कोभिड-१९ विशेष

हामी रोबोट होइनौं, ज्यानको माया हामीलाई पनि छ

कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन पनि नर्सले नै गर्नुपर्छ

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ। पछिल्लो समयमा गम्भीर खालका बिरामीको संख्या बढ्दो क्रममा छ भने मृत्युदर पनि बढिरहेको छ। गम्भीर भई भेन्टिलेरमा उपचार गराइरहेका धेरै बिरामी निको भएका छैनन्। कतिपयले कोभिडसँग अन्तिम संघर्ष गरिरहेका छन् भने कति यो भाइरससँग पराजित भइरहेका छन्।

कोभिड–१९ को जोखिम सबैभन्दा बढी स्वास्थ्यकर्मीलाई छ। संक्रमित र  मृतकको संख्या बढ्दै जाँदा कोभिडको उपचारमा खटिएका स्वास्थ्यकर्मी निकै मर्माहत हुन्छन्।

रोग एकबाट अर्कोमा सर्ने उच्च जोखिम भए पनि स्वास्थ्यकर्मीलाई बिरामीको सेवा गर्नुको विकल्प छैन। शीरदेखि पाउसम्म पिपिई (व्यक्तिगत सुरक्षा कवच)ले ढाकिएर १२/१३ घन्टा उभिएर बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको जति सम्मान गरे पनि कम नै हुन्छ। त्यसमा पनि महिला स्वास्थ्यकर्मीलाई थप समस्या छँदैछ।

कोभिडका बिरामीको सेवामा खटिएका नर्सको अनुभव कस्तो छ? समस्या केके छन्? जस्ता विषयमा सुरुदेखि नै कोरोना संक्रमितको सेवामा खटिएकी पाटन अस्पतालकी स्टाफ नर्स सुस्मिता पौडेल आफ्नो अनुभव यसरी सुनाउँछिन्ः


चैतको मध्यतिरबाट मेरो ड्युटी कोभिड आइसोलेसनमा राखिएको थियो। त्यो समयमा चीन र इटालीमा मृत्युदर बढ्दो थियो। स्वास्थ्यकर्मी र चिकित्सकहरु पनि बढी प्रभावित भइरहेको समाचारहरु आइरहेका थिए।

त्यो समयमा हामी पनि समाचार हेरेर निकै त्रसित हुन्थ्यौं। सोही समयमा बिना जानकारी कोभिड आइसोलेसनमा ड्युटी छ भन्दा त मुटुले ठाउँ नै छोडेको थियो। के गर्ने, के गर्ने भएको थियो।

घरमा कोभिडका बिरामी भएको ठाउँमा ड्युटी परेको कुरा सुनाउँदा त झन् डराउनुहुन्थ्यो। परिवारका सदस्यहरुले पनि दैनिक समाचार हेरिरहेकाले स्वास्थ्यकर्मी संक्रमित भएको थाहा पाइरहनुभएको थियो। त्यसैले बरु काम छोड, जोखिममा काम नगर भनेर आग्रह गर्नुभएको थियो।

एक मनले सोच्दा त जागिर छोडौँ जस्तो पनि लागेको थियो। तर यस्तो बेलामा हामी नै पन्छिने हो भने कसले सेवा गर्छ भनेर मन दह्रो बनाएर ड्युटीमा गएँ।

कोभिड बिरामी राखिएको ठाउँको ड्युटी बाहिर सुनिएको भन्दा निकै कठिन र अत्यासलाग्दो हुने रहेछ। 

चैत महिनादेखि लगातार कोभिडका बिरामीसँग हाम्रो दिन बितिरहेको छ। सुरुमा ६ घण्टाको ड्युटी थियो। संक्रमित बढ्न थालेसँगै तीन सिफ्टको हाम्रो ड्य्टी समयलाई २ सिफ्टमा सीमित पारिएको छ।

अहिले १२/१२ घन्टाको दुई सिफ्ट मात्र ड्युटी राखिएको छ। दिउँसो ६ जना जति स्टाफ हुन्छन्। तर रातिमा बढीमा ४ जना मात्र स्टाफ नर्सले मात्र डियुटी गर्नपर्ने बाध्यता छ।

पिरियड भएको समय अन्य समयमा भन्दा निकै गाह्रो हुन्छ। १२/१३ घन्टा पिपिई लगाएर रातभरि उभिएर ड्युटी गर्दाको पीडा शब्दमा बयान गर्न सकिँदैन। सम्झँदा पनि गला भरिएर आउँछ। त्यहीं काम गर्नेबाहेक अरुले महसुस पनि गर्न सक्दैनन्।

पिपिई लगाइसकेपछि खोलिरहन मिल्दैन। प्याड फेर्न मिल्दैन। काम सकेर पिपिई खोल्दा ब्लड बाहिरैसम्म लागिसकेको हुन्छ।

पिसाबले च्यापेर पेट फुट्ला जस्तो हुन्छ। यस्तो अवस्थामा पनि बिरामी छाडेर पिपिई फुकालेर बाथरुम जान सकिँदैन। 

सुरुमा त धेरै गम्भीर खालका बिरामी थिएनन्। अहिले १६/१७ जना गम्भीर बिरामी आइसियु र भेन्टिलेटरमा हुन्छन्। भारी पिपिई, मास्क, फेस सिल्ड त्यसमाथि बुट लगाएर यताउता गर्न निकै कठिन हुन्छ।

पिपिईभित्र पसिनाले शरीर निथु्रक्क भिजेको हुन्छ। पसिना निधारदेखि नै तरतर चुहिरहेको हुन्छ। श्वास फेर्दा निस्केको बाफले फेस सिल्ड ढाकिन्छ। एकछिन त बादलले ढाकेको जस्तो केही देखिँदैन। त्यसैमाथि बिरामीको रगत झिक्ने, क्यानुला लगाउने क्रममा निकै गाह्रो हुन्छ।

पसिना धेरै आएर र मास्कले बाफिएर नाकबाट पनि पानी बग्न थाल्छ। पुछ्न मिल्दैन। मुखमा जान्छ कि भनेर मास्क भित्रै जोडले ओठ च्यापेर बस्छौं।

बिरामीले पानी माग्दा पानी देखेर पिउन मन लाग्छ। तर बाध्यता पिपिई लगाएका कारण पानी पिउन समेत मिल्दैन। प्यासले गला सुकेको जस्तो भइरहेको हुन्छ। पानी पिउन निस्कन पनि स्टाफ कम भएकाले निस्कन मिल्दैन।

पिपिईकै कारण हाम्रो शरीरमा समेत अक्सिजन कम भएको हुन्छ। श्वास थुनिएला जस्तो हुन्छ। 

भेन्टिलेरबाट निस्कने आवाजले हुने तनाव उस्तै। बिना खानापानी, बाथरुम नगई रातभर पिपिईमा बस्दा कस्तो होला, तपाईंहरु कल्पना गर्नुस् त। 

आजकल बिरामी धेरै छन् तर स्टाफ भने ड्युटीमा एक पटकमा खटिने ४ जना मात्र। ४ जना नर्सले कोभिड आइसियुमा भएका सबै बिरामीको सबै काम गर्नुपर्छ। थोरै जनशक्ति हुँदा बिरामीले समेत आधारभूत सेवा पाउन सकिरहेका छैनन्।

लामो समय पिसाब च्यापेर बस्दा धेरै साथीहरुलाई युरिन इनफेक्सन (पिसाब संक्रमण) भएको छ। एकपटक एउटी साथी ड्युटीमै भएको बेला अकस्मात् ढलिन्। उनलाई युरिन इन्फेक्सन भएको रहेछ। 

एक पटक काम गर्दागर्दा निकै ढिलो भयो। राति ३ बजे मात्र अलि फुर्सद भयो। मैले खाना खान भ्याएको थिइनँ। भोकले पेट बटारिइरहेको थियो। ७/८ घन्टा भइसकेको थियो केही नखाएको। ३ बजे फुर्सद भएपछि खाना खान गएको खाना त गन्हाइसकेको थियो। अनि फर्केर पानी मात्र खाएर त्यस रात ड्युटी गरें।

अहिले त झन् संक्रमितको संख्या बढिरहेको छ। अन्य दीर्घरोग भएका मानिसहरु कोरोना संक्रमित भएपछि थप गम्भीर बन्छन्। अहिले पनि १६/१७ जना आइसियुमा छन्। उनीहरुको पहिले नै रोगसँग लड्ने क्षमता कम भएको हुन्छ। कोरोनाले थप कमजोर बनाउँछ।

ठमठम हिँडेर आएको मानिस गम्भीर हुँदै मृत्यु भएको पनि छ। धेरै बढी देखिने समस्या भनेको ज्वरो आउनु र श्वासप्रश्वासमा समस्या नै हो। शरीरमा विस्तारै अक्सिजनको मात्रा निकै कम हुँदै जान्छ। कृत्रिम अक्सिजन दिँदा पनि उनीहरुलाई पुगिरहेको हुँदैन।

भेन्टिलेटरमा भएको बिरामीको दैनिकजसो मृत्यु भइरहेको छ। त्यसरी खटिएर सेवा गरेको बिरामी छिट्टै निको भएर परिवारमा फर्कियोस् भन्ने लाग्छ। उनीहरुको मृत्यु हुँदा निकै दुःख लाग्छ।

बिरामीको मृत्यु हुँदा हामीले नै त्यो डेथबडीलाई ¥याप गर्नुपर्ने हुन्छ। केही दिनअघि लगातार ३ दिन ३ जना संक्रमितको मृत्यु भयो। ४ जना नर्स  मात्र भएकाले सबै त्यही काममा लाग्न पनि भएन। २ जनाले बिरामी हेर्ने र २ जनाले शव व्यवस्थापन गर्‍यौं।

हामी ४५/५० केजीका नर्सले त्यो पिपिई लगाएर ८०/९० केजीका मानिसको शव व्यवस्थापन गर्न निकै गाह्रो हुन्छ। त्यसमाथि पिपिई लगाएर सबै काम गर्नुपर्दाको पीडा सुनाएर साध्य पनि हुँदैन। शव व्यवस्थापन गर्ने कामका लागि छुट्टै जनशक्तिको व्यवस्थापन गरिनुपर्छ।

अस्पतालले कोभिड आइसियुको सबै दायित्व त्यही ड्युटीमा खटिने नर्सको मात्र हो जस्तो व्यवहार गरेको छ। केही काम तलमाथि भयो भने त्यसको जिम्मेवार पनि हामी नै हुनुपर्छ।

बिरामीको दिसापिसाब सफा गर्ने, शौचालय जान सक्नेलाई अक्सिजनको सिलिन्डर सहित गुडाउँदै शौचालय पु¥याउने, ल्याउने, फेरि बेडमा सुताइदिने गर्नुपर्छ। जान नसक्ने बिरामीलाई बेडमै दिसापिसाब गराएर सफा गरिदिनुपर्छ। 

काठमाडौंका अन्य अस्पतालमा बिरामीको दिसापिसाब सफा गर्ने कामका लागि छुट्टै ऐटेन्डेन्ट खटाइएको हुन्छ। तर हाम्रो अस्पतालमा उनीहरुलाई भुई पुछ्ने काममा मात्र सीमित राखिएको छ।

सिकिस्त बिरामीलाई एकै पोजिसनमा सुत्दा घाउ हुने जोखिम धेरै हुने हुनाले पोजिसन चेन्ज गरिरहनुपर्ने हुन्छ। पोजिसन चेन्ज गराइरहँदा ब्याक पेन भएर उठ्न–बस्न गाह्रो हुन्छ। यस्तो बेलामा पनि हार नमानी काम गरिरहेका छौँ। हामीलाई ‘तिमीहरुले राम्रो गरेका छौँ है, हामी तिम्रो साथमा छाँै’ भन्ने खालको मोटिभेसन खोइ त?

हामीलाई नर्स बाहेक एक जना सहयोगी चाहिन्छ, अन्य नर्सिङ स्टाफ पनि आवश्यक छ। थोरैले धेरै जनालाई हेर्न निकै कठिन भयो भनेर पटकपटक प्रशासनसँग माग गर्दै आएका छौँ। लिखित रुपमा समस्या भनेको छौं। तर हाम्रो मागको सुनुवाइ भएको छैन।

सबै स्टाफ मिलेर नर्सिङ निर्देशकको अफिसमा कुरा राख्न जाँदा सिनियर दिदीले हाम्रो कुरा नसुनी एक जना कोभिड बिरामीको साइडमा सुरुबाट खटिनुभएको नर्सिङ अफिसर दिदीलाई उनीहरुको समस्या तिमी बुझ भनेर पन्छाउन खोज्नुभयो।

हाम्रो मनोबल बढाउनुको सट्टा ‘यसरी हुल बाँधेर किन आएको’ भनेर रुखो व्यवहार गरेर उहाँको अफिसमा प्रवेश निषेध गरी २ जनालाई मात्र भित्र बोलाउनुभयो।
 
हामीले गत चैतदेखि लगातार कोभिडका बिरामीसँग काम गरिरहेका छौं। हरेक पटक उनीहरु छोइरहनुपर्ने हुन्छ। नजिकबाट काम गर्दा हामीलाई निकै जोखिम छ। 

पटकपटक प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालयबाट पनि कोभिडको उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने कुरा सुन्दै आएका छौँ। तर त्यो त भन्नकै लागि मात्र रहेछ। हामीले चैतदेखि नै कुनै पनि जोखिम भत्ता पाएका छैनौँ। प्रशासनसँग कुरा राख्दा भत्ता आएको छैन भन्ने जवाफ आउँछ। 

जोखिम भत्ताको कुरा त परै भयो। खाइपाई आएको तलब पनि काटिएर आउँदा दुःख लाग्छ। त्यसले हाम्रो मनोबल निकै कमजोर बनाएको छ।

हामी मगन्ते होइन, तर १२–१३ घन्टा ज्यान जोखिममा राखेर बिरामीको सेवा गरिरहेका छौँ। हाम्रो स्वास्थ्यको सुरक्षा कसले गर्ने हो? हामीलाई काम गर्दा परेको समस्या कसले बुझ्ने हो? हामीलाई परेको समस्या हाम्रै अस्पताल प्रशासन, हाम्रै सिनियरले नबुझ्ने हो भने अरुले बुझेन भनेर कसरी भन्ने? 
     
अहिले त हामीलाई सिनियरबाट साथ, सहयोग र हौसला चाहिएको छ। कोरोना संक्रमितको बीचमा रहेर काम गर्नेको पिसिआर जाँच गरिदिनुस् भन्दा तिमीहरुको किन गर्नुप¥यो, केही लक्षण छैन भन्नुहुन्छ।

जबकी सरकारले नै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको परीक्षण पहिलो प्राथमिकतामा राखेको भनेको छ। त्यो भन्नकै लागि मात्र हो र? हामीलाई निकै डर लाग्छ। मन्त्रालयबाट पनि यस्तै समयमा लाइसेन्स खारेज गरिदिने खालका कुरा आउँदा निकै मन दुख्छ।

घरमा म मात्र बस्ने होइन, मेरो परिवारका सदस्यहरु छन्। उनीहरुलाई ममार्फत संक्रमण सर्छ कि भनेर हरपल मन ढुकढुक भइरहन्छ।

मम्मी हरेक पटक ड्युटी सकेर आउँदा रुनुहुन्छ। बुबा काम छोडिदेउ भन्नुहुन्छ। यसै त उहाँहरुलाई चिन्ता भइरहेको हुन्छ, त्यसमाथि डुयुटीमा हुने यस्ता समस्या भन्ने कुरै हुँदैन। झन् आत्तिनुहुन्छ भनेर भनेकै छैन। टाढा हुनुभएकोले सबै देख्नुभएको छैन। भिडियो कल गर्दा हरेक पटक सम्झाउँछु। मनमा डर त हुन्छ नि।

तनावले मन छटपट हुन्छ। मन भुलाउन अहिले उत्प्रेरक किताब पढुने गर्छु। मोटिभेसनल स्पिच सुन्ने, भागवत् गीता सुन्ने गर्छु र आफूलाई सेल्फ मोटिभेट गर्ने कोसिस गरिरहेको छु।

एकातिर कोरोनाको डर छ छदँै छ। अस्पताल प्रशासनको बेवास्ताले अर्को चिन्ता थपेको छ। हामीलाई किन रोबोट जस्तै सोचिएको होला? ५ महिना पूरा भयो हामी लगातार यसमा खटिएको। अन्य ठाउँमा सात दिन ड्युटी अनि क्वारेन्टाइनमा बसेको भन्ने सुनेका थियौँ। हाम्रोमा यस्तो भएन।

बिना तयारी, बिना जानकारी सिधै आइलोलेसनमा ड्युटी राखियो। हामीले यस्तो महामारीको समयमा हामीले कर्तव्य सम्झेर कुनै गुनासो नगरी काम गरिरह्यौँ। हाम्रोबारे कसैले सोचेको छैन।

हस्पिटल डाइरेक्टर, नर्सिङ डाइरेक्टर सबैसँग अहिले हाम्रो एउटै माग नाइट ड्युटीमा नर्स र बिरामीको अनुपात नमिलेका कारण काम गर्न निकै गाह्रो भयो भन्ने हो। त्यसैले हामीलाई थप स्टाफको खाँचो छ। हाम्रो समस्या बुझिदिनुहोस्। हामी रोबोट होइनौँ। तपाईहरु जस्तै हौँ। डर, चिन्ता हामीलाई पनि उत्तिकै लाग्छ। हामीलाई निराशा होइन, हौसला दिनुहोस्।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने