विचार/ब्लग

कोभिडले ल्याएका स्वास्थ्य अनुसन्धानका अवसर

डा सुरेश तामाङ

कोभिड–१९ को कारण धेरै मानिसको नियमित दिनचर्या, काम, पेसा र कार्यक्षमता प्रभावित भएको छ। तर यसले जनस्वास्थ्य, चिकित्सा, नागरिकको दैनिक जीवन र सामजिक अर्थिक क्षेत्रमा अध्ययन र खोज गर्नेहरुका लागि अवसरहरु पनि सिर्जना गरेको छ। यस्ता क्षेत्रमा काम गर्नेहरुका लागि कोभिड–१९ सुनौलो अवसर सावित भएको छ।   

अनलाइनमा अभ्यस्त हुँदै समाज 
कोभिड–१९ ले मानव जातिलाई भर्चुअल दुनियाँसँग अभ्यस्त हुन सिकाएको छ। पहिले मानिसहरु भौतिक रुपले एकै ठाँउमा उपस्थित भएर गर्ने कामहरु अहिले इन्टरनेटको माध्यमबाट आफ्नै घरको कोठमा बसेर गर्न अभ्यस्त भइसकेका छन्। नेपालका अधिकांश संघसंस्थाहरुले समेत आफ्नो नियमित कार्यलाई अनलाइनमा ढालिसकेका छन्।

प्रत्यक्ष  जनस्तरमा गएर गर्न नसकिने तालिम, गोष्ठी र जनचेतनामूलक कामहरु अहिले अनलाइन मार्फत दिन थालिएको छ। साथै शिक्षा, चिकित्सा तथा मनोसमाजिक परामर्श समेत आजभोलि विभिन्न संघसंस्थाले अनलाइनबाटै दिने गरिरहेका छन्। यो समय कम्प्युटर सफ्टवेयरमा काम गर्ने वा सिक्नेहरुका लागि पनि बरदान सावित भएको छ। उनीहरुले घरमै बसीबसी नयाँनयाँ प्राविधिक ज्ञान हासिल गर्ने वा भएको ज्ञानलाई थप निखार्ने अवसर पाएका छन्। एक अध्ययन अनुसार संसारमा कोभिडपछि ७० प्रतिशत क्रियाकलापहरु विधुतीय हुने देखाएको छ। 

कोभिड : स्वास्थ्य क्षेत्रका लागि चुनौती र अवसर
स्वास्थ्य तथा चिकित्सा क्षेत्रका लागि पनि कोभिड–१९ चुनौती सँगसँगै बरदान समेत सावित भएको छ। स्वास्थ क्षेत्रमा काम गर्दै आएका विभिन्न गैरसरकारी संस्थाहरुले नयाँनयाँ तौरतरिका अपनाएर काम गर्ने अवसर पाएका छन्। विषेशगरी माहमारीमा बेला कस्तो रणनीति अपनाएर काम गर्नुपर्छ भन्ने कुरा कोभिड–१९ ले त्यस्ता संस्थाहरुलाई सिकाएको छ। 

नेपाल सरकारलई विभिन्न दातृ निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले पनि कोभिड विरुद्ध लड्नका लागि सहयोग गरिरहेका छन्। स्वास्थ्य क्षेत्रको विभिन्न आयममा काम गर्दै आएको निक साइमन्स इन्स्टिच्युटले समेत आफ्नो सम्पूर्ण शक्ति अहिले कोरोना रोकथाम, सेवा विस्तार र अनुसन्धान लागि लगाएको छ। त्यसका लागि अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थाहरुमा तालिम तथा अभिमुखीकरण चलाइरहेको छ। साथै देशका विभिन्न ५३ अस्पताललाई अति आवश्यक स्वस्थ्य सामग्री ( भेन्टिलेटर र पिपिई) समेत उपलब्ध गराएको छ। स्वास्थ्य मन्त्रालयलाई नियमित रुपमा सल्लाह, सुझाव र सान्दर्भिक तथ्यांकहरु समेत उपलब्ध गराउँदै आएको छ। त्यस्तै राष्ट्रिय अविष्कार केन्द्र र नेपाल बायोमेडिकल एसोसिएसन जस्ता संस्थाहरु कोभिडसँग लड्न मेडिकल डिभाइसेजको मर्मत, नयाँ डिजाइन र निर्माण कार्यमा लागिरहेका छन्। 

यी संघसंस्थाहरुमा आबद्ध प्राविधिक तथा विज्ञहरुले कोभिड–१९ का कारण नयाँ कुरा सिक्न पाइएको बताएका छन्। राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनका अनुसार कोभिड–१९ विश्वको लागि एउटा चुनौतीसँगै केही नयाँ कुरा जान्ने अवसर पनि हो। ‘हामी जस्ता अनुसन्धान र खोज आविष्कारमा काम गर्नेहरुले कोभिड–१९ बाट धेरै कुरा सिक्ने मौका पनि पाइरहेका छौं। कोभिड–१९ सँग लड्न चाहिने उपकरण तथा उपायहरुबारे थप अनुसन्धान तथा आविष्कार गर्ने मौका पाएका छा,ैं’ डा पुन भन्नुहुन्छ, ‘कोभिड–१९ मा अविष्कार भएका यन्त्र तथा उपायहरु अहिले मात्र होइन, भविष्यमा आइपर्र्ने माहामारीमा पनि काम लाग्नेछ,।’

अहिलेको अनुसन्धान भविष्यको लागि नजिर 
कोभिड–१९ को यस विषम परिस्थितिमा अध्ययन अनुसन्धानकोे महत्व र औचित्यताले पनि अझ व्यापकता पाएको छ। कोभिड–१९ लाई लक्षित गरिएको विभिन्न खोज तथा अनुसन्धानले स्वास्थ्य सेवा केन्द्रहरुको स्वरुप समेत फेरबदल गरिदिएको छ। कतिपय अस्पतालमा नयाँ सघन उपचार कक्ष र विशेष सेवाहरु पनि थप भएका छन्। अनुसन्धानकै कारण चिकित्सा क्षेत्रमा ज्वरो क्लिनिक, आइसोलेसन र क्वारेन्टिन जस्ता सेवाहरुको परिभाषा थपिएको छ। 

अहिले भएका अध्ययन अनुसन्धान भविष्यको लागि नजिर समेत हुनेछ। अहिले गरिएको अनुसन्धानबाट उत्पादन भएका ज्ञान, सिद्धान्त र उपायहरुले भविष्यमा कारोना जस्तो महामारी तयारी र रोकथामको लागि सघाउ पुग्नेछ। 

भौतिक संरचना थपियो
नेपालमा सरुवा रोगका उपचार तथा रोकथामका लागि अस्पताल र अनुसन्धान केन्द्रको अभाव थियो। काठमाडौंको शुक्रराज अस्पताल बाहेक गतिलो प्रयोगशाला थिएन। कोभिड–१९ कै कारण विगतको तीन महिनाभित्र सरकारले नेपालमा १९ वटा आधुनिक प्रयोगशाला सहितका अस्पताल निर्माण गरिसकेको छ। कोभिड–१९ ले नच्यापेको भए नेपाल जस्तो देशमा यतिका संरचनाहरु तत्काल बन्ने अवस्था र सम्भावना दुवै थिएन।

सरकारले अस्पताल तथा प्रादेशिक प्रयोगशालाहरु बनाए तापनि ती प्रयोगशालामा हुने भाइरोलोजी र माइक्रोबायोलोजी बाहेक अन्य अनुसन्धान कार्यमा भने धेरै जोड दिएको अवस्था छैन। स्वास्थ्य प्रणालीमा केवल ल्याब परीक्षणलाई मात्र अनुसन्धान बुझ्नु हुँदैन, यसमा कर्मचारीतन्त्र, तालिम र सिप विकास, मेसिन औजार, अत्यावश्यक औषधि र समग्र स्वास्थ्यका विविध पक्षहरुमा पनि अध्ययन जरुरी छ।

कोभिड अनुसन्धानकर्ताको लागि एउटा सुनौलो अवसर 
विश्वव्यापी रुपमा अक्सफोर्ड लगायत कतिपय विश्वविद्यालय, औषधि कम्पनी र अनुसन्धान संस्थाका लागि पनि कोभिड नयाँ चुनौती र खोजको विषय भएको छ। कोभिड विरुद्धको खोप बनाउन विश्वका १ सय बढी नाम चलेका वैज्ञानिक संस्थाहरु अहिले मरिमेटेर लागेका छन्। केहीले खोप तयार गरेर प्रारम्भिक परीक्षण समेत गरिराखेको सुनिन्छ। यसै वर्षको अन्त्यसम्ममा कोभिड–१९ विरुद्धको खोप बजारमा आउन सक्ने अनुमान पनि गरिएको छ।

हालै विश्व स्वास्थ्य संगठनले औलोको औषधि कोरोनाका लागि परीक्षण गर्न अनुमति दिएको छ। नेपालमा पनि वन विज्ञान अध्ययन संस्थान हेटौंडाका प्राध्यापक डा ललितकुमार लाल दासले तयार पारेको कोरोना विरुद्धको खोपमा विश्व स्वास्थ्य संगठनले समेत चासो देखाइसकेको छ। 

कोभिड र यसले आम मानव समाजमा पारेको विभिन्न असर र प्रभावहरुको खोजी गर्ने कार्यहरु पनि अनुसन्धानकर्ताहरुका लागि थपिएको छ। स्वास्थ्यका अलावा शिक्षा, कृषि, वातावरण, आर्थिक र सामाजिक रुपमा पनि प्रभावितहरुको खोजको विषय प्रशस्तै छन्। महिला, गरिब, बालबालिका, अपांगता भएका र कोभिड संक्रमित र कोभिडलाई जितेकाहरुको साथै अति जोखिम समूहहरुका समस्या, भोगाइ र सुझावका साथै उनहरुको स्वास्थ्य सेवामा पहुँचका बारेमा पनि खोजविन गर्न सकिन्छ। सोही काराण अनुसन्धाकर्ताको लागि कोेभिड–१९ एउटा सुनौलो अवसर नै हो। 

अनुसन्धानका लागि आवश्यक पर्ने पूर्वाधार विकास गर्न राज्य तत्पर हुन जरुरी देखिएको छ। आगामी वर्षको नीति तथा कार्यक्रममा रोग रोकथाम तथा नियन्त्रणका लािग सेन्टर फर डिजिज कन्ट्रोलको स्थापना गर्ने कुरा त उल्लेख छ। तर नेपाल सरकारले विषयगत रुपमा काम गर्ने निकायहरुलाई खोज अनुसन्धान कार्यमा प्रोत्साहन गर्नुपर्छ। सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गत अनुसन्धान विभाग वा महाशाखाको तत्काल व्यवस्था गरी आवश्यक जनशक्ति र विज्ञहरुको उच्चस्तरीय संयन्त्र निर्माण गर्न उपयुक्त देखिन्छ।

(डा तामाङ निक साइमन्स इन्स्टिच्युटसँग आवद्ध जनस्वास्थ्यकर्मी र अनुसन्धानकर्ता हुन्।)
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने