फिचर

श्रीमतीलाई कोरोना पुष्टि भएको त्यो साँझ...

घरबेटी बुबा–आमाले निकै सहयोग गर्नुभयो

प्रतिकात्मक तस्बिर

गत मंगलबार काठमाडौं, कलंकी बस्ने एक महिलामा कोरोना पोजेटिभ भेटियो। रुपन्देही स्थायी घर भएकी उनी अहिले बलम्बुस्थित सशस्त्र प्रहरीको आइसोलेसन वार्डमा उपचाररत छिन्। काठमाडौंमा उनी श्रीमान्सँगै बस्छिन्। तर उनका श्रीमान्लाई भने कोरोना संक्रमण भएको छैन। आफ्नी श्रीमती कसरी अस्पतालको आइसोलेसन वार्डमा पुगिन्?, श्रीमतीलाई कोरोना संक्रमण भएको भन्दै अस्पतालबाट फोन आउँदा कस्तो अनुभव भयो? घरबेटी तथा छिमेकीको व्यवहार कस्तो रह्यो? जस्ता विषयमा उनले आफ्ना अनुभव हामीसँग साटेका छन्ः 

हाम्रो घर रुपेन्देही हो। लकडाउन हुनुभन्दा एक दिनअघि हामी घर गएका थियौं। लकडाउन भएपछि काठमाडौंमा बस्न समस्या हुन्छ भनेर राति नै बाइकमा घर गएका हौं। 

हामी एक महिना रुपन्देहीमैं बस्यौं। त्यसको एक महिनापछि म ससुराली नवलपरासी गएँ। उद्योगहरु खोल्न दिने, लकडाउन केही खुकुलो बनाउने खबर थाहा पाएपछि मैले पनि काठमाडौं आउनका लागि पास बनाएँ। पास बनाउनका लागि केही दिन हामी नवलपरासीमै बसेका थियौं। हामीले काम गर्ने कार्यालयबाट पनि चिठी मगाएर पास बनाई वैशाख २९ गते काठमाडौं आयौं। 

नवलपरासीबाट फर्किएपछि हामी कोठाबाट कतै पनि गएनौं। वैशाख ३० र ३१ गते हामी दुवै जना अफिस पनि गएका थियौं। हाम्रो घरमा कसैलाई पनि कोरोना संक्रमण भएको थिएन। तर पनि हामी दुवै जना सर्तक भने रहेका थियौं। 

जेठ १ गतेबाट सरकारले लकडाउनमा पनि कडाइ गर्‍यों। हामीलाई घरबेटीले कोरोना परीक्षणका लागि कुनै पनि किसिमको दबाब दिनुभएको थिएन। आफैं जेठ २ गते शुक्रबार कोरोना परीक्षणका लागि टेकु अस्पताल पुग्यौं। 

म र मेरी श्रीमती बिहान ९ बजे नै टेकु अस्पताल पुगेका थियौं। ीबहान–बिहानै पनि त्यहाँ निकै भीड हुने रहेछ। भीड देखेर मनमा कताकता डर लाग्यो। कतै यहीँबाट नै कोरोना सर्छ कि भन्ने डर मनमा थियो। 

बिहान ९ बजे अस्पताल पुगे पनि हाम्रो सबै परीक्षण सकिँदा दिउँसोको दुई बजेको थियो। रिपोर्ट नआउन्जेलसम्म हामी कोठाभित्रै बस्यौं। बाहिर कसैको सम्पर्कमा गएका थिएनौं। 

त्यो समयसम्म घरबेटी बुबा–आमाले निकै सहयोग गर्नुभयो। हामी बाहिर निस्किएका थिएनौं। त्यसैले हामीलाई आवश्यक पर्ने सामानहरु कोठामै ल्याइदिने अनि अन्य सहयोगसम्म उहाँहरुले नै गर्नुभयो। त्यो बेला महसुस भयो, सबै घरबेटी एउटै हुँदैनन्। 

जेठ ५ गते सोमबार रिपोर्ट लिन म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुगेँ। मेरो रिपोर्ट नेगेटिभ आएको थियो। तर प्रयोगशालाबाट मेरी श्रीमतीको रिपोर्ट भने भोलि बिहान लिन आउनु भनियो। मेरो रिपोर्ट नेगेटिभ आएकाले म केही ढुक्क भएको थिएँ। अब उसलाई पनि कोरोना छैन कि भन्ने लागेको थियो। तर त्यही साँझ ७ बजेतिर श्रीमतीलाई फोन आयो। 

मलाई लाग्छ, अस्पतालले बिरामी या संक्रमितलाई सिधै फोन गर्नु हुँदैन। उसको कोही अभिभावक या निकट व्यक्तिलाई सम्पर्क गर्नुपर्छ। किनभने त्यो बेला उनीहरुको अवस्था कस्तो हुन्छ होला? हामी अनुमान नै गर्न सक्दैनौं। 

टेकुबाट भन्ने बित्तिकै मैले श्रीमतीको फोन आफैंले लिएँ र कुरा गरें। उताबाट फोन गर्नेले ‘तपाईंको श्रीमतीको नमुना अलि शंकास्पद देखिएको छ’ भन्नुभयो। त्यसको आधा घन्टापछि उसको कोरोना पोजेटिभ देखिएको भन्दै फेरि फोन आयो। त्यो बेला म छाँगाबाट खसे जस्तै भएँ। श्रीमती आफूलाई सम्हाल्न नसक्ने अवस्थामा पुगिन्। 

मेरी श्रीमतीमा कुनै पनि किसिमको लक्षण थिएन। अस्पतालबाट फोन गर्ने व्यक्तिले १०३ मा फोन गर्न भन्नुभयो। मैले फोन गरेँ। तर अस्पतालले कन्फर्म नगरेसम्म तपाईंलाई लिन आउन मिल्दैन भन्ने जवाफ आयो। 

त्यसपछि मैले सशस्त्र प्रहरीको अस्पतालमा फोन गरें। त्यहाँ अस्पतालले एम्बुलेन्सलाई कन्फर्म गरेर लिन पठायो। त्यो बेलासम्म रातको ९ बजिसकेको थियो। कोठा नजिकै एम्बुलेन्स लिन आउँदा घरबेटीलाई समस्या पर्छ भनेर हामी अलि पर चोकमा गयौं। हामीलाई त्यहाँसम्म पुर्‍याउन पनि घरबेटी दाइ र भाउजुसँगै आउनुभयो। 

त्यो अस्पतालमा टिभी, इन्टरनेट सबै सुविधा रहेछ। अहिले हामी भिडियो कलमा कुरा गर्छौं। उनको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्।

उनी अस्पताल भर्ना भएको शुक्रबारसम्म चार दिन भयो। तर हामी बसेको घरको परिवारका कसैको पनि पिसिआरबाट परीक्षण भएको छैन। अहिलेसम्म यहाँ परीक्षणका लागि कोही पनि आउनु भएको छैन। 

मैले मेरो ससुरालीमा मंगलबार राति नै खबर गरेको थिएँ। त्यहाँ बिहानै टोली पुगेर उहाँहरुको परीक्षण गरिसकेको छ र सबैको नतिजा पनि नेगेटिभ नै आएको छ। हामी बसेको घरमा ८४ वर्षकी आमा हुनुहुन्छ। सानो नानी पनि छन्। उहाँहरु टेकु अस्पताल जाँदा अलि जोखिम हुने भएकाले यहीं नै परीक्षणका लागि टोली आउनुपर्ने हो। तर किन हो, अहिलेसम्म आउनु भएको छैन। 

यो मुश्किल घडीमा उहाँहरुले हामीलाई परिवारले सरह साथ दिनुभएको छ। तर टोल–छिमेकका मान्छेले भने उहाँहरुलाई मानसिक तनाव दिइरहेका छन्। 

मेरो अनि श्रीमतीको परिवारमा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। हामी काम गर्ने अफिसमा पनि सबैको नेगेटिभ नै आयो। मलाई त टेकु अस्पतालबाटै कोरोना संक्रमण भएको शंका लागिरहेको छ। किनभने त्यहाँ यति बाक्लो भीड थियो कि, त्यहाँ कुनै किसिमको सामाजिक दूरी नै थिएन। कन्ट्याक ट्रेसिङको आधारमा सरकारले यहाँ पनि कोरोना परीक्षण गर्न आउनुपर्ने हो। तर अहिलेसम्म आएको छैन। यसले पनि कोरोनाको डर अझै कायम छ।

(कमला गुरुङसँगको कुराकानीमा आधारित)
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने