सरकारले जनस्वास्थ्यमा जोखिम हुँदाहुँदै पनि सामाजिक जीवन सहज बनाउन लकडाउन हटाएको जनाएको छ। लकडाउन हटाइएसँगै सामाजिक चलहपहल बढ्दो छ। कार्यालय, कलकारखाना, सपिङ मल तथा अन्य मानिसको चलहपहल हुने स्थानहरु खुलिसकेका छन्। यस्ता स्थानमा कोरोनाको जोखिम कम गर्न मानिसको तापक्रम नाप्ने, स्यानिटाइजर वा साबुन–पानीले हात धुने व्यवस्था मिलाइएको देखिन्छ।
ज्वरो कोरोना भाइरस संक्रमणको प्रमुख लक्षणमध्ये एक हो। लक्षण भएका व्यक्ति वा अन्य व्यक्तिमा कोरोना तीव्र रुपमा सर्ने भएकाले ज्वरो जाँच गर्दा कसैलाई ज्वरो आएको भए उपचार गर्न सहज हुन्छ।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियर पनि कोभिड–१९ का लक्षणमध्ये ज्वरो आउनु पनि एक भएकाले कार्यालयमा प्रवेश गर्नुअघि ज्वरो नाप्ने प्रचलन पनि यसैबाट सुरु भएको बताउँछन्।
उनले सबै कोरोना संक्रमितमा ज्वरो आउने लक्षण नहुने भएकाले कार्यक्षेत्रमा अन्य सुरक्षाका उपाय भनेको शारीरिक दूरी कायम गर्नु, आवश्यकताअनुसार मास्क लगाउनु, नियमित रूपमा साबुन–पानीले हात धुनु, विभिन्न पदार्थको सतहलाई सरसफाइ गर्नु, खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनोको सहायताले नाकमुख छोप्नु आदि हुन्। यी उपाय निरन्तर रूपमा अवलम्बन गरिरहनुपर्नेमा उनले जोड दिए।
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की पनि कार्यालयहरुमा तापक्रम जाँच गर्ने व्यवस्था अनिवार्य भएको बताउँछन्। उनले कोरोनाका लक्षणमध्ये ज्वरो पनि प्रमुख लक्षण भएकाले तापक्रम जाँच गर्दा कसैलाई ज्वरो आएको भए तुरुन्त उपचार गर्न र अन्य व्यक्तिबाट अलग राख्न सकिने बताए।
स्वास्थ्य मन्त्रालयले कोरोनाको सम्भावित संक्रमणबाट जोगिन ल्याएको ‘जनस्वास्थ्यका मापदण्ड २०७७ मा पनि भौतिक दूरी कायम राख्न, मास्कको प्रयोगमा र हातको सरसफाइमा जोड दिएको छ।
उक्त मापदण्डमा प्रत्येक दिन कार्यालयको कार्य आरम्भ गर्दा पहिला अनिवार्य रुपमा थर्मोमिटरबाट ज्वरो जाँच गर्नुपर्ने र १०० दशमलव ४ फरेन्हाइट भन्दा बढी तापक्रम भएमा काममा नलगाउने व्यवस्था गरेको छ।
मापदण्डमा सबै किसिमको जमघट र भेलाहरूमा कम्तीमा २ मिटर वा ६ फिटको दूरी अनिवार्य रुपमा कायम गर्नुपर्ने, घरबाहिर जाँदा अनिवार्य रुपमा सर्जिकल वा तीन तहको कपडाको मास्क लगाउनुपर्ने, सबै सार्वजनिक स्थल तथा कार्यालयले परिसरमा हात धुन साबुन–पानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने कुरा उल्लेख छ।
यसका साथै अनावश्यक वस्तु तथा सतह नछुन, अनुहारको टी क्षेत्र अर्थात् आँखा, नाक र मुखलाई अनावश्यक रुपमा नछुन, सार्वजनिक स्थलमा जथाभावी नथुक्न, सम्भव भएसम्म पैसाको कारोबार गर्दा विद्युतीय कारोबार गर्न आग्रह गरिएको छ। यस्तै, खोक्दा वा हाच्छ्युँ गर्दा सकेसम्म रुमाल वा टिस्यु पेपरले मुख छोप्ने, सम्भव नभए कुहिनाले छोप्ने, ज्वरो, खोकी तथा श्वासप्रस्वासको समस्या भएका व्यक्तिहरुले सकभर जनसम्पर्कमा नजाने, आउने परेको खण्डमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नेलगायतका कुराहरु मापदण्डमा उल्लेख छ।
कोरोना भाइरसको संक्रमण तत्कालै नहट्ने भएकाले अबका दिनमा कोरोनासंगै बाँच्न सिक्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सर्तकताका साथ जनजीवन सरलीकरण गर्न जनस्वास्थ्य विज्ञहरूले पनि सुझाव दिएका छन्।