म निस्किन्न्न कतै
आज भोलि
हेर्छु आफूलाई ठिक लाग्छ
म एउटा चिकित्सक
मलाई आँखा तर्छन्
आपसमा कानेखुशी गर्छन्
यो त कोरोना हेर्ने डाक्टर
कतै हामीलाई त सार्दैन!
झस्किन्छन् साथीहरु
त्यसैले अचेल म निस्किन्न कतै
आज म अछुत भएको छु
कारण कोरोना बिरामीको सेवा गर्नाले
कोरोना व्यवस्थापनमा लाग्नाले
मेरो दु:ख मेरो मिहिनेत कहाँ देख्नु भो र
तपाइँलाई बचाउने मेरो अभियान
तपाई कहाँ बुझ्न खोज्नु हुन्छ र ?
बुझ्नु हुन्छ त केवल कोरोना हेर्ने डाक्टर
कोरोना सार्ने डाक्टर
आज म छु र त
तपाइँ कानेखुशी गर्दै हुनुहुन्छ
म छु र त
घरमा आनन्द हुनुहुन्छ हमेशा
मैले लडेको युद्ध तपाईंलाई
लागि रहेछ केवल तमाशा
मेरा साथीहरु घरबेटीबाट अपहेलित हुनु परिरहेको छ
मानौ तिनीहरुले जघन्य, अक्षम्य अपराध गरिरहेछन्
उनले गरेको अदम्य साहस
यहाँ गौण बनिरहेछ
परोपकार: पूण्याय पापाय परपीडनम
अब उल्टो व्याख्या गरिदै छ
परपीडनम पूण्याय पापाय परोपकार:
सबलाई लाग्छ आफुलाई रोग लाग्दैन
अरुलाई लाग्छ
त्यसैले छि छि र दुर दुर गरिन्छ
कोरोनाका बिरामीलाई
अनि सेवा गर्ने हातलाई
दैनिक व्यवहारमा अछुत
आकास्मिक रोग लागे छुत
र म नभै हुँदैन
म नै नखटिई हुँदैन
हाम्रो संसार पापी नै भै सकेको हो ?
मानवता हराई सकेको हो ?
हाम्रो कामलाई
प्रशंसा गर्न नसके घृणा गर्ने कुचेष्टा पनि नगरौं
हामी नै नबाँचे
तपाइँ कसरी बाँच्नु होला र ?
हामी नै नरहे
तपाइँ कसरी रहनु होला र ?