन्छ वा हुँदैन, यो बहसको विषय हुन सक्ला तर विश्वभरको प्रचलन हेर्ने हो भने विषम परिस्थितिमा विभिन्न मुलुकले मेडिकल विध्यार्थीलाई परिचालन गरेका थुप्रै उदाहरण छन्।

सन् १९१८ मा स्प्यानिस फ्लुको महामारीको बेला पेनिसिल्वानिया विश्वविध्यालयले सो रोग नियन्त्रणको लागि मेडिकल विध्यार्थी परिचालन गरेको थियो। सन् १९५२ मा डेनमार्कमा पोलिओ महामारीको बेला म्यानुवल भेन्टिलेसन गर्न मेडिकल विध्यार्थी परिचालन गरेका थिए। कोभिड-१९ को परिवेशमा अमेरिका, इटाली र युकेका मेडिकल स्कुलहरुले समयभन्दा केही पहिलेदेखि नै विध्यार्थीहरुलाई दीक्षित गरिरहेका छन्।

मेडिकल विध्यार्थी परिचालन गर्ने देशहरुले विध्यार्थीलाई के गर्न हुने र के गर्न नहुने स्पष्ट पारेर निर्देशिका तयार पारेका छन्। नेपालले पनि सोही अनुरुप निर्देशिका बनाएर मात्रै विध्यार्थी परिचालन गर्नुपर्छ। जथाभावी हचुवाको भरमा खटाए फाइदाभन्दा हानि बढी हुने निश्चित देखिन्छ। काममा लगाउनुअघि विध्यार्थीलाई प्रोत्साहन गर्न छोटो अनलाइन तालिम र सम्भव भएसम्म दैनिक भत्ताको व्यवस्था गर्नुपर्छ।

मेडिकल विध्यार्थीले अग्रस्थानमा रही खेल्नसक्ने भूमिका 
- कोभिड-१९ को सन्दर्भमा सकभर संक्रमण नभएका वार्डका बिरामीको हेरचाह चिकित्सकको रोहोबरमा खटाउनुपर्छ। यसले अरु वार्डमा कार्यरत कर्मचारीमाथि भार कम गर्न सकिन्छ र ती कर्मचारीलाई कोरोना संक्रमितलाई उपचार गर्न पठाउन सकिन्छ।

-    विध्यार्थीलाई सिधै संक्रमितको हेरचाह गर्न पठाए उनीहरुले अझ संक्रमण फैलाउन सक्ने, पिपिई  जस्ता सीमित स्रोत–साधनलाई अनावश्यक उपयोग गर्नसक्ने भएको हुनाले अत्यावश्यक परेको खण्डमा मात्रै कोभिड बिरामी नजिक जान दिनुपर्छ।  

- आइसोलेसनमा पठाउनै परे श्वासबाट एरोसोल निष्काशन हुने प्रक्रियाहरुमा सकभर संलग्न नगराउने तर एम्बु ब्याग चलाउने जस्ता कामहरु गराउन भने सकिन्छ।

- मेडिकल विध्यार्थीलाई सकेसम्म उनीहरुले आफ्नो क्लिनिकल कक्षामा सिकिसकेको वा गरिआएको कामको जिम्मेवारी दिनुपर्छ। जस्तै– बिरामीला@ सोधपुछ गर्ने, बिरामीको दैनिक जाFच गर्ने, आफन्तलाई सम्पर्क गरी सूचना दिने, सामान्य मेडिकल प्रक्रियाहरूमा सहयोग गर्ने, प्रयोगशाला जाँचमा पठाउने, बिरामी डिस्चार्ज गर्न लगाउने आदि कार्यमा लगाउन सकिन्छ।

- गर्भवती महिला नियमित जाँच, खोप कार्यक्रम र ओपिडी सञ्चालनमा सहयोग गर्न लगाउने। यी कार्यक्रमहरु टेलीमेडिसिनबाट पनि गर्नसक्ने हुनाले सो कार्यमा सहभागी गराउने।

- दीर्घरोगी जस्तै– प्रेसर, सुगरको नियमित जाँचमा सहयोग गर्न लगाउन सकिन्छ।

- ज्वरो  क्लिनिकमा तापक्रम नाप्न खटाउन परे स्वेच्छाले मात्रै खटाउने र आवश्यक पिपिई उपलब्ध गराउने।  

- क्वारेन्टिनमा लक्षण मोनिटर गर्न लगाउन सकिन्छ।

- आवश्यक सबै सावधानी अपनाएर मात्रै कोरोनाको माइल्ड बिरामीको लक्षण मोनिटर गर्न लगाउन सकिन्छ।  

- सामुदायिक स्तरमा जनचेतना फैलाउने कार्यमा संलग्न गराउने।

मेडिकल विध्यार्थीलाई खटाउनुका फाइदा 
- हाम्रो स्वास्थ्य प्रणालीमाथिको चाप घटाउFछ र स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउँछ।
- पेसाप्रतिको लगाव बढाउने साथसाथै सेवा भावनालाई थप सुदृढ गर्न मौका मिल्नेछ।  
- मानव र देशप्रतिको संवेदना बढाउनुका साथै अनुभव बटुल्ने मौका मिल्नेछ। 
- विपतको बेला गरेको सहयोगले आत्मसन्तुष्टि दिन्छ जसले भविष्यमा एउटा राम्रो चिकित्सक बन्न प्रेरित गर्छ।

यी कुराहरुलाई ख्याल गरियो भने अवश्य पनि विध्यार्थी परिचालनलाई प्रभावकारी बनाउन सकिन्छ।
 

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar
ad
ad
ad
ad

पढ्नै पर्ने