फिचर

६ जना कोरोना संक्रमित महिलालाई सुरक्षित सुत्केरी गराउन सफल भरतपुर अस्पताल

डा रामप्रसाद सापकोटा भन्छन्- गर्भवतीको पिसिआर रिपोर्ट ढिला आउँदा समस्या हुन्छ

काठमाडौं- कोरोना संक्रमितको उपचार हुने अस्पतालमध्येको एक हो, चितवनस्थित भरतपुर अस्पताल। चीनमा कोरोना महामारी फैलिरहँदा भरतपुर अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि पूर्वतयारी अघि बढाएको थियो। 

२०७७ पुसबाट पूर्वतयारी थाले पनि वैशाख ५ गते मात्र भरतपुर अस्पतालमा पहिलो संक्रमित भर्ना भएका थिए। 

हालसम्म यस अस्पतालमा ६ जना कोरोना संक्रमित गर्भवतीले सुरक्षित रुपमा शिशुलाई जन्म दिएका छन्। ६ मध्ये ४ जनाको शल्यक्रिया र दुई जनाको नर्मल सुत्केरी भएको थियो। जसमध्ये चार जनाको सुत्केरी भएपछि मात्र कोरोना पुष्टि भएको अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसूति रोग विशषेज्ञ डा रामप्रसाद सापकोटा बताउँछन्। 

एक त गर्भवती, त्यसमाथि कोरोना संक्रमित हुँदा उनीहरुको उपचार भरतपुर अस्पताललाई सहज थिएन। 

६ जना कोरोना संक्रमित गर्भवतीलाई सुरक्षित रुपमा सुत्केरी गराउनु कत्तिको चुनौतीपूर्ण काम थियो? अनुभव कस्तो भयो? लगायतका विषयमा हामीले अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसूति रोग विशषेज्ञ डा सापकोटासँग कुराकानी गरेका छौं। स्वास्थ्यखबरसँग डा सापकोटाले साटेका अनुभव उनकै शब्दमाः   

भरतपुर अस्पतालमा हामीले कोरोना संक्रमित गर्भवतीलाई हेर्न भनेर ‘एक हप्तामा एक चिकित्सक’ भनी छुट्याएका छौं। हालसम्म ६ जना कोराना संक्रमित गर्भवती यहाँ सुत्केरी भएका छन्। जसमध्ये चार जनाको शल्यक्रिया गर्नु परेको थियो। 

दुई जनाको पहिले नै कोरोना पुष्टि भएको थियो भने चार जनाको शिशु जन्मेपछि मात्र पुष्टि भएको थियो। शल्यक्रिया गर्नुअघि गर्भवतीको पिसिआर परीक्षणका लागि पठायौं। रिपोर्ट नआउँदै उहाँहरुको शल्यक्रिया भयो। तर रिपोर्टमा उहाँहरुको कोरोना पुष्टि भएको थियो। 

अहिले कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ। जति जनशक्ति हुनुहुन्छ, त्यसले यो संख्यालाई धान्न नै मुश्किल परेको छ। बीचमा केही स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नुभयो। त्यसपछि केही समय अस्पतालको सेवा पनि बन्द भएको थियो। त्यो बेला हामीलाई कसरी सुरक्षित रुपमा सेवा दिन सकिन्छ भनेर योजना बनाउने पनि मौका मिल्यो। 

हामीले सकेसम्म कम जनशक्ति प्रयोग गरेर धेरै काम गर्ने योजना बनायौं। चिकित्सक अनि नर्सलाई हामीले विभिन्न समूहमा विभाजन गरेका छौं। पहिले एक जना स्वास्थ्यकर्मीले ८ घन्टा काम गर्नुहुन्थ्यो भने अहिले १२ घन्टा काम गर्नुपर्छ। यसले गर्दा कम जनशक्ति एक्सपोज हुने भयो। 

ड्युटीमा भएका कर्मचारीलाई अस्पतालले सुरक्षाका लागि पिपिईको व्यवस्था गरेको छ। कर्मचारीहरुबीच सामाजिक दूरी कायम गर्छौं। कोभिड पोजेटिभ गर्भवतीका लागि हामीले चार वटा कोठा छुट्याएका छौं। कोभिड पोजेटिभका लागि छुट्टै अपरेसन गर्ने ओटी बनाउने पनि तयारी भएको छ। अब यो छिट्टै सुरु हुन्छ। 

कसैको कोरोना पोजेटिभ आयो भने डर नहुने भन्ने हुँदैन। तर जसरी पनि गर्नुपर्छ भन्ने भाव मनमा भएका कारण पनि हामी पछि हट्न सक्दैनौ। बिरामीको उपचार जसरी पनि गर्नैपर्छ। 

हामीले पूर्ण पिपिई लगाएर सेवा दिइरहेका छौं, त्यसैले पनि सुरक्षित छौं र गर्न सक्छौं भन्ने आत्मबल मनमा हुन्छ। सामान्य सेवा दिँदा पूर्ण पिपिई लगाउँदैनौं। तर मुख्य तथा जटिल अपरेसन गर्ने समयमा पूर्ण पिपिई लगाउँछौं। 

हामीलाई सुरुमा बच्चाको धड्कन सुन्न समस्या भइरहेको थियो। हामीले बच्चाको धड्कन मोनिटर गर्ने एउटा उपकरण बिरामीलाई दिन्छौं। उहाँहरु आफैंले बच्चाको मोनिटर गर्नुहुन्छ र केही समस्या भए हामीलाई खबर गर्नुहुन्छ। यसले गर्दा पनि हामीले पटक पटक बिरामीको मोनिटर गर्न जानु परेन। जसले गर्दा स्वास्थ्यकर्मी कम एक्सपोज हुने भयो।

अहिलेसम्म हामीले कोरोना पुष्टि भएका गर्भवतीको नर्मल मेडिभरी गराएका छैनौं। त्यस्तो केस पनि अहिलेसम्म आएको छैन। पहिले नै कोरोना पुष्टि भएका गर्भवतीको सुत्केरी गराउन पायौं भने सजिलो हुन्छ। किनभने हामी पहिले नै सबै हिसाबले तयार हुन सक्छौं। 

गर्भवतीको पिसिआर रिपोर्ट आउन ढिला हुँदा समस्या हुन्छ। कहिलेकाहीँ उनीहरु व्यथा लागेर अस्पताल आएका हुन्छन्, तर पिसिआर रिपोर्ट आइसकेको हुँदैन। 

रिपोर्ट आउन नै चार-पाँच दिन लाग्ने गर्छ। त्यसैले सरकारले गर्भवतीको पिसिआर रिपोर्ट छिटो आउने व्यवस्था गरेको खन्डमा हामीलाई काम गर्न अझ सहज हुन्थ्यो। 

गर्भवतीको पिसिआर रिपोर्ट सुत्केरी हुनुअघि नै आए सबै स्वास्थ्यकर्मीलाई पूर्वतयारीमा जुट्न सहज हुन्थ्यो। यस्तो व्यवस्था लागू हुन सके धेरैभन्दा धेरै स्वास्थ्यकर्मी एक्सपोज हुनबाट समेत जोगिन सक्छन्। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने