भीडभाड र कोलाहलको लत यसरी परेको रहेछ
सुनसान र एकान्तले ऐठन पारेको छ।
धुवाँ, धुलोमा निर्भर यी नाक र मुख
टाँसिएको धर्सोले उकुसमुकुस पारेको छ।
एक्लै बस्ने, व्यशनी मा परेकी ती आमा
व्यापारी छोराको मलिनताले सकस पारेको छ।
शिक्षकका गाली र संगतले सहिष्णु मेरी बहिनी
प्रकृतिको खुला आकाश र धर्तिले कसेको छ।
भारीको लत परेका ती भरिया दाइ
भोको पेट र नांगो शरीरले ऐठन पारेको छ।
खाडीको पसिनामा निर्भर ती काका
फर्कने अनिश्चितताले ऐठन पारेको छ।
अफिसमै आदत परेका ती मामा
बन्द कोठाले नै ज्यादत पारेको छ।
अन्तिम घन्टीमा रमाउने ती नानी या
रियाल र दिराममा साटेका जवानी,
हजुर बा को उमेर काट्ने बानी या
घरैमा सुनैले सजिने ती ऐश्वर्य रानी,
सबैलाई महामारीले पार्नु ऐठन पारेको छ।
किन बुझ्दैन कोही रोकेर, छेकेर
यी लतलाई रोक्ने प्रयास गर्दा
असह्य पीडा हुन्छ, कम्पन छुट्टछ
ती दाजुभाइ त मुर्छिने छन्
हिजोको आदतले धसेको छ,
आज ऐठनले श्वासै रोकिएलाझैं कसेको छ,
लत अझ महँगिदा, ऐठन फुकाउनु छ
यो महामानव यहाँ नराम्ररी फसेको छ
हिजो लठ्ठिएका ती बानी भन्छन्
यो महलमा गुम्सनुभन्दा खुल्ला साँढेझैं डुल्न सकुँ
मुखको धजोले रोकिएका बोलीभन्दा हाँडीका मकैझैं फुट्न सकुँ
भोको पेट र ऋणले जेलिनुभन्दा जसै लतारिनै सकुँ।
मुस्कुराउँदै डर भन्छ,
हे महामानव, तिम्रो विवेकका बाबजुत असफल प्रविधि
आर्थिक अस्थिरता र सम्बन्ध खुम्चिएका तिम्रो यो अवधि
संक्रमित अस्पताल, संक्रमित परिवेश,
अन्य रोग र जिँउदो लाशले नै भरिएको देश
तिमी हाछ्युँ गर्दा म बिउँझिन्छु
तिमीलाई ज्वरो, आउँदा अब म तातिन्छु
तिम्रा साथी, परिवार संक्रमित हुँदा,
तिमी होइन त्यो आत्तिएको
उत्कर्षमा म पो बेस्सरी मात्तिएको
एक दिन, हिजोका लत मुर्छनेछ,
आजका ऐठन बिस्फोट हुनेछन्
रित्तो गोजी, रित्तिएको भकारी,
अन्धकार गन्तव्य, पट्टि बाँधिएका सिकारी
यी डरभन्दा ती परिकल्पनाका डर अझ भयंकर हुनेछन्
सबैका ऐठनहरु यसरी आउनेछन् र भन्नेछन्,
एक छुद्र किटाणुलाई किन यत्तिका मानेको?
मृत्यु- अन्तिम शाश्वत सत्यलाई खै मानेको?
भोक ठूलो कि शोक ठूलो?
कुदाई राम्रो कि कुराई?
मर्नु त छ, तर त्योभन्दा पहिले,
बाँच्न खै जानेको?
(खनाल चिविराप्र, साइक्याट्री विभागका अन्तिम वर्षीय आवासीय चिकित्सक हुन्।)