काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पताल, जसले ९६ जना कोरोना संक्रमितको सफल उपचार गरिसकेको छ। यो अस्पतालबाट ९६ जना स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् भने ४ जना कोरोना संक्रमित अझै उपचाररत छन्।
विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै लुम्बिनी प्रादेशिक अस्पतालले आफ्नो तयारी सुरु गरेको थियो। नेपालमा कोरोना संक्रमण फैलिए कहाँ उपचार गर्ने भन्ने समस्या नआओस् भनेर अस्पतालले सुरुमै छुट्टै कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको बताउँछन्, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनाल।
नेपालमा कोरोना विशेष अस्पताल बनाएर संक्रमितको उपचार सुरु गर्ने पहिलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल नै भएको दावी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा खनालको छ।
डा खनालका अनुसार यहाँको कोरोना अस्पतालमा ३६ वटा आइसोलेसन वार्ड रहेका छन्, जसमा ८ वटा आइसियु बेड छन् भने ४ वटा शय्यामा भेन्टिलेटर जडान गरिएको छ। त्यति मात्र होइन, अस्पतालले कोरोना संक्रमितको उपचार गर्न भनेर सुरुदेखि नै अस्पतालमा रहेका ५ सय कर्मचारीमध्ये १०० जनालाई तयारी अवस्थामा राखेको थियो।
‘नेपालमा संक्रमण नआउँदै हामीले कोरोना उपचारका लागि अस्पताल तयारी अवस्थामा राखेका थियौं। चिकित्सक, स्वास्थ्यकर्मी, नर्सलगायत अन्य कर्मचारीसहित १०० जनाको टिम बनाएका थियौं,’ उनले अनुभव सुनाए, ‘नेपालमा कोरोना संक्रमण भेटिएमा कसरी उपचार गर्ने, संक्रमितको मृत्यु भयो भने कसरी व्यवस्थापन कसरी गर्ने भनेर तालिम दिएका थियौं।’
डा खनालका अनुसार अस्पतालमा पहिलो पटक संक्रमित वैशाख १९ गते आएका थिए। संक्रमितको स्वास्थ्य अवस्था समान्य थियो। केही दिन आइसोलेसनमा उपचारपछि कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनी घर फर्किएका थिए। पहिलो संक्रमित भर्ना भएको ठिक एक महिनापछि अस्पतालमा गम्भीर प्रकारका संक्रमित भर्ना भएका थिए। जेठ १९ गते अस्पतालमा भर्ना भएका ती बिरामीलाई केही दिन भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको उनी बताउँछन्।
त्यसपछि अस्पतालमा संक्रमितको संख्या बढ्न थाल्यो। अहिलेसम्म अस्पतालले १०० जनाभन्दा बढी संक्रमितको उपचार गरिसकेको छ। तीमध्ये ४ जनालाई आइसियुमा राखेर उपचार गर्नु परेको डा खनाल बताउँछन्।
९६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ४ जना अस्पतालमा उपचाररत छन्। उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।
सुरुमा संक्रमित आउँदा अस्पतालका सबै कर्मचारी डराएका थिए। उनीहरुको मनोबल बलियो राख्न अस्पतालले परामर्श दिनुपरेको थियो। संक्रमित उपचारपछि निको भएर घर फर्किन थालेपछि भने कर्मचारीमा भएको डर पनि विस्तारै हराउँदै गएको डा खनाल बताउँछन्।
‘विश्वमा कोरोनाका कारण लाखौं मानिसले ज्यान गुमाएका थिए, स्वास्थ्यकर्मीको मृत्युका खबरहरु पनि आइरहेका बेला हाम्रो अस्पतालमा पनि संक्रमित आएपछि सुरुमा डर लागेकै हो,’ उनले सम्झिए, ‘तर अस्पताल पहिलेदेखि संक्रमितको उपचारका लागि तयारी अवस्थामा थियो। कर्मचारीमा केही मात्रामा डर भए पनि आफूले पाएको जिम्मेवारीप्रति प्रतिवद्ध थिए।’ अस्पतालले पहिलादेखि नै कोरोना उपचारका लागि तयारी गरेकाले पनि संक्रमितको उपचारका लागि समस्या नभएको डा खनाल सुनाउँछन्।
कोरोना अस्पतालको आइसोलेसनमा खटिएका ३ जना कर्मचारीमा कोरोना परीक्षण गर्दा संक्रमण भेटिएको थियो तर अहिले उनीहरु उपचारपछि निको भएर काममा फर्किसकेका छन्।
मेसु खनालका अनुसार अस्पतालले आइसियुमा बसेकाहरुलाई २४ घन्टा निगरानीका लागि चिकित्सक, नर्सको टोली खटाउने गरेको छ। त्यस्तै आइसोलेसनमा बसेकाहरुलाई सिसिटिभीबाट निगरानी गर्ने र फोनमार्फत उनीहरुको हालखबर बुझ्ने गरेको छ। अत्यावश्यक भएमात्रै स्वास्थ्यकर्मी वार्डमा छिर्ने व्यवस्था गरेको उनी बताउँछन्।
स्टाफले पिपिई लगाएर ६÷६ घन्टा ड्युटीमा खटिँदा सुरुमा केही गाह्रो भएको गुनासो कर्मचारीले डा खनाललाई सुनाउँथे। उनी भन्छन्, ‘आइसोलेसनमा खटिनेहरुलाई भन्दा फिवर क्लिनिकमा बस्ने, आइसियुमा खटिने, इमर्जेन्सीमा खटिने स्टाफलाई सुरुमा निकै गाह्रो भयो। पिपिई लगाएर ६ घन्टाभन्दा बढी ड्युटीमा खटिँदा सुरुसुरुमा सिकसिक हुने, जिउ चिलाउने, श्वास फेर्न गाह्रो भएको महसुस हुन्थ्यो। पछिपछि बानी पर्दै गयो।’
अस्पतालले कोरोना संक्रमितको उपचारमा खटिएका कर्मचारीहरुलाई १ हप्ता काम गर्ने, २ हप्ता क्वारेन्टाइनमा बस्ने र पिसिआर परीक्षण गरिसकेपछि रिपोर्ट नेगेटिभ आयो भने एक हप्ता छुट्टी दिने व्यवस्था गरेको छ।
सुरुमा अस्पतालमा पिसिआर परीक्षणको लागि अनुमति नदिएकोले स्वाब संकलन गरेर भैरहवा पठाउनुपर्ने बाध्यता थियो। जसका कारण रिपोर्ट आउन ढिलाइ हुँदा परीक्षण गरिएका व्यक्ति आत्तिने गर्थे। तर अहिले अस्पताललाई परीक्षणको लागि अनुमति दिइसकेपछि सहज भएको डा खनाल बताउँछन्।
अस्पतालले उपचारमा खटिएका स्टाफहरुलाई होटलमा क्वारेन्टाइन बनाएर राखेको छ। सुरुवाती दिनमा होटलमा राख्न पनि निकै गाह्रो भएको थियो। ‘सुरुमा कोरोना देखियो भन्दा सबै जना त्रसित थिए। स्टाफलाई क्वारेन्टाइनमा राख्न होटल बुझ्न जाँदा रुम खाली छैनन् भनेर फर्काइदिन्थे,’ उनले सुरुवाती दिनमा भोगेको अपठ्यारो सुनाउँदै भने, ‘अरु मान्छेहरु पनि हाम्रो नजिक आउन नचाहने, टाढाटाढा भाग्न खोज्ने। तर अहिले भने त्यस्तो अवस्था छैन।’
सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरुलाई दिने भनेको अतिरिक्त सुविधा समयमै नपाएको गुनासो अस्पतालको छ। ‘आफ्नो ज्यानको बाजी लगाएर काम गर्नुपर्छ तर सरकारले आफैंले घोषणा गरेको अतिरिक्त सुविधा समयमै नपाउने समस्या छ,’ डा राजेन्द्रले भने, ‘यसले गर्दा कर्मचारीमा मनोबल घट्दै जान्छ।’
स्वास्थ्य निर्देशनालय बुटवलका निर्देशक डा विनोदकुमार गिरीका अनुसार अहिले प्रदेश ५ मा १ हजार ७ सय ९४ वटा क्वारेन्टाइन छन्, जसमा ५५ हजार १ सय २७ बेड रहेका छन्। अहिले ५ हजार १ सय ६ जना क्वारेन्टाइनमा बसेका छन्। प्रदेश ५ मा विभिन्न ठाउँ गरेर १ सय ५३ वटा आइसोलेसन सेन्टर छन्, जसमध्ये लुम्बिनी प्रादेशिक अस्पताल पनि एक हो।