सिकिस्त बिरामी अस्पतालको इमर्जेन्सीमा आइपुग्दा
छुँदै गर्दा नाडी, उहाँको मृत्यु हुँदा
त्यो मृत्यु, रोगले चरम सीमा छोएकाले होइन
डाक्टरले नाडी छोएर भएको भन्छौ तिमी
कठै! कसरी सक्छौ?
बिरामीको भाइटल्स बुझ्न खोज्ने मेरो प्रयासलाई
लापरबाहीको संज्ञा दिन्छौ तिमी।
अरे!
मृत्युसँग खेल्ने भएको भए
हतियार बोकी सिधै जङ्गल पस्थेँ होला
अहिले ठूलै पार्टीको नेता भैसक्थे होला,
आफूभन्दा ठूलो तौलको किताब समाएर
ती किताबभन्दा ठूला नोटका बिटा बुझाएर
किन मेडिकल कलेज छिर्थेँ होला?
किन दिन्थेँ कैयौँ रातका निन्द्राको आहुति?
किन बन्थेँ महामारीको कुरुक्षेत्रमा अभिमन्यु?
म रोक्न सकुँला कोरोना प्रकोप
तर छेक्न सक्दिनँ तिम्रो लात
तिम्रो आरोप
र तिम्रो सरापको
चक्रव्यूह।
सबै मन्दिर, मस्जिद, चैत्य-गुम्बा बन्द भइसक्दा
तिमी घरमै दियो बाली रहन्थ्यौ,
म भने अस्पतालमा सबैको आशाको दियो बनी
जल्ने प्रयासमा हुन्थेँ
हावाहुरी त तिमीले थप्थ्यौ
पानी बनी मलाई निभाउन
पटकपटक असिनापानी बनी वर्षिरहन्थ्यौ
केही थोपामा गालीगलौज अपशब्द थिए।
लाइसेन्स खारेज गरिदिने तिम्रो धम्की पनि सहेकै थिएँ
असुरक्षित पोशाकमा
म नै हलो र गोरु बनी
सुख्खा निराशाको मरुभूमिमा जोतिइरहेँ
फलमा निन्दा मात्र भोगिरहेँ।
आधा रातमा प्रश्न आ'थ्यो
ऐया नि बाबु! गास्ट्रिकको औषधि छ?
तिमीले ढोका ढक्ढक्याउँदा प्यान्टप दिएर
तिमीलाई दुखाइमुक्त पार्ने
म नै हुँ तिम्रै नातिनीलाई सास फेर्न गार्हो हुँदा
अस्पताल लगेर नेबुलाइज गर्ने
निस्सासिएर निलै भएकीलाई
गुलाबी बनाउने म नै हुँ।
तिमी अनि तिम्रो परिवारको सुरक्षार्थ
मेरो कोठा अनि अस्पतालको ढोका सँधै खुलिरहे
अहिले भोटे ताल्चा खोज्दै छौ रे
बहालबाट मलाई निकाल्न
मैले अस्पतालमा ताल्चा लाइदिएँ भने
गनिराख्छौ होला लासका पहाड!
ठूलाको अझै ठूला ट्याग लागेका ठूला भनाउँदा होटेल
अस्पतालकै सेमिनार सिएममी कनबाट
ठूलै धनराशी हात पार्ने
अहिले डाक्टर राख्न पैसा सोहोर्ने
ती हात पछाडि किन भए?
कुटपिट ढुङ्गामुढा गर्नुदेखि पागलसम्मको
उपमा अलङ्कारको पगरी गुथाइसक्यौ
बोलेको नसुन्ने बहिरो समाज त ठिकै थियो
खोइ को देखि डराइरहेछ अस्पताल?
आँखाले देख्ने प्रमाणसम्म त्यसै लुकाइ सकेछ!
अस्पतालको रेपुटेसन पैसाले जोगाउने रहेछ
मृत्युको व्यापार लापरबाहीको हाकिम
मुर्ख र द्रव्यलम्पट रहेछ
निर्दोषको आँसु गोहीको देख्ने
कानुन साँच्चै अन्धो रहेछ!
एकातिर महामारी, अर्कातिर मलाई मारी रहन्छौ
मेरा दुवैतिर निराशा छन्
एकातिर कोरोनाले छिनेका सुखपात
अर्कातिर तिम्रो ढुङ्गामुढा गालीगलौज अनि तिम्रै लात।
तिम्रो शरीरमा अलिकति काँडा बिझोस् त कसरी ऐया गर्छौ
मैले त काँडा निलेर फूल ओकल्न सिकिसकेँ
मेरो फूल बिन्ती नचुँडिदेऊ
तिम्रै भगवानलाई बाहिरबाट चढाउन काम लाग्ला
तिम्रा पितालाई बचाउने मेरो प्रयासमा छैन कुनै भुल
सिकिस्त हजुरबुबाको मृत्युमा
अस्पतालबाट उठाएको पैसा गन्दै
उनकै नातीलाई त्यही पैसाले डाक्टर पढाउँछु भन्छौ
अरे! त्यो नाती पनि तिमीजस्तै
कमजोर मानसिकताको सिकार नहोला भन्ने छैन
किन कुरा बुझ्दैनौ?
तिम्रो नातीको पनि मेरै हाल नहोला भन्ने छैन।
मेरा पनि तिम्रोजस्तै परिवार छन्
छोरा महामारीलाई जितेर कहिले घर आउँछ भनेर
आमाका आँखा रोडतिर कहिलेबाट बिछिरहेका छ्न्
बाबाका घडीका सुईहरु पनि
मलाई अंगालो हाल्न छिटोछिटो चलिरहेका छ्न्
हजुरआमाको छोटिदैं गरेका आयु मेरै लागि लम्बिरहेका छन्
दाजुभाउजू बैनी पनि
मलाई मिठोमिठो बनाएर
खुवाउन युट्युबमा नयाँनयाँ परिकारको
रेसिपी घोकिरहेका छन्।
विश्वभर चिकित्सकको वाहवाही भइरहँदा
मैले भने 'ऐया! ऐया!!' छोडिदेऊ मलाई
म निर्दोष छु, सबुत क्यामेरामा छ भन्दा
अझ ठूलो घात गरिदिन्छौ सबुत मेटाईमेटाई
तिम्रो भगवान् घरबाहिर थुनिँदा
आज मभित्रको धर्म रोएको छ
मेरो सेतो कोटमा नभएको खोट देखिदिँदा
मलाई कुटपिट गरिदिँदा
मेरो पोशाकले रङ्ग फेरेको छ
आफ्नै रगतमा तिम्रो कटुवचन
र बज्रिएको कालो लातले
अर्कै रङ्ग लिएको छ
मेरो कर्मठ औँला पनि लुलो भएको छ
मेरो धड्कनले चाल के हो सोधि रहेको छ
मेरा खुट्टा लर्बराइरहेका छन्
मेरा हात बाँधिएका छन्
शरीरमा नीलडाम लिएर
म नीलकण्ठी कसरी बनौं?
म निडर कसरी बनम?
म निर्धक्क भएर कसरी काम गरौँ?
म निष्ठावान् डाक्टरको इथिक्स कसरी पालना गरौँ?
लौ कोरोना त छिट्टै अन्त्य होला
तर समाजले जन्माएको
'डाक्टर कुट, अस्पतालबाट शव जिम्मा लिनुअघि पैसा लुट'
भाइरसको कहिले अन्त्य हुने होला?
झुझारु र नैतिकताको आचरणबाट कति पनि विचलित नहुने
डाक्टरले न्याय कहिले पाउने होला?
आफ्नो घरबाट र आफ्नाबाट पर रहेर
यमराजको अघि उभिएर
तिमीलाई यमलोकको यात्राबाट बचाउन
आफैं यमलोक स्वीकार्ने डाक्टरलाई
बिन्ती निरुत्साहित नबनाऊ!
महामारीको भाइरसमा अर्को 'मलाई मार्ने' भाइरस नथपिदेऊ!
बिन्ती अर्को मलाई मार्ने भाइरस नबनिदेऊ!
मलाई मार्ने भाइरस नबनिदेऊ!