काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै मुलुकभरका अस्पतालले आफ्नै तरिकाले तयारी सुरु गरिसकेका थिए। कुनै अस्पतालले आफ्नै अस्पतालको भवनलाई संक्रमितको उपचारको लागि आइसोलेसन बनाए भने कतिपयले छुट्टै अस्थायी कोरोना संक्रमितको अस्पताल बनाएर उपचार सुरु गरे।
देशभर कोरोना संक्रमितको उपचार गर्ने अस्पतालमध्ये एक हो, बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल। प्रदेश सरकारको निर्णय अनुसार भेरी अस्पतालले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसोलेसन बनाएर कोरोना संक्रमितको उपचार गरिरहेको छ।
अस्पतालमा ३० बेडकोे आइसोलेसन वार्ड बनाएर कोरोना संक्रमितको उपचार गर्दै आइरहेको बताउँछन्, भेरी अस्पतालका फिजिसियन तथा कोभिड–१९ फोकल पर्सन डा संकेत रिसाल।
‘भेरी अस्पतालले संक्रमितको भर्ना गर्दैन, तर प्रदेश सरकारको निर्णय अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दै आएका छौँ,’ उनले भने।
भेरी अस्पतालको मातहत रहेको कोरोना अस्पतालमा शुक्रबारसम्म ४ सय ५ जना संक्रमित भर्ना भइसकेका छन्। तीमध्ये ३ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किसकेका छन् भने ३० जना अस्पतालको आइसोलेसनमा उपचाररत छन्।
अस्पतालले कोरोना संक्रमितको उपचारको निम्ति पहिलेदेखि नै तयारी सुरु गरेको रिसाल बताउँछन्। ‘हामीले नेपालमा कोरोना देखिनासाथ आफ्नो तयारी सुरु गरेका थियौँ,’ उनले सुरुवाती दिन सम्झिँदै भने, ‘अस्पतालमा ६ बेडको आइसोलेसन तयारी अवस्थामा राखेका थियौं। संक्रमित अस्पताल आएमा उपचार गर्न अस्पतालले सबै तयारी गरेको थियो। हामीले सम्पूर्ण कर्मचारीलाई कोरोनाका बारेमा जानकारी दिएर उनीहरुलाई काम गर्न मनोवैज्ञानिक रुपमा तयार राखेका थियौंै।’
भारतसँग सीमा जोडिएको जिल्ला हो बाँके। भारतबाट फर्किने नेपालीको संख्या बढेसँगै बाँकेमा पनि भीडभाड बढेको थियो। भारतमा कोरोना संक्रमण व्यापक भइरहेकाले अस्पतालले नेपाल प्रवेश गर्ने व्यक्तिको सम्भावित कोरोना परीक्षणका लागि सीमानाकामा ज्वरो क्लिनिक सञ्चालन गर्नुका साथै कोरोनाबारे जनचेतना फैलाउने काम गरेको रिसालले बताए।
प्रदेश सरकारको निर्णय अनुसार क्यान्सर अस्पतालमा संक्रमितको उपचार गर्न सुरु गरेदेखि नै अस्पतालले एमबिबिएस तहका चिकित्सक, फिजिसियनको नेतृत्वमा स्वास्थ्यकर्मी, नर्स र अन्य अस्पतालका कर्मचारी कोरोना अस्पतालमा संक्रमितको उपचारमा खटाएको रिसालले जानकारी दिए।
भेरी अस्पतालले नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा कोरोना उपचारका लागि सम्भव भएको रिसाल बताउँछन्। ‘अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको खाना, उनीहरुको हेरचार, उपचारको सम्पूर्ण जिम्मा भेरी अस्पतालले लिएको छ,’ उनले भने।
अस्पतालले संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना अस्पतालमै बस्ने व्यवस्था गरेको छ। रिसालका अनुसार अहिलेसम्म संक्रमितको उपचारमा खटिएका र अन्य अस्पतालका कर्मचारी कसैमा पनि कोरोना संक्रमण भेटिएको छैन। अस्पतालले संक्रमितको उपचारको लागि छुट्याएको आइसोलेसन बेडमा कोरोनाका शंकास्पद बिरामीलाई राख्ने गरिएको छ।
‘भेरी अस्पतालले आइसोलेसनमा राखिएका व्यक्तिहरुको पिसिआर परीक्षण गर्दा पोजेटिभ आयो भने कोरोना अस्पताल भर्ना गर्ने गरेको छ,’ उनले भने, ‘नेगेटिभ आए हामीले घर पठाइदिन्छौं।’
संक्रमितको सम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्ला प्रशासन कार्यालयको संयोजनमा गर्दै आएको छ। ‘कोरोना संक्रमित व्यक्ति भेटिए उनको कन्ट्याक्ट ट्रेसिङको काम व्यापक रुपमा गर्दै आएका छौं, रिसालले भने, ‘यसका लागि जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेका छौं।’ उनले कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको पिसिआर परीक्षण हुने गरेको जनाए। अहिलेसम्म अस्पतालले १० हजार ९ सय २४ जनाको पिसिआर परीक्षण गरिसकेको छ।