डा जीवनाथ धमला
विश्व अहिले कोरोना भाइरसको महामारीले आक्रान्त बनेको छ। यस महामारी विरुद्ध लड्ने आवश्यक रणनीति अनुरूप चैत ११ गतेदेखि लकडाउनको घोषणा गर्दै नेपाल सरकारले कोरोना भाइरसको संक्रमण पत्ता लगाउने तथा तिनिहरूको व्यवस्थापन र उपचारको प्रयास जारी राखेको छ।लकडाउनको लामो समय पश्चात करीब २ महिनाको अवधिपछि संक्रमणको सङ्ख्या आक्रमकरूपमा बढ्न थालेको छ। सम्पूर्ण स्वास्थ्य संस्थाहरूको ध्यान अहिले महामारी विरुद्ध केन्द्रित देखिन्छ।वर्तमान परिस्थितिमा नियमित स्वास्थ्य सेवालाई निरन्तरता दिँदै कोरोना भाइरस विरुद्ध लड्नु नै स्वास्थ्य संस्थाहरुको प्रमुख चुनौती हो।
यसै बिचमा नियमित स्वास्थ्य सेवाबाट बञ्चित हुँदा यौन तथा प्रजनन स्वास्थ्यमा प्रतिकुल असर परिरहेको समाचार आउन थालेका छन्।चैत महिनामा मात्र ५३ जना सुत्केरीको मृत्यु हुनुले कोरोना भाइरससँग लड्दै यौन तथा प्रजनन स्वास्थ्य सेवालाई पनि प्रभावकारी बनाउनुपर्ने टड्कारो आवश्यकत्ता दर्शाउँछ।
कुनै पनि राष्ट्रको सामाजिक-आर्थिक अवस्था त्यहाँका महिला तथा बालबालिकाको समग्र स्वास्थ्य अवस्थाले प्रतिविम्वित् गरेको हुन्छ।विश्व स्वास्थ्य संगठनको आकँडा हेर्ने हो भने प्रत्येक दिन ८१० महिलाको गर्भावस्था तथा सुत्केरीसँग सम्बन्धित कारणले मृत्यु भएको देखिन्छ (मातृ मृत्यु दर सम्बन्धी WHO को प्रतिवेदन, 2017)। सहस्राब्दी विकास लक्ष्यको ५औं लक्ष्य हासिल गर्नका लागि नेपालको मातृ मृत्यु अनुपात सन् १९९६ को ५३९ प्रति लाख जिवित जन्मलाई घटाएर सन् २०१५ मा १३४ प्रति लाख जिवित जन्ममा झार्नुपर्ने थियो तर सन २०१५ मा यो आँकडा २५८ प्रति लाख जिवित जन्ममा मात्र सिमित रहेको छ।
‘नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०१५–२०२०’ अनुसार सन् २०२० सम्ममा नेपालको मातृ मृत्युदर १२५ प्रति लाख जिवित जन्ममा झार्ने उल्लेख छ भने दिगो विकास लक्ष्य (SDG) हासिल गर्न सन् २०३० सम्ममा नेपालको मातृ मृत्यु दर ७० प्रति लाख जिवित जन्ममा झार्ने लक्ष्य रहेको छ।यो लक्ष्य हासिल गर्नका लागि हालसम्म गरिएका तथा आगामी दिनमागर्नुपर्ने प्रयासहरुलाई कोभिड–१९ महामारीले थप चुनौतीपूर्ण बनाइदिएको छ।
नेपालमा मातृ मृत्युदरको महत्वपूर्ण तत्वहरुलाई ३ वटा Delay मोडलमा हेर्ने गरिन्छः
१) स्वास्थ्य संस्थामा सेवा खोज्न नै ढिलो जाने (Delay in Seeking Care)
२) स्वास्थ्य संस्थामा सेवा लिन ढिलो जाने (Delay in Reaching Care)
३) स्वास्थ्य संस्थामा सेवा नै ढिलो पाउने (Delay in Receiving Care)
यसका साथै अत्याधिक रक्तश्राव, संक्रमण, उच्च रक्तचाप आदिलाई पनि मातृ मृत्यु दरका प्रमुख कारक तत्व मानिन्छ।
कोभिड १९ को महामारीले यो तीनै वटा Delay मोडलाई झन् प्रभावित पारेको छ। कोरोना महामारीको संक्रमणको जोखिमले गर्दा स्वास्थ्य संस्थामा उपचारका लागि जाने महिलाहरुको सङ्ख्या उल्लेखीय रूपमा घटेको छ र घरमै सुत्केरी गराउनेको सङ्ख्या बढ्दो छ। कतिपय संस्थाहरुले टेलिफोन वा टेलिमेडिसिनको माध्यमबाट परामर्श दिन सुरु गरेपनि पहुँच र सामर्थ्यको कमीले सबैले त्यो परामर्शको सुविधा लिन सकिरहेका छैनन्।
त्यस्तै लकडाउनले गर्दा यातायातको साधन नपाएर कतिपय महिलाहरु चाहेर पनि स्वास्थ्य संस्थामा जान सकेका छैनन्। संक्रमणको जोखिमले भन्दै निजी स्वास्थ्य संस्थाहरु सेवा दिन पछाडि हटिरहेका छन् भने सरकारी स्वास्थ्य संस्थामा विरामीको चाप बढी भएकोले गुणस्तरीय सेवामा ह्रास आएको छ। अधिकांश निजी स्वास्थ्य संस्था बन्द हुनाले र कोरोना संक्रमण देखिएका अस्पताल विकल्प नखोजी सिल गर्दै जाने सरकारी रणनीतिले गर्दा यौन तथा प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर परी भयावह अवस्था आउने देखिन्छ ।
विगतमा देखिएको महामारी जस्तै सार्स, मर्स र इबोलाको अनुभवलाई हेर्ने हो भने यी भाइरसको सबै भन्दा बढी असर प्रजनन् स्वास्थ्यमा परेको देखिन्छ।मर्स, सार्सले गर्भावस्थालाई प्रत्यक्ष असर पर्ने गर्भपतन, महिना नपुगी बच्चा जन्मने, कम तौलको बच्चा जन्मने जस्ता समस्या निम्त्याउँदछ। तर कोभिड-१९ ले पुर्यागउन सक्ने त्यस्ता प्रत्यक्ष असरहरुका बारेमा अहिले प्रामाणिक तथ्यहरु बाहिर आइसकेका छैनन्।
लकडाउनको अवधिमा घरमै बढी समय व्यतित हुने हुँदा अनिच्छित गर्भको दर बढ्दो क्रममा रहेको छ र परिवार नियोजन सम्बन्धी परामर्श लिनेको संख्यामा कमी आएको छ।असुरक्षित गर्भपतन गराउनेको संख्या उल्लेखीय रुपमा बढेको छ। कोशी अस्पतालको विगत ५१ दिनको आँकडा हेर्ने हो भने ४९ जनाले आफैं असुरक्षित गर्भपतन गराउने प्रयास गर्दा जटिलता भएपश्चात अस्पताल भर्ना हुनुपरेको छ भने १ महिलाले अत्याधिक रक्तश्रावको कारणले झन्डै ज्यान गुमाउनु परेको (Near Miss Case) थियो।यो पछिल्लो सालको अनुपातमा ५० प्रतिशतले बढी हो।
लैङ्गिक हिंसाको केसलाई पनि महामारीको उपजको रुपमा कम आँक्न मिल्दैन।कोशी अस्पतालमा विगत १ महिनाको तथ्यांकलाई हेर्दा करिव १९ जना महिलाहरुले लैङ्गिक हिंसा सम्बन्धी परामर्श तथा उपचार लिएका छन्। पहिलो महिनाको तुलनामा यो सङख्या कम भएता पनि लकडाउनकै अवधिमा यति सङख्या देखिनु यस क्षेत्रमा परेको प्रभावको टिप अफ द आइसबर्ग मात्र हो।
अतः नियमित स्वास्थ्य सेवालाई निरन्तरता दिँदै लकडाउन अवधिभर कोशी अस्पतालले यौन तथा प्रजनन स्वास्थ्य सेवालाई पनि प्रभावकारी बनाएको छ।विगत ५१ दिनमा २३०५ जनाले ओपिडी सेवा, ७३४ जनाले अन्तरंग सेवा, ६३६ जनाले सामान्य प्रसुती र १६७ जनाले सल्यक्रियाको माध्यमबाट प्रसुती गराएका छन्। कोभिड-१९ को विरामीको पनि उपचार गर्दै आएको यस अस्पतालले यौन तथा प्रजनन स्वास्थ्यलाई पनि कसरी सँगै लान सकिन्छ भन्ने उदाहरण पेस गरेको छ।
सेवालाई प्रभावकारी बनाउने उपाय के त ?
१. सञ्चार माध्यमको यथोचित प्रयोग, टेलिमेडिसिन सेवा र परामर्श दाताको सङ्ख्या बढाएर प्रजनन तथा मातृ शिशु परामर्शलाई प्रभावकारी बनाउने तथा खतराको संकेतहरुको बारे जानकारी गराउने।
२. यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी, कोभिड–१९ को सेरोफेरोमा सरकारले आवश्यक रणनीति बनाउने।
३. स्वास्थ्य संस्थामा सेवा लिन जानेहरुको लागि एम्बुलेन्स सेवालाई प्राभावकारी बनाउने।केही सार्वजनिक सवारी साधनलाई पासको व्यवस्था गरी एम्बुलेन्सको रुपमा प्रयोग गर्न पनि सकिन्छ।
४. आवश्यक सामाजिक दुरी कायम राख्दै, सुरक्षा कवजको उचित प्रयोग गरी स्वास्थ संस्थाको सेवा सुचारु गर्ने र स्वास्थ्यकर्मीहरुको आवश्यकता देखिएमा स्थायी पदपुर्तिको मार्ग प्रशस्त गर्ने साथै स्वास्थकर्मीको मनोबल बढाउने किसिमका गतिबिधिहरूलाई निरन्तरता दिने।
५. परिवार नियोजन परामर्शलाई प्रभावकारी बनाउने र लैङगिक हिंसाको सचेतनामा वृद्धि गर्ने।
६. आमा सुरक्षा चक्कीलाई हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउने र स्वास्थ्य संस्थाबाट सिकिस्त विरामीको प्रेषण छिटो र चुस्त बनाउन स्थानीय निकायहरुले प्रभावकारी भुमिका खेल्ने।