काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएको सुरुवाती चरणमा नै सरकारले १२० दिन लामो बन्दाबन्दी (लकडाउन) ग¥यो। त्यसपछि केही साता लकडाउन खुकुलो बनाइयो। तर लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको दर ह्वात्तै बढ्यो। संक्रमण नियन्त्रणका लागि भन्दै भदौ ३ गतेबाट पुनः लागू गरिएको निषेधाज्ञा अहिले पनि जारी छ।
सबै क्षेत्रहरु बन्दाबन्दीको मारमा परे पनि नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य संस्थाहरु अस्पताल, क्लिनिक, औषधि पसल भने निरन्तर सेवामा छन्। फर्मासिस्ट होउन् वा स्वास्थ्यकर्मी, दिनरात सर्वसाधारणको सेवामा खटिएकै छन्।
आम नेपालीमा एउटा सोच नै छ, गम्भीर समस्याबाहेक सिधै अस्पताल नजाने। उनीहरु सामान्य बिरामी हुँदा पुग्ने ठाउँ भनेकै नजिकको औषधि पसल हो। चिकित्सकको सिफारिस बिना औषधि दिन नमिल्ने व्यवस्था भए पनि यो नियम विरलै लागू भएको पाइन्छ। फार्मेसीमा सामान्यतः रोगको लक्षणका आधारमा औषधि दिइन्छ। त्यसैले पनि होला लकडाउन र निषेधाज्ञाका बीचमा पनि औषधि पसलहरु खुला छन्।
नयाँ नैकापस्थित युगिन फार्मेसीका सञ्चालक सूर्य रोकायसँग हामीले लकडाउन र निषेधाज्ञाका बेलामा कसरी सेवा दिनु भएको छ भनेर सोधेका थियौंः
औषधि अत्यावश्यक सेवामध्येको एक हो। त्यसैले पनि यो क्षेत्रलाई न त लकडाउनले छुन सकेको छ न निषेधाज्ञाले नै। हामी औषधि पसलेहरु सामान्य अवस्थामा जस्तै बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म औषधि पसल खोल्ने गर्छौं।
मैले औषधि फार्मेसी खोलेको १२ वर्षभन्दा धेरै भइसक्यो। अहिले नैकापमा आएको तीन वर्षमात्र भयो।
१२ वर्षको मेरो अनुभवमा मैले के देखेको छु भने, मानिसहरु सामान्य बिरामी पर्दा सबैभन्दा पहिले आउने ठाउँ भनेको फार्मेसी नै हो। हामीले पनि दिन मिल्नेसम्म औषधि दिएर पठाउँछौं। होइन भने अस्पताल जानूस्, यहाँको औषधिले ठिक हुँदैन भनेर फकाँउने गर्छौं।
अघिल्लो वर्षलाई हेर्ने हो भने यो समयमा धेरैजस्तो मानिस रुघाखोकी, सामान्य ज्वरो, धुलोको एलर्जी लिएर आउँथे। तर यो वर्ष यस्ता समस्या लिएर आउनेको संख्या अत्यन्त न्यून छ। सायद यो लकडाउने गर्दा दौडधूप धेरै गर्न नपरेर, सरसफाइमा ध्यान दिएर र आफ्नो ख्याल राखेको भएर पनि कम बिरामी परेको पनि हुनसक्छ।
आजभोलि मानसिक समस्या, सुगर, प्रेसरको समस्या लिएर बढी आउनुहुन्छ। उनीहरु यसबारे सचेत भएको मैले पाएको छु।
सुरुवाती चरणमा मानिसहरु धेरै नै आतंकित थिए। सुरुसुरुमा मास्क र स्यानिटाइजरको अभाव पनि भयो। हामीले पनि बढी मूल्य तिरेर किन्नुपर्ने समस्या पनि आएको थियो।
मानिसहरु यति धेरै आतंकित भएका थिए कि आफूलाई चाहिने औषधि दुई–चार महिनालाई पुग्ने किनेर घरमा थुपार्नु भएको थियो।
लकडाउन र निषेधाज्ञामा औषधि पसलेहरुले अहिले भोग्नु परेको मुख्य समस्या भनेको औषधिको समयमा आपूर्ति हुन नसक्नु हो। जसले गर्दा औषधिको अभाव भइरहेको छ।
अर्को समस्या भनेको फार्मेसीमा अनेक किसिमका मानिस आउनुहुन्छ। कसैकसैले त कतै यसलाई कोरोना त सरेको छैन भनेर त्रसित हुने, डराउने गर्नुहुन्छ।
छिमेकी र घरबेटीहरुले त मुखै फोरेर भन्नुहुन्छ, ‘तपाईहरु औषधि पसलमा काम गर्नुहुन्छ कतै तपाईंमा त कोरोना त छैन। आउँदा जाँदा ख्याल गर्नुस है।’