मानिसको श्रेष्ठता
केद्वारा नापिन्छ?
जनतामा पर्ने प्रभाव
र हृदयस्पर्षले होइन र?
खिचातानी श्रृंंगार
आडम्बर र माधुर्य
त क्षणिक छैनन् र?
एउटा कृत्रिमयुक्त
सेरोफेरोमा
अलंकार जोडेर
मानिस कतिन्जेल हास्न सक्छ र?
आफूले गरेका सर्वप्रिय कार्य
र प्रसिद्धप्रेमका प्रेरणाहरु नै जिवन्त ऊर्जाका
स्रोतहरु त हुन् नि!
सन्दुक रुइत
एउटा कर्णप्रिय नाम बनेको छ,
मोतिविन्दुका गरिब बिरामीलाई
सस्तो मूल्यमा नै
आँखाको अपरेसन गरेर
संसार देख्ने अवसर दिने
उनि भगवान भन्दा कम छैनन्!
अभाव र दरिद्रताको
दुनियाँ
बहुत कहालिलाग्दो छ,
सपनाको तिक्तताले
बिहान बिहान त्यसै ब्युँझाउछ,
महात्माहरु
पलेंटी मारेर देश फलाक्छन्,
राजनीतिक माष्टरहरु
नक्सामा भूगोल बेच्दछन्,
झुटको मोल ज्यादा
भएर
महँगी बढेको छ,
समस्याका
उल्झन गडबडहरुमा
देश डुबेको छ
तैपनि
आत्मसन्तोष र मानवसेवाको
भावहरुमा
मानिसहरु अवतरित हुँदै छन्,
लाग्छ
सन्दुक रुइतहरु
हाम्रै लागि आएका हुन्
जो हाम्रो हृदयमा ईश्वरको
उज्यालो भर्दछन्,
जति खेर
अविवेकीका आँखाहरु
हार खाइरहन्छन्
र त साँच्चै
दृष्टि गुमेका
मृदुल आँखाहरु
संसार देखिरहन्छन्।
कस्तो हुन्छ
होला त्यो क्षण?
म बयान गर्न सक्दिनँ!
हिजोसम्म
आफूलाई जन्म दिने
बा आमा नचिन्ने सन्तानहरुले
दृष्टि प्राप्त गरी
आफ्ना बा आमा चिन्दा!
हिजोसम्म
सँगै खेल्ने साथी संगी चिन्दा!
त्यो बालक
के सोच्दो हो मन मनै
र अँगाल्छ
डा रुइतलाई?
के यो
खुसीको गहिराइ
नापन्न सकिन्छ र?
के
त्यो क्षण व्यक्त हुने भाषाहरु
अपूर्ण छैनन् र?
संसारका अनेकौ
जादुहरु चकनाचुर
भएर
मानवताले मुटु छुँदैन र?
साँच्चै
अन्धकारले ओइलिएको जीवनमा
रोशनीको जिवन दिने
डा सन्दुक रुइत
भगवान होइनन् र?
म कसरी व्यक्त गरूँ?
अमृतसरी ज्योति
फिँजाउने
ती रुइतका हातहरु
जो भावी पिँढीलाई
कर्म सिकाउँछन्,
मानवताको धर्म सिकाउँछन्,
अल्पज्ञानको घमण्ड तोड्दछन्,
वेदनामय संसारमा
रुमल्लिरहेका
अदृश्य लडाइँ लडिरहेका
तमाम
मानिसहरुलाई
स्वर्गमा उतार्छन्
अनि ईश्वरीय ममता प्रदान गर्छन्
साँच्चै
दृष्टि प्रदान गर्ने देवता हुन्-
डा सन्दुक रुइत।