मुख्य समाचार

आफैं थलिएको वीर अस्पतालले कसरी गर्ला कोरोना संक्रमितको उपचार?

७० बढी कर्मचारी संक्रमित, २ सय बढी कर्मचारी रुष्ट

काठमाडौं- मुलुककै पुरानो वीर अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २१ गते कोभिड अस्पताल बनाउने घोषणा गर्‍यो। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयले वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गरेको हो। 

यसअघि पनि यहाँ कोरोना संक्रमितको उपचार नभएको भने होइन। साउन २३ गते वीर अस्पतालमा पहिलो पटक कोरोना संक्रमित भर्ना भएका थिए। गएको एक महिनामा मात्र वीर अस्पतालमा १ सय ३ कोरोना संक्रमित भर्ना भएको अस्पतालका कोभिड फोकल पर्सन डा अच्युत कार्कीले बताए।  

कुल संक्रमितमध्ये हालसम्म २१ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। ३ जना संक्रमितको मृत्यु भएको छ। डा कार्कीका अनुसार हाल अस्पतालमा ६९ जना संक्रमित उपचाररत छन्। 

कोभिड अस्पतालको रुपमा परिणत भएपछि वीरमा कोरोना संक्रमितको उपचारका लागि १ सय १० शय्याको व्यवस्था गरिएको छ। यसअघि कोरोना संक्रमितको उपचारका लागि अस्पतालले ६५ शय्याको मात्र व्यवस्था गरिएको थियो। 

कोभिडका लागि हाल १ सय १० शय्या छुट्याइए पनि आवश्यकता अनुसार शय्याको क्षमता बढाउँदै लैजाने अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए। उनले भने, ‘कोभिड अस्पताल भइसकेपछि हामीले हाल १ सय १० शय्याको व्यवस्था गरेका छौं। आवश्यकता अनुसार शय्या बढाउँदै लैजान्छौं।’ 

उनका अनुसार अस्पतालको ओपिडीमा बिरामीको परीक्षण गरिन्छ। त्यसपछि कोरोना पोजेटिभ देखिएका बिरामीलाई अस्पतालमा भर्ना गरिने उनले बताए। नेगेटिभ आएका र थप उपचार आवश्यक पर्ने बिरामीलाई भने अस्पतालले राष्ट्रिय ट्रमा सेन्टर पठाउँछ। 

कोभिड अस्पतालमा परिणत भए पनि वीरमा कोरोना संक्रमितको मात्र उपचार हुने भने होइन। वीरलाई कोभिड अस्पताल बनाइए पनि इमर्जेन्सी, डायलाइसिस र नेफ्रोलोजी सेवा यहींबाट दिइने निर्देशक सेन्चुरीले जानकारी दिए। अन्य उपचारको व्यवस्था भने ट्रमा सेन्टरमा व्यवस्थापन गरिएको छ। 

उनले भने, ‘वीरमा कोभिडको मात्र उपचार हुने होइन। यहाँ आउने बिरामीको हामी स्क्रिनिङ गर्छौं। पोजेटिभ आउनेको यहीं र नेगेटिभ आउनेको ट्रमा सेन्टरमा उपचार हुन्छ।’

वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गरिए पनि यसको व्यवस्थापन त्यति सहज देखिँदैन। किनभने कोरोना संक्रमितको उपचार हुनु एक दिनअघि वीरमा पहिलो पटक स्वास्थ्यकर्मी नै संक्रमित भएका थिए। साउन २२ गते पहिलो पटक स्वास्थ्यकर्मी संक्रमित भएयता संक्रमित स्वास्थ्यकर्मीको संख्या ७४ पुगेको छ। 

वीर अस्पतालका करिब ६ दर्जन स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने बाँकी केही स्वास्थ्यकर्मी अस्पतालको व्यवस्थापन प्रति रुष्ट छन्। अस्पतालका करार, ज्यालादारी र अस्थायी गरी २ सय ४७ जना कर्मचारीले दुई महिना मात्र म्याद थप गरेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन्। 

स्वास्थ्य मन्त्रालयले ६ महिना म्याद थप गर्ने निर्देशन दिए पनि अस्पतालले दुई महिना मात्र म्याद थप गरेको भन्दै उनीहरु व्यवस्थापनप्रति रुष्ट देखिन्छन्। अस्पतालले ६ महिनाको म्याद थप नगरे आन्दोलनमा समेत उत्रन बाध्य हुने उनीहरु बताउँछन्।  

अस्पतालका एक कर्मचारी भन्छन्, ‘पीडित अस्थाई, करार र ज्यालादारी कर्मचारीलाई महामारीमा खटाएर भदौ मसान्तदेखि हटाएर असोजदेखि आफू निकटलाई राख्ने योजना निर्देशक र रेक्टरको छ।’

आफूहरुले पर्याप्त मात्रामा पिपिई, मास्क लगायत सुरक्षा सामग्री समेत नपाएको ती कर्मचारीको गुनासो छ। अस्पतालले क्वारेन्टाइन, आइसोलेसनको पनि राम्रो व्यवस्थापन नगरेको उनीहरुको गुनासो छ। 

अस्पताल प्रशासनको व्यवस्थापकीय कमजोरी र लापरबाहीले आफूहरु जोखिममा पर्दै गएको वीर अस्पतालका कर्मचारीहरु बताउँछन्। कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टाइनको व्यवस्थापन राम्रो नहुँदा स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै गएको उनीहरुको भनाइ छ। 

अस्पतालका एक कर्मचारीले भने, ‘यी विषयमा हामीले निर्देशकसँग कुरा राख्दा सुन्दै सुनेनन्। हाम्रा यी माग पूरा नभए आन्दोलन गर्न बाध्य हुनेछौं।’

सरकारले कोभिड अस्पतालको रुपमा वीरलाई परिणत गरे पनि यसको व्यवस्थापन चुनौतीपूर्ण भएको निर्देशक डा सेन्चुरी बताउँछन्। कर्मचारीको व्यवस्थापन, भौतिक संरचना र पूर्वाधार आफ्नो लागि चुनौती भएको उनले बताए। 

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना संक्रमितको उपचारका लागि भौतिक संरचनाको व्यवस्थापन गर्नुपर्ने भएकाले यो सहज नभएको उनले बताए। कोभिड भत्ता समेत उपलब्ध गराउन नसकेको उनी स्वीकार्छन्। 

सरकारले यसअघि काठमाडौं उपत्यकाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित नेपाल एपिएफ अस्पताललाई कोभिड विशेष अस्पताल बनाएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने