काठमाडौं– चीनको वुहानबाट डिसेम्बर अन्तिमतिर सुरु भएको कोरोना भाइरसले विश्व महामारीको रुप लिँदै थियो। नेपालमा पनि त्यसको असर विस्तारै देखापर्दै थियो।
कोरोना भाइरस फैलिएको सुरुवाती दिनमै नेपाल सरकारले महामारी नियन्त्रणका लागि सूक्ष्म तरिकाबाट तयारी गरिरहेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएको थियो।
मन्त्रालयको निर्देशन अनुसार सुरुवाती चरणमै कोरोना भाइरस नियन्त्रणको तयारी थाल्ने अस्पतालमध्ये एक हो, चितवनस्थित भरतपुर अस्पताल। यो अस्पतालले कोरोना संक्रमितको उपचारका लागि आजभन्दा सात महिनाअघिदेखि तयारी थालेको थियो।
पर्यटकको धेरै आवातजावत हुने जिल्ला हो चितवन। त्यसैले यहाँ कोरोना संक्रमणको जोखिम बढी हुने भएकाले त्यतिबेलै माहामारी नियन्त्रणको पूर्वतयारी सुरु गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी बताउँछन्।
अस्पतालले रोगको बारेमा अध्ययन गर्न दुई जना फिजिसियन खटाएको थियो। सबै कर्मचारीलाई रोगबारे जानकारी दिने र बुझाउने उनीहरुको जिम्मेवारी थियो।
सुरुवाती दिनमा अस्पतालले कोरोना संक्रमितको उपचारको लागि पाँच शय्याको आइसोलेसन वार्ड सञ्चालन गरेको थियो।
मेसु तिवारी भन्छन्, ‘चितवनमा पर्यटकको आवतजावत बढी हुने हुँदा यदि देखिइहाले उपचार गर्ने उद्देश्यले अस्पतालमा पाँच शय्याको आइसोलेसन सञ्चालन गरेका थियौं र दुई जना स्टाफ खटाएका थियौं।’
त्यति मात्र होइन, अस्पतालले ज्वरो, रुघाखोकीका बिरामीलाई छुट्टै ओपिडी टिकट काट्ने ठाउँको समेत व्यवस्था गर्यो।
अस्पतालले पुसदेखि पूर्वतयारी थाले पनि वैशाख ५ गते मात्र पहिलो संक्रमित भर्ना भएको मेसु तिवारीले जानकारी दिए। त्यसपछि संक्रमितको संख्या बढ्दै गयो। अस्पतालले पनि आवश्यकता अनुसार पाँच शय्याबाट १४ शय्या थप गर्यो।
त्यसको करिब डेढ महिनापछि संक्रमितको चाप बढ्न थालेसँगै अस्पतालले ७५ शय्याको आइसोलेसन वार्ड र १० शय्याको आइसियु विस्तार गरेको मेसु तिवारी बताउँछन्।
उनका अनुसार अहिलेसम्म भरतपुर अस्पतालमा १ सय १५ जना संक्रमित भर्ना भएका छन्। जसमध्ये १६ महिला र ९९ जना पुरुष थिए। कुल संक्रमितमध्ये दुई जनाको मृत्यु समेत भएको अस्पतालको तथ्यांक छ।
गर्भवतीसहित ७९ जना संक्रमितलाई निको बनाएर घर पठाउन यो अस्पताल सफल भएको छ। १६ जना संक्रमित हाल पनि आइसोलेसनमा उपचाररत छन्।
कोरोनाको त्रासले काममा खटाउन गाह्रो
रोगको बारेमा सुरुदेखि नै जानकारी गराए पनि कर्मचारीलाई कोरोना संक्रमितको उपचारमा खटाउन मेसु तिवारीलाई गाह्रो परेको थियो। किनभने त्यो कोरोनाको त्रासले सबैको मनमा डेरा जमाएको थियो।
उनी भन्छन्, ‘पहिलेदेखि रोगको बारेमा जानकारी गराएको भए पनि ड्युटीमा खटाउने बेलामा मलाई साह्रै गाह्रो हुन्थ्यो। धेरैजसोले मलाई ड्युटीमा नराखिदिए हुन्थ्यो जस्तो गर्थे। कुनै कुनै स्टाफ त मेरो सानो बच्चा छ, मलाई दीर्घरोग छ, जस्ता विभिन्न बहाना लिएर आउँथे।’
विस्तारै कोरोना संक्रमितको उपचार गर्छु भन्दै आउने चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सहरु बढ्दै गएकाले आफूलाई संक्रमितको उपचारमा कर्मचारी खटाउन सहज भएको तिवारी बताउँछन्।
संक्रमितको उपचारका लागि दुई वटा टिम
अस्पतालमा संक्रमितको उपचारको लागि अस्पतालले चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र अन्य कर्मचारी गरी १७/१८ जनाको दुई वटा टिम बनाएको छ।
एउटा टोलीले दुई हप्तासम्म पालैपालो सेवामा खटिने व्यवस्था अस्पतालले मिलाएको छ। उनीहरु दुई हप्तासम्म ड्युटी गरिसकेपछि क्वारेन्टाइनमा बस्छन्। त्यसपछि उनीहरुको पिसिआर परीक्षण हुन्छ। पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आए मात्र घर जान पाउने व्यवस्था अस्पतालले गरेको छ।
अस्पतालले संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई होटलमा बस्ने व्यवस्था गरेको तिवारीले जानकारी दिए।
पिपिईको अभाव भएन
देशभरि नै पिपिईको अभाव भएको बेलामा पनि भरतपुर अस्पतालले समितिबाट बजेट छुट्याएर ७० लाख बराबरको पिपिई खरिद गरेको थियो। त्यसैले पनि अस्पतालमा पिपिईको अभाव नभएको मेसु तिवारी बताउँछन्।
विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गरेर स्वास्थ्यकर्मी तथा चिकित्सक उपचारमा खटिएको अस्पतालको भनाइ छ। त्यसैले हालसम्म यस अस्पतालका कुनै पनि कर्मचारीमा कोरोना संक्रमण नभेटिएको उनले बताए।
उनले भने, ‘सबै कर्मचारीले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पिपिई लगाएर काम गरेका छन्। सरसफाइ गर्नेदेखि उपचारमा खटिने टिमलाई पिपिई लगाउन लगाउने सही तरिकाबारे तालिम दिएकोले अहिलेसम्म कोही पनि संक्रमित भएका छैनन्।’
उनी थप्छन्, ‘नर्सहरुले कतिपय कोरोना संक्रमितलाई सिपिआर दिएर बचाएका घटना पनि छन्। सुरक्षा अपनाएकोले संक्रमण हुन पाएको छैन।’
अस्पतालले संक्रमितको उपचारको लागि सिसिटिभीबाट निगरानी गर्छ र टेलिफोनको सम्पर्कबाट स्वास्थ्य अवस्था पनि बुझ्ने गर्छ।
मन्त्रालयले कोरोना संक्रमितको उपचारमा खटिएकाहरुलाई जोखिम भत्ता दिने भनेको भए पनि अहिलेसम्म भरतपुर अस्पतालमा जोखिम भत्ता नआउँदा उपचारमा खटिएका कर्मचारीको मनोबल कमजोर बन्दै गएको मेसु तिवारी बताउँछन्।
अस्पताललाई पिसिआर परीक्षणको अनुमति दिएसँगै अहिलेसम्म ८ हजारभन्दा बढी परीक्षण भएको मेसु तिवारीले जानकारी दिए।
हाल भरतपुर अस्पतालमा कोरोना संक्रमितको उपचार हुने गरे पनि यसअघि त्यहाँ अस्थाई कोरोना अस्पताल थियो। भरतपुर महानगरपालिकाले उक्त अस्पताल ७२ घन्टाभित्र निर्माण गरेको थियो। तर हाल यो अस्पताल विविध कारणले बन्द छ। हाल चितवनका विभिन्न क्वारेन्टाइनमा तीन सय जना छन्।