सरकारले १२० दिनपछि लकडाउन पूर्णरुपमा हटाएको छ। लकडाउन हटेसँगै बन्द रहेका कार्यालयहरु पनि खुल्न थालेका छन्। लकडाउन अवधिमा धेरैजसो कार्यालय बन्द थिए भने संचालन भएका अधिकांश कार्यालयको काम पनि घरबाटै भइरहेका थिए। कार्यालय जानैपर्ने प्रकृतिका कामका हकमा भने सकेसम्म कम संख्यामा कर्मचारी र सेवाग्राही जाने व्यवस्था मिलाइएको थियो। तर लकडाउन हटाइएसँगै कार्यालयहरुमाभीडभाड बढ्न थालेको छ।
जनस्वास्थ्यका दृष्टिकोणले अझैपनि हामी कोरोना भाइरसको जोखिममा नै छौं। लकडाउन अन्त्यभएपनि कोरोना भाइरस संक्रमणको जोखिम हटिसकेको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनस्वास्थ्यमा जोखिम हुँदाहुँदै पनि सामाजिक असहजता हटाउन लकडाउन अन्त्य गरिएको बताए। उनले कार्यालयमा काम गर्दा मन्त्रालयले जारी गरेको मादपण्डलाई पालना गर्न अनुरोध गरे।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियर पनि मानिसहरूले धेरैजसो समय कार्यक्षेत्रमा बिताउने भएकाले कार्यक्षेत्र संक्रमणको जोखिम हुने संभावित स्थानमध्ये एक भएको बताउँछन्।
उनले भाइरस संक्रमण हुने जोखिम अन्य स्थान जस्तै कार्यक्षेत्रमा पनि हुने भएकालेसंभावित संक्रमणकम गर्न अन्यस्थानमा रहँदा अपनाइने जस्तै सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताए।
अन्य मानिसबाट कम्तीमा एक मिटरको दूरी कायम गर्नु, नियमित रूपमा हात धोइरहनु, खोक्दा वा हाच्छ्युँ गर्दा अरु व्यक्तिबाट अलि टाढा गएर रुमाल, टिस्यू पेपर वा कुहिनोले मुख छोप्नु संक्रमणको जोखिम कम गर्न धेरै नै महत्वपूर्ण हुने भ्यान्देलियरको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले कोरोनाको संभावित संक्रमणबाट जोगिन‘जनस्वास्थ्यका मापदण्ड २०७७’ कार्यान्वयनमा ल्याएको छ।
उक्त मापदण्डमा विशेषगरी, भौतिक दूरी कायम राख्न, मास्कको प्रयोगमा र हातको सरसफाईमा जोड दिइएको छ।
मापदण्डमा सबै किसिमको जमघट र भेलाहरूमा कम्तीमा २ मिटर वा ६ फिटको दूरी अनिवार्य रुपमा कायम गर्नुपर्ने, घरबाहिर जाँदा अनिवार्य रुपमा सर्जिकल वा तीन तहको कपडाको मास्क लगाउनुपर्ने, सबै सार्वजनिक स्थल तथा कार्यालयले परिसरमा हात धुन साबुनपानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने कुरा उल्लेख छ।
यसका साथै अनावश्यक वस्तु तथा सतह नछुन, अनुहारको टी क्षेत्र अर्थात् आँखा, नाक र मुखलाई अनावश्यक रुपमा नछुन, सार्वजनिक स्थलमा जथाभावी नथुक्न, सम्भव भएसम्म पैसाको कारोबार गर्दा विद्युतीय कारोबार गर्न आग्रह गरिएको छ। यस्तै, खोक्दा वा हाच्छ्यूँ गर्दा सकेसम्म रुमाल वा टिस्यु पेपरले मुख छोप्ने, सम्भव नभएकुहिनाले छोप्ने, ज्वरो, खोकी तथा श्वासप्रस्वासको समस्या भएका व्यक्तिहरुले सकभर जनसम्पर्कमा नजाने, आउने परेको खण्डमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नेलगायतका कुराहरु मापदण्डमा उल्लेख छ।
कोरोना भाइरसको संक्रमण तत्कालै नहट्ने भएकाले अबका दिनमा कोरोनासंगै बाँच्न सिक्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सर्तकताका साथ जनजीवन सरलीकरण गर्न जनस्वास्थ्य विज्ञहरूले पनि सुझाव दिएका छन्।