मुख्य समाचार

कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्नु कति व्यावहारिक? [१४ बुँदे नियम सहित]

विज्ञ भन्छन्- नेपालको परिवेशमा सुरक्षित छैन, संक्रमण फैलाउने जोखिम हुन्छ

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या तीव्र गतिले बढ्दो छ। छोटो समयमा नै नेपालमा संक्रमितको संख्या ११ हजारभन्दा माथि पुगिसकेको छ। 

संक्रमितको संख्या बढेसँगै आइसोलेसनमा रहने व्यक्तिको संख्या पनि बढ्दो छ। पछिल्लो एक सातामा आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको तथ्यांकले पनि देखाउँछ। 

असार ६ गते ७ हजार ५ जना संक्रमित अस्पतालको आइसोलेसनमा थिए। २४ घण्टामा २ सय २६ आइसोलेसनमा भर्ना भएसँगै असार ७ मा आइसोलेसनमा रहने संक्रमितको संख्या ७ हजार २ सय ३१ पुग्यो। 

असार ८ सम्म आईपुग्दा ५ सय ५८ जनाले बढ्दै आइसोलेसनमा रहने व्यक्तिको संख्या ७ हजार ७ सय ८९, असार ९ मा ७ हजार ८ सय ५१,असार १० मा ८ हजार ३ सय ६६, असार ११ मा ८ हजार ४ सय ८६ र असार १२ मा ९ हजार ३० पुगेको छ। 

आइसोलेसनमा रहने संक्रमितको संख्या बढ्दो छ तर सरकारले क्षमता भने बढाउन सकेको छैन। अस्पतालहरुको सीमित क्षमता रहेको भन्दै सरकारले होम आइसोलेसनको अवधारणा पनि ल्यायो। 

स्वास्थ्य मन्त्रालयले ‘कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका’ जारी गरेको छ। जसमा होम आइसोलेसन अर्थात् घरमा राखिने आइसोलेसन सम्बन्धी विषयहरु उल्लेख गरिएका छन्।    

लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई घरमै राखी व्यवस्थापन गर्न सकिने निर्देशिकामा उल्लेख छ। यद्यपि विभिन्न मापदण्डहरुको पूर्ण पालना हुने सुनिश्चितता भएमा स्वास्थ्यकर्मीले होम आइसोलेसनका लागि निदेशन दिन सक्छन्। 

निर्देशिकाले के भन्छ ?
घरमै आइसोलेनसमा रहने संक्रमितले निर्देशिकामा उल्लेख भए बमोजिम विभिन्न नियमको पालना गर्नुपर्ने हुन्छ। नियमहरु यहाँ उल्लेख गरिएको छ :
१. हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठमा राख्ने व्यवस्था मिलाउने
२. उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामग्रीहरु परिवारका सदस्यहरु मार्फत मगाउने
३. खानपानको व्यवस्थामा विशेष सावधानी अपनाउनु पर्नेछ, जस्तै : पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खाने 
४. प्रयोग गरिएका भाडाहरु सुरक्षित रुपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने
५.स्नानघर/शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामुहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था भएमा प्रत्येक प्रयोगपछि सरसफाईमा प्रयोग हुने डिस्इन्फेक्सनले राम्रोसँग सफा गरे पश्चात मात्रै अन्य सदस्यले प्रयोग गर्ने
६. हात धुने बेसिनहरु संक्रमणको स्रोत हुनसक्ने पर्याप्त जानकारी गराई दाँत माझ्ने ब्रस लगायतका समानहरु राख्न छुट्टै बेसिनको प्रयोग गर्ने
७. धेरै प्रयोग हुने चीजहरु जस्तै ढोका, मेसिनका ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरु जुन धेरै व्यक्तिहरुले चलाउने वा छुने संभावना रहन्छ ती सामानहरुको डिस्इन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने
८. हात धुने साबुन र पानीको पर्याप्त व्यवस्था गर्नुपर्ने र सबै सदस्यहरुले समय समयमा सफा गर्ने
९. भाडाकुडा, कपडा धुनका लागि पञ्जा लगाएर धुने वा मसिनमा छुट्टै धुने र राम्रोसँग घाममा सुकाउने
१०. निजको हेरचाह र प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र निजले अनिवार्य रुपमा मेडिकल मास्क प्रयोग गर्ने
११. बढी जोखिममा रहने समूहहरु जस्तै ः दीर्घ रोगीहरु, ६० वर्ष माथिका ज्येगठ नागरिकहरु, गर्भवती तथा सुत्केरी महिलाहरुलाई निजको सम्पर्कबाट टाढा राख्नु पर्नेछ
१२. दिनमा कम्तीमा तीन पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने
१३. हरेक दिन दुई पटक आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एस.एम.एस बाट जानकारी गराउने
१४. निम्न अवस्थाहरु देखिएमा निज वा निजको हेरचाहमा संलग्न व्यक्तिले तुरुन्तै सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्नेछ ः
–    श्वासप्रश्वासमा कठिनाई भएमा
–    छाती दुखे वा भारी महसुस भएमा
–    ओठ तथा अनुहार नीलो देखिएमा
–    होस हराएमा
–    अन्य कुनै जटिल अवस्था देखिएमा 

सम्बन्धित स्वास्थ्यकर्मीले हरेक दिन फोन वा एस.एम.एसबाट बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिने र आवश्यक परामर्श दिइ अभिलेख व्यवस्थित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। 

होम आइसोलेसन उपयुक्त विकल्प हो त ? 
सरकारले होम आइसोलेनको नीति ल्याएपनि विज्ञहरुले भने यसलाई व्यावहारिक देख्दैनन्। विदेशी मुलुकमा यो सान्दर्भिक भएपनि नेपाली परिवेशमा भने होम आइसोलेसनलाई उपयुक्त विकल्प मान्न नसकिने उनीहरु बताउँछन्। 

होम आइसोलेसनले कोरोना बढ्नमा झन् सघाउ पुग्ने उनीहरुको बुझाई छ। संक्रमितलाई होम आइसोलेसनमा राख्ने सरकारको नीतिलाई उनीहरु विरोध गर्छन्। 

सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदी अधिकांश नेपालीको लागि होम आइसोलेसनमा बस्ने विकल्प उपयुक्त र सुरक्षित नभएको बताउँछन्। 

उनी भन्छन्, ‘विदेशमा लागू गरेजस्तो नेपाली परिवेशमा यो सबैका लागि संभव छैन। सम्पन्न व्यक्तिका लागि यो सुरक्षित विकल्प भएपनि अधिकांश नेपालीको हकमा यो असुरक्षित छ।’

उक्त निर्देशिकाले लक्षण नदेखिएका संक्रमितलाई घरमै आइसोलेसनमा रहन भनेको छ। तर नेपालमा देखिएका अधिकांश संक्रमित लक्षण विहीन छन्। यस्तो अवस्थामा होम आइसोलेसनमा रहने सरकारको नीतिले संक्रमण नियन्त्रण बाहिर जान सक्ने डा. सुवेदीको भनाई छ। 

उनले भने, ‘यहाँ क्वारेन्टाइन र अस्पतालको आइसोलेसनमै मानिसहरु मरिरहेका छन्। अधिकांश संक्रमित लक्षण विहीन छन्। यदी उनीहरुलाई होम आइसोलेसनमा राख्ने हो भने कोरोना फैलने र नियन्त्रण बाहिर जाने संभावना धेरै हुन्छ।’

सुरक्षित बसाईको विकल्प नभएकाहरुको उपयुक्त बसाई र स्वास्थ्य निगरानीको प्रवन्ध राज्यले नै गर्नुपर्ने उनले बताए। 

जनस्वास्थ्य विद डा. शरद वन्तले पनि होम आइसोलेसन सुरक्षित नभएको बताए। होम आइसोलेसनले संक्रमणको चेनलाई तोड्न नसक्दै बताउँदै उनले भने, ‘केही परिवारको लागि यो संभव होला। तर नेपाली परिवेश, पारिवारिक संरचना फरक छ। त्यसैले होम आइसोलेसन कत्तिको सुरक्षित हुन्छ, त्यो सोच्नैपर्छ।’

अधिकांश संक्रमित लक्षण विहीन भएकाले यसले परिवार र समुदायमा संक्रमण फैलाउने जोखिम हुने उनले बताए। 

‘यहाँ अधिकांश संक्रमित लक्षण विहीन छन्। उनीहरुले अरुलाई सार्ने संभावना सधै हुन्छ। संक्रमित व्यक्तिलाई होम आइसोलेसनमा राखे परिवार सहित समुदायमा संक्रमण फैलिने संभावना हुन्छ।’ उनले भने। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने