डा जनार्दन पन्थी
भएका साधन र स्रोतहरुको उच्चतम प्रयोग गर्दै जनतासँगै मिलेर प्रभावकारी ढंगले कुशलतापूर्वक योजना, जनशक्ति, संगठन, नेतृत्व र नियन्त्रणका माध्यमबाट गतिशील वातावरणमा संस्थाको लक्ष्य हासिल गरिने प्रक्रियालाई व्यवस्थापन भनिन्छ।
योजना भविष्यको मार्गचित्र हो, जसले वर्तमान अवस्थाबाट निर्धारित भविष्यको लक्ष्यमा पु¥याउने पुल (सेतु) को काम गर्छ। योजना नै व्यवस्थापकको प्रमुख कार्य हो। विना योजना बाटैमा हराइन्छ। गन्तव्यसम्म पुग्न सकिँदैन। योजना गर्दा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र प्राविधिक आदि पक्षहरुको गहिरो जानकारी प्राप्त हुनु आवश्यक छ।
जनशक्ति व्यवस्थापन प्रक्रिया नै हरेक संस्थाको जग हो। असल जनशक्ति अर्थात् विषय ज्ञान अनुसार जनशक्ति व्यवस्थापन हुनु जरुरी छ। यो जनशक्ति दक्ष, निपूर्ण र कर्मठ हुनु आवश्यक छ। समयानुकूल यिनीहरुलाई तालिमको व्यवस्था हुनुपर्छ। भद्रगोल जनशक्ति भन्दा चुस्त र दुरुस्त जनशक्तिले नै संघ–संगठनको लक्ष्य प्राप्तिमा योगदान पु¥याउन सक्छ।
संगठन त्यो प्रणाली, हो जसमा साझा उद्देश्य प्राप्तिको लागि मानिसको समूह, संरचना र प्रविधि रहेको हुन्छ। संगठन पदीय मर्यादा, सिप अनुसारको कामको जिम्मेवारी अर्थात् श्रमको विभाजन र एकता आदि आधारभूत मान्यतामा निर्भर गर्दछ।
नेतृत्व संघ–संगठनको मुटु हो। सम्पत्ति हो। सामथ्र्य हो। प्रबन्धक वा नेतृत्वकर्ताले संगठनको लक्ष्य तयार पार्छ। उपलब्ध जनशक्तिलाई लक्ष्य प्राप्तिको लागि उत्प्रेरणा गर्दछ। यसले फाँट अनुसारको जिम्मेवारी दिन सक्छ। काम गर्ने वातावरण सिर्जना गर्न सक्छ। जनशक्तिको सुरक्षा, वृत्ति विकास गर्न सक्छ। नेतृत्वले आवश्यकता अनुसार उचित र सर्वमान्य निर्णय गर्ने क्षमता राख्छ।
योजना, संगठन, जनशक्ति र नेतृत्वको व्यवस्था भइसकेपछि लक्ष्य प्राप्तिको कार्य उचित तौरतरिकाले समयमै सम्पन्न गराउनको लागि नियन्त्रणको आवश्यकता पर्छ। संगठनका कार्यहरुको निगरानी र कार्यसम्पादन सन्तोषजनक नदेखिएमा पृष्ठपोषण दिइन्छ। कार्य सम्पादनमा कुनै वस्तु वा विषयको कमी देखिएमा त्यसको व्यवस्थापन गरिन्छ।
लक्ष्य भनेको त्यो गन्तव्य हो, जहाँ हामी पु्ग्न चाहन्छौं। वर्तमान अवस्थामा हाम्रो लक्ष्य भनेको जनरल बिरामीलाई स्वास्थ्य सेवा यथावत् राख्दै कोरोना रोग महामारीको उचित व्यवस्थापन गर्नु हो। यस कार्यको नेतृत्वकर्ता सरकार हो भने यसका संयन्त्रहरु लक्ष्य प्राप्तिका साधन हुन्। ठोस, मापनयोग्य, स्वीकार्यता, व्यावहारिक र समयसीमा लक्ष्यका विशेषता हुन्। हाम्रा सरोकारवाला वा नेतृत्वकर्ताहरु वर्तमान परिस्थिति र लक्ष्यबारे अनभिज्ञ पक्कै छैनन्। तर बिडम्वनापूर्वक प्रश्न गर्नुपर्ने हुन्छ कि हामी विषयवस्तुसँग परिचित भएर पनि किन अपरिचित जस्तो व्यवहार गर्दैछौं? यो आजको यक्ष प्रश्न हो। हामीले देखेको र भोगेको समस्या भनेकै समन्वय, सम्वाद र उत्प्रेरणाको कमी हो, जसका कारण हाम्रा कार्यहरु प्रभावकारी हुन सकेका छैनन्।
दैनिक जीवनका भोगाइ र गराइमा व्यवस्थापनले निकै ठूलो भूमिका खेलेको हुन्छ। घरगृहस्थी चलाउनेदेखि देश चलाउने मानिसले व्यवस्थापनकोबारे छोटो मिठो परिभाषासँग परिचित हुनु जरुरी हुन्छ। अझ प्रत्यक्ष जनसरोकारका विषयमा त यसको बेग्लै महत्व छ।
विपद व्यवस्थापनमा हामीले धेरै प्रगति गरेको भएता पनि व्यवहारमा थुप्रै कमजोरी देखिएका छन्। हाम्रो मुख्य व्यवस्थापकीय कमजोरी भनेको अन्तरनिकाय बीचको समन्वयको कमी हो। विपद व्यवस्थापनमा एकद्वार नीति बढी प्रभावकारी देखिन्छ। तर यहाँ विषयज्ञान भएका र प्रशासनिक संयन्त्रको भन्दा राजनीतिक निर्णय व्यवहारमा धेरै देखिएको छ। सायद तीन तहका सरकारबीच समन्वयको कमीले होला। जनस्वास्थ्य कार्यालयको भूमिका र जिम्मेवारी गौण देखिएको छ। फ्रन्टलाइन योद्धा मानिएका स्वास्थ्य र सुरक्षाकर्मीको नै कोरोना रोग जाँच गरेका छैनौं।
मन्त्रालय महामारी रोग नियन्त्रणमा विशेषज्ञहरुको राय अनुसार अगाडि बढ्नु पर्छ। मन्त्रालयले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, निजामती कर्मचारी आदिका संगठन प्रमुखहरुसँग समन्वय गर्न सकेमा कार्यसम्पादन फलदायी हुने देखिन्छ। कोरोना अस्पताल त खोल्यौं तर एउटा एक्स–रे मेसिन छैन। निमोनिया कसरी छुट्टाउने हो? कहाँ लाने हो एक्स–रे गराउन? अन्य अस्पतालमा एक्स–रे गराउन लाँदा संक्रमणको जोखिम हुन्छ। यस्ता सानासाना कुराले ठूलो महत्व राख्छन्।
हामीमा केही न केही कमजोरी छ, जसको कारण सत्य र व्यावहारिक विषय देखिँदैन। हामीमा केही न केही अभाव छ, जसको कारण हाम्रा दैनिक कार्यसम्पादनमा ऊर्जा देखिँदैन। हामीभित्र केहि न केही त्रुटि छन्, जसलाई हामीले सुधार्नै पर्छ। लक्ष्य प्राप्तिको लागि सामूहिक प्रयास आवश्यक छ।
अस्पताल सञ्चालन गर्ने दक्ष जनशक्ति पनि पर्याप्त नभएको अवस्थामा म्यादी अस्पतालमा बालुवामा पानी खन्याए जस्तो ठूलो आर्थिक लगानी भइरहेको छ। नयाँ अस्पताल सञ्चालनमा ल्याउँदा अपनाउनु पर्ने सामान्य आधारभूत सिद्धान्त पनि अपनाइएको देखिँदैन। म्यादी अस्पतालको बनावट, कर्मचारी र प्रविधि जस्ता न्यूनतम आधारभूत तत्वहरुको पनि ख्याल राखिएन। यी म्यादी अस्पतालहरुमा एक्स–रे मेसिन व्यवस्था गर्नुका साटो हामी कुरो गर्दैछौं, भेन्टिलेटर सहितको आइसियु, सिटी स्क्यान आदिको।
खाट राख्दैमा अस्पताल हुँदैन। भेन्टिलेटर राख्दैमा आइसियु हुँदैन। दक्ष जनशक्ति बिना कुनै पनि संस्थाले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन। यी म्यादी अस्पतालहरुलाई सरुवा रोग अस्पतालमा परिणत गर्नसक्ने आधार र योजना हामीले राख्नुपर्छ।
अझै समय छ। निजी अस्पतालहरुमा उपलब्ध सेवा र सुविधाको आधारमा सरकारले तोकेको शुल्कमा सेवा प्रवाह गराउने गरी दुई–तीन महिनाको लागि भाडामा लिने र उक्त अस्पतालको नपुग सञ्चालन आर्थिक भार राज्यले अनुदान दिने नीति बन्नु पर्दछ। यसो गर्न सकेमा जनरल बिरामी र कोरोनाका बिरामीहरुले व्यवस्थित र निरन्तर रुपमा स्वास्थ्य सेवा पाउन सक्नेछन्। अन्यथा भएका अस्पतालहरुमा संक्रमित बिरामीको संख्या बढ्दै जाने र अस्पतालहरु सिल हुँदै जाने अवस्था आयो भने त्यो भन्दा ठूलो बिडम्वना अर्को हुने छैन।
सबैभन्दा दुःखको कुरा, हामीले क्वारेन्टाइन व्यवस्थित गर्न सकिरहेका छैनौं। हुलका हुल मानिस क्वारेन्टाइन गर्दा कोरोना रोग संक्रमणको स्रोत हुने सम्भावना बढ्दै छ। जो जुन पालिकाको हो त्यसै वडाको क्वारेन्टाइनमा बसाल्न सक्ने हो भने घरकै रुखो सुखो खाने थिए। माया र हौसला पाउने थिए। मानसिक पीडाबाट मुक्त हुने थिए। यसबारे पनि हाम्रो ध्यान जानु जरुरी छ। उहाँहरुको ट्रेस र टेस्ट गर्न पनि सजिलो हुने थियो। उहाँहरुको मनोबल बढाउनु जरुरी छ। अहिले उहाँहरुलाई न्यानो रेखदेखको खाँचो छ। मनोपरामर्शको आवश्यकता छ।
सम्बन्धित निकायलाई मेरो सल्लाह र अनुरोध छ, यस्ता महामारी रोग वा विपद कति भोग्नु पर्ने हुन्छ थाहा छैन। यो समस्याको लागि हामीले विषय विज्ञ समिति बनाउनु प्रभावकारी हुनेछ। स्वास्थ्य संस्थाहरु संघीय सरकार मातहत राख्नु जरुरी भइसकेको छ। मन्त्रालयले प्रभावकारी दीर्घकालीन सेवाको लागि ‘इन्स्टिच्युसनल मेमोरी’ संयन्त्र बनाउनु आवश्यक छ। जनशक्ति अभावको समस्या समाधान गर्नका लागि पनि स्वास्थ्य क्षेत्रका विभिन्न भ्रातृ संगठनहरुसँग समन्वय गर्न आवश्यक देखिन्छ। लकडाउनको विकल्प पनि खोज्नु जरुरी छ।
(डा पन्थी नेपाल मेडिकल एसोसियसन, दाङका अध्यक्ष हुन्)