बोकी सेवाभाव विशुद्ध, र आफैंसितको जुद्ध
अग्रपंक्तिमा छौँ हामी लड्न कोरोनासँग युद्ध
साथमा मास्क पञ्जा मात्र, सेवामा अहोरात्र
भएका छौं यहाँ हामी कोरोना बोक्ने पात्र
भुल्दा रक्षाका बुँदा, मर्मले अरुलाई नछुँदा
मेरो सेतो एप्रोन भिजेको छ मेरो मन रुँदा
न औषधि न खोप, सुनी कोरोना सार्ने आरोप
हामीमा समाजको राम्रो दृष्टिकोण भयो लोप
न सुविधा धरौटी, कोरोना जित्नुपर्ने चुनौती
कसैलाई जोखिम भत्ता कतै तलब कटौती
मृतकका आफन्तको विलाप छ ज्यान धराप
रोगीको ज्यान जाँदा समाजले गर्छ सराप
कसले सुन्ने यो बह, पुछ्ने भरिएको गह
वञ्चित भएका छौं बाँच्न अरु जनता सरह
रोग लड्ने दाउमा, लाग्दा रोगीको बचाउमा
हाम्रै विरुद्ध सब उभिन्छन् परी बहकाउमा
एप्रोन रहेन सफेद, हामीप्रतिको यो खेद
हाम्रो पेसा लिएर समाजमा छ किन विभेद
यो महामारीको बेला हामी विरुद्ध हुन्छ भेला
हामी संक्रमित भए पछि पर्दैनन् गर्न रेला
जनतामा लापर्वाही भक्कानिन्छौँ कहिलेकाहीँ
टुट्न बाध्य हुन्छौं हामी फ्रन्टलाइनका का सिपाही
लिई सदा कोरोनाको त्रास खोसिन्छ हाम्रो बास
मानौं हामीले गर्दा रोगले थुप्रिएको छ लास
कोरोनाको कहर, अस्तित्व संकटको प्रहर
समाजमा हामी दोषी भन्ने रहेको छ ठहर
सही हरेक सकस, न पाउनु कुनै बकस
अनि हामीलाई किन समाज दिन्छ अवजस
नभनी तिर्खा भोक, पीडित हुनु पर्दाको शोक
हामीलाई घर जान पनि लाग्ने गर्छ रोक
त्यागी व्यक्तिगत स्वार्थ, गर्दा सेवा यो सम्मानार्थ
हाम्रो त्यागलाई कसैले नि बुझ्ने छैनन् किमार्थ
मारी आफ्नो चाहना, न छ जनताको सराहना
ज्यान जोखिममा राख्ने हामी देशकै गहना
मानवता लुकेको, सामाजिक व्यवहार चुकेको
हामी कोरोना संक्रमण बढाउँछौं सुनिन्छ फुकेको
रहेर भयभित, छली ती नजर सशंकित
संक्रमित भए छरछिमेक बन्छ आक्रोशित
हुन्छ हाम्रो हार, समाजको अप्रिय व्यवहार
अनि सुन्छौं आक्रोशपूर्ण शब्दबाणको प्रहार
घृणित हुन्छ हाम्रो आफन्त, मन हुन्छ अशान्त
कोरोना संक्रमित भनी चिनिन्छौँ अब उपरान्त
हुन्छौं अछुत, समाज व्यवहार गर्छ अद्भूत
लाग्छ हाम्रै कारण कोरोनाको गति बन्यो द्रुत
हाम्रो पेसा पार्न नाङ्गो, सुनिन्छ अनुरोध बाङ्गो
कोरोनाले समाजको व्यवहार पार्यो उदाङ्गो
जीवन बन्छ नरक, हेर्ने नजर भो फरक
घर अघि विरोधको दृश्य छ हृदयविदारक
संक्रमित हुनुमा के कसुर, समाजको दुर्दुर
गाउँको कुरा खै उस्तै माहोलमा छ कान्तिपुर
हुन थाल्छ हाम्रो निन्दा, नभई कतै सरमिन्दा
समाजमा नि बस्न कष्ट भोग्नु पर्नेछ सालिन्दा
सहनुपर्ने कष्ट, सबको बोलीमा हुन्छ स्पष्ट
हामी सङ्क्रमित भएको खबर हुन्छ छरपस्ट
पेसा छैन आराध्य, अपमान सहन छौं बाध्य
सामाजिक अपमानको बारे भनी छैन साध्य
घरमा लाग्छ अरूको ताला, हुन्छौँ समाज निकाला
नयाँ पहिचान मिल्छ स्वास्थ्यकर्मी कोभिडवाला।