काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पस कीर्तिपूरका दुईजना प्राध्यापकहरु सेवा निवृत भएसंगै आयुर्वेद क्याम्पस प्राध्यापक विहिन भएको छ।
गत महिना आयुर्वेद क्याम्पस शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा. देवबहादुर रोक्का र यसै साता प्राडा. चन्द्रराज सापकोटाले सेवाबाट अवकाश प्राप्त भएसंगै आयुर्वेद क्याम्पस प्रध्यापक विहिन भएको छ।
हाल नेपालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत २ वटा कलेज र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत ३ वटा कलेजमा आयुर्वेद स्नातक तह बीएएमएसको पठनपाठन हुन्छ। आयुर्वेद क्याम्पस कीर्तिपुरमा भने आयुर्वेद चिकित्सातर्फको स्नातकोत्तर एमडि . (कायचिकित्सा)को समेत अध्यापन हुने गरेको छ।
पछिल्लो समय पालैपालो प्राध्यपकहरु सेवाबाट निवृत हुँदै जाने र क्याम्पस प्राध्यापक विहिन हुँदै जाँदा स्नातकोत्तर तहको अध्ययनअध्यापनमा समस्या हुने देखिएको छ। नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले प्राध्यापकको अभावमा पठनपाठनमा समस्या हुने भएकाले त्रिविले तत्काल त्यसको व्यवस्थापन गर्नुपर्ने बताए। यद्यपि यो समस्या आयुर्वेद क्याम्पस कीर्तिपुरको मात्र नभई आयुर्वेद विषय अध्ययन(अध्यापन गराउने अन्य क्याम्पसहरुमा पनि विद्यमान रहेको जानकारहरु बताउछन्।
‘पर्याप्त शैक्षिक जनशक्तिको अभावमा गुणस्तरीय शिक्षा प्रदान हुने कुरै भएन,’ नेपाल आयुर्वेद विद्यार्थी समाजका अध्यक्ष डा. लोचन आचार्य भन्छन्,‘कलेजहरुमा शिक्षकको संख्या मात्रै होइन अन्य पूर्वाधारहरु पनि पुगेको छैन। यस विषयमा नियमनकारी निकायहरुले ध्यान दिनैपर्दछ।’ नेपाल आयुर्वेद चिकित्सा परिषद्का सूचना अधिकारी दीपक भण्डारीका अनुसार हाल नेपालमा आयुर्वेदतर्फ जम्मा १०३ जना विशेषज्ञ चिकित्सकको रुपमा दर्ता छन् । तर, आधुनिक चिकित्सातर्फ भने गत वर्षको डिसेम्बरसम्म मात्रै ७१८५ जना नेपाल चिकित्सा काउन्सिलमा विशेषज्ञ चिकित्सकको रुपमा दर्ता छन्।
नेपालमा आयुर्वेद शिक्षाको विद्यमान समस्याहरुबारे सुझाव दिनको लागी त्रिविले अध्ययन समिति पनि गठन गरेको थियो। हालै सेवा निवृत्त भएका प्राडा. चन्द्रराज सापकोटाकै संयोजकत्वमा गठित कार्यदलले क्याम्पसमा रहेको शैक्षिक जनशक्तिको कमी लगायतका समस्याहरुको कसरी सम्बोधन गर्ने भन्ने विषयमा २०७४ चैत्रमा नै त्रिभुवन विश्वविद्यालय अन्तर्गत आयुर्वेद अध्ययन संस्थान गठनको प्रारुप र प्रक्रियासम्बन्धी राय सुझावसहितको प्रतिवेदन समेत पेश भैसकेको छ।
तर, त्यसको कार्यान्वयन भने भएको छैन। प्रतिवेदनको आयुर्वेद क्याम्पसलाई आयुर्वेद अध्ययन संस्थानको रुपमा विकास गर्न सुझाव दिइएको छ। नेपाल आयुर्वेद चिकित्सक परिषद्को शिक्षण संस्थाको न्युनतम पूर्वाधार विनियम २०६३ अनुसार आयुर्वेद तर्फको स्नातक तहको कार्यक्रम संचालन गर्नको लागी विभिन्न विभागहरु गरी १३ जना प्राध्यापक, १३ जना सहप्राध्यापक र २५ जना उपप्राध्यापकको आवश्यकता पर्ने तर आयुर्वेद क्याम्पसमा भने हाल स्थायीतर्फ जम्मा ४ जना सहप्राध्यापक, ६ जना उपप्राध्यापक र करारमा ७ जना शिक्षण सहायक कार्यरत रहेका छन्।
आयुर्वेद क्याम्पसका कार्यवहाक स्ववियु सभापति डा. सरोजमणि पोख्रेलले पटकपटक क्याम्पसको दरबन्दि थप्न र रिक्त पदपूर्ति गर्न माग राख्दै आएको तर सुनुवाई नभएको बताए। उनले क्याम्पसर प्रशासनले आफुनिकट व्यक्तिलाई भर्ति गर्ने उद्देश्य विज्ञापन गरेको भन्दै करारका लागि ४ महिना अघि लिइएको परीक्षाको समेत हालसम्म नतिजा सार्वजनिक नभएको बताए।