सन्दर्भ: भिटामिन'ए' वितरण कार्यक्रम
बिपिन कोइराला
शरीरलाई स्वस्थ-तन्दुरुस्त राख्न र उचित विकास गर्न भिटामिन महत्वपूर्ण तत्व हो। भिटामिनमध्ये पनि भिटामिन ‘ए’ अर्थात् मेडिकल भाषामा 'रेटिनोल' भनिने तत्वले हाम्रो शरीरमा विशेष महत्व राखेको हुन्छ।
भिटामिन ‘ए’ भनेको के हो?
समान्य भाषामा भन्नुपर्दा भिटामिन ‘ए’ लाई एन्टिओक्सिडेन्ट तत्वहरुको समिश्रणको रुपमा लिन सकिन्छ। जसले शरीरमा निम्न लिखित भूमिका खेल्छ:
१) आँखाको दृष्टि र देख्ने क्षमता बढाउन,
२) रोग प्रतlरोधात्मक क्षमता बढाउन,
३) शरीरमा छलाको सुन्दरता बढाउन,
४) दाँत र हड्डीको उचित विकास,
५) गर्भवती महिलामा भ्रुणको उचित विकास,
६) रगत बन्ने प्रक्रियामा मद्दत गर्न ,
भिटामिन ‘ए’ विशेषगरी कसलाई र कुन उमेर समूहलाई चाहिन्छ?
भिटामिन ‘ए’ सबै उमेर समूहलाई अर्थात् शिशुदेखि वृद्ध अवस्थासम्मका सबैलाई उत्तिकै महत्वपूर्ण छ। तर शरीरमा भिटामिन ‘ए’ को मात्रामा तल उल्लेखित समूहका मानिसले विशेष ख्याल गर्नुपर्नेहुन्छ।
१) बालबच्चा (६ महिनादेखि ५ वर्षसम्म)
२) गर्भवती
३) स्तनपान गराउने आमा
४) समयपूर्व जन्मेका शिशु
स्तनपान गर्ने उमेर समूहका बालबच्चाका लागि आमाको दूध नै भिटामिन 'ए' को मुख्य स्रोत भएकाले स्तनपान गराउने महिलाले पर्याप्त मात्रामा भिटामिन 'ए' पाइने खाद्यवस्तु खानुपर्छ।
शरीरमा भिटामिन 'ए' को मात्रामा कमी आउने कारण?
मानिसको शरीरमा भिटामिन 'ए' को मात्रामा कमी आउनुमा तल उल्लेखित कारणहरुले भूमिका खेलेको हुनसक्छ।
१) कुपोषण भएमा
२) आन्द्रामा जुका परेमा
३) अत्यधिक झाडापखाला लागेमा
४) बालबच्चामा उचित खानपान र स्तनपानको कमी भएमा
५) हरियो सागपात तथा पहेंला फलफूलको उचित सेवन नगरेमा
६) दादुरा तथा उच्च ज्वरो आएमा
७) शरीरको पाचन प्रणालीमा गडबडी भएमा
८) शरीरमा जिन्क नामक तत्वको कमी भएमा
९) अत्यधिक मात्रामा चुरोट र रक्सी सेवन गरेमा
१०) गर्भवती तथा स्तनपान गराउने महिलामा
भिटामिन ‘ए’ पाइने खाद्य वस्तु
भिटामिन ‘ए’ माछा–मासुजन्य खाद्यवस्तु तथा फलफूल र सागपातजन्य खाद्यवस्तुहरुको सेवनबाट पाउन सकिन्छ। सबैभन्दा उच्च मात्रामा भिटामिन ‘ए’ पाइने स्रोत माछाको तेल अर्थात् फिस आयल हो। यसका अलावा जनावरको कलेजो सेवनबाट पनि उच्च मात्रामा भिटामिन ‘ए’ पाउन सकिन्छ।
हामीले दैनिक रुपमा सेवन गरेमा निम्न लिखित खाद्यवस्तुबाट भिटामिन ‘ए’ पाउन सकिन्छ।
१) गाजर
२) हरियो सागसब्जी
३) दूधजन्य पदार्थ अर्थात् वटर, घिउ, चिज
४) मासु, कलेजो तथा अण्डा
५) मेवा, आँप तथा पहेंलो फलफूल
६) फर्सी, टमाटर
७) सखर खण्ड
८) ब्रो-काउली, एभोकाडो
भिटामिन ‘ए’ को बारेमा कुरा गर्दा भिटामिन ‘ए’ को कमी भएमा शरीरमा देखिने लक्षणहरु के-के हुन्छन् भन्ने पनि जान्न जरुरी हुन्छ।
भिटामिन ‘ए’ को कमी भएमा उमेरको अवस्था अनुसार तथा शरीरका अंग अनुसार विभिन्न लक्षण देख्न सकिन्छ। यी लक्षणको समयमै पहिचान गर्न सकेमा भिटामिन ‘ए’ को कमीबाट लाग्न सक्ने रोग र हुनसक्ने क्षतिबाट जोगिन सकिन्छ।
आँखामा देखिने लक्षण र अन्धोपन
भिटामिन ‘ए’ को कमी भएमा समस्या देखिने पहिलो तथा मुख्य अंग भनेको आँखा हो। भिटामिन ‘ए’ को कमीले आँखामा हुने रोगलाई मेडिकल भाषामा 'जेरोप्थाल्मिया' भनिन्छ। जेरोप्थाल्मिया भएमा निम्न खालका लक्षण देखिन्छन्:
१) रतन्धो (रतन्धो भएको मानिसले अँध्यारोमा, रातिमा तथा उज्यालोपन न्यून भएको स्थानमा आँखा नदेख्ने हुन्छ)।
२) आँखाको नानी (कर्निया) र आँखाको बाहिर हुने पारदर्शी झिल्ली अर्थात् कन्जङ्टिवाको चमक घट्ने तथा आँखा फुस्रो र सुक्खा देखिने।
३) आँखाको नानीमा सानोसानो घाउ हुने र त्यो पछि गएर ठूलो आकारको अल्सरमा परिणत हुने।
४) अल्सरसँगै आँखामा फुलो परेर अन्धोपनसम्म हुने।
छालामा देखिने लक्षण
शरीरमा छालालाई स्वस्थ र चम्किलो राख्न तथा समयमै घाउ निको पार्न महत्वपूर्ण भूमिका खेल्ने भिटामिन ‘ए’ को कमी भएमा छालाको सुन्दरतामा कमी आउने, छाला फुस्रो, सुक्खा देखिने तथा छाला चिलाउने जस्ता समस्या देखा पर्छन्।
बालबच्चामा देखिने लक्षण र ५ वर्ष मुनिका बालबच्चाको मृत्युदर
बालबच्चामा भिटामिन ‘ए’ को कमी भएमा अन्धोपन र छालामा हुने समस्याका अलावा उनीहरुको उमेर अनुसार हुनुपर्ने शारीरिक तथा मानसिक विकासमा कमी आउने हुन्छ। यसका साथै दाँत र हड्डीको पर्याप्त विकास हुन पाउँदैन। यो बाहेक भिटामिन ‘ए’ कमी भएका ५ वर्ष मुनिका बालबच्चाको मृत्युदर अरु बच्चाको तुलनामा ४ गुणा उच्च हुने गरेको छ।
नेपालमा सन् १९९३ पूर्व ५ वर्ष मुनिका बालबच्चाको मृत्युदर उच्च थियो जसको एउटा कारण भिटामिन ‘ए’ को कमी पनि हो। १९९३ देखि सरकारले भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियान सुरु गरेपछि ५ वर्षमुनिका बालबच्चाको मृत्युदर क्रमश: घट्दो छ।
रोग प्रतिरोधात्मक क्षमता
भिटामिन ‘ए’ को कमी भएमा बालबच्चाको मात्र नभई युवा र वृद्ध अवस्थाका मानिसको पनि रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने र पटकपटक शरीरमा रोगले सताउने गर्छ।
प्रजनन् स्वास्थ्यमा देखिने लक्षण
विज्ञहरुका अनुसार भिटामिन ‘ए’ को कमीले गर्दा कहिलेकाहीँ मानिसको प्रजनन् स्वास्थ्यमा पनि असर देखिन्छ। जसमा दुवै महिला र पुरुषमा नि:सन्तानपन देखिने र भ्रुणको पर्याप्त विकास नहुने, पेटमा बच्चा खेर जाने जस्ता लक्षण देखिन्छन्। तर अनुसन्धानलाई आधार मान्दा यस्तो समस्या कमै मानिसमा देखिन्छ।
भिटामिन ‘ए’ को कमीबाट बच्ने उपाय
खानपानमा सुधार गरेमा र तल दिइएका सुझाव अनुसरण गरेमा भिटामिन ‘ए’ को कमीबाट जोगिन सकिन्छ।
१) खानपानमा सुधार जसमा माथि उल्लेखित खाद्यवस्तुको सेवन गर्ने,
२) बालबच्चालाई कुपोषणबाट बचाउने र ३ वर्ष मुनिका बच्चालाई पर्याप्त मात्रामा स्तनपान गराउने,
३) गर्भवती र स्तनपान गराउने आमाहरुले भिटामिन ‘ए’ युक्त खाद्यवस्तुको पर्याप्त मात्रामा सेवन गर्ने र चिकित्सकको सल्लाह अनुसार भिटामिन ‘ए’ क्याप्सुलको सेवन गर्ने,
४) बालबच्चालाई (६ महिनादेखि ५ वर्ष) भने कम्तीमा वर्षको दुई पटक भिटामिन ‘ए’ क्याप्सुल खुवाउने,
सरकारले २०७७ असार २२ र २३ गते देशका सबै स्थानीय तह अन्तर्गतका वडाहरुमा महिला स्वास्थ्य स्वयंसेविकाका माध्यमबाट भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम राखेको छ। त्यसैले आफ्नो घर र समाजमा भएका ६ महिनादेखि ५ वर्षसम्मका बालबच्चालाई नजिक पर्ने स्थानमा लगेर भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुहोला।