आज त मेरो १३औं पुण्यतिथि
मेरा घरका तेह्रै जना अझै डाँको छाडेर रुँदैछन्
म यहाँ नर्कमा मेरै जस्ताको भीडभाडमा त्यसै भड्किरहेकी छु
आफ्नैलाई रुवाउने पाप गरेर पीडाजति उनैलाई थपी
आफू यहाँ सजाय भोगिरहेकी छु
मलाई अझै याद छ मैले दूरी राख्न आफैंलाई अरुसँग,
डोरी किनेर ल्याएको दिन
डोरी घरको पंखामा जोडेर घाँटी कस्दै
तलतिरको कुर्सीलाई लात्ताले धकेलेको दिन
म निस्सासिँदै निलो हुँदै मेरो श्वास बिलिन हुँदै,
चलिरहेका मेरा धड्कन रोकिएको दिन
हो मैले आफैंलाई मारेको दिन
सम्झिँदा पनि सम्झनाले मलाई अझै मारिदिन्छ।
कथा त यहाँ मसँगै मुक्तिको भीख माग्ने सखाहरुका पनि उस्तै छन्।
जुन चितामा पुर्या उँदा हाम्रा आफ्नाले बिलौना गर्दै आँसु बगाए
त्यही आँसुका धाराले हामीलाई बगाइरहेका छन्
मृत शरीर डुब्न नसके पनि उनैको यादमा अझै तैरिरहेका छन्
सस्तो बिलेडले किन काटेछु यति महँगो मेरो नशा भनिरहेका छन्
भीख मागेरै जिउँथे होला बिख किन पिएँ भन्दै गुनासो गरिरहेका छन्
बरु ज्वोरो आउँदा तिम्रै पानीपट्टी ओखती बनाउँथे,
त्यो सिटामोल किन पुरै प्याकेट खाएछु होला भनेर चिच्याउँदै कराउँदै छन्।
बर्खा बेला खोलामा तरुनी हेर्दै बरु रमाउँथे होला
किन तिनैका मायाका निम्ती आफ्नैको माया भुली त्यसैमा
हाम फाल्थें होला भन्दै भक्कानिरहेका छन्।
पीर पर्दा निन्द्रा नलागे बरु हजुरामाले
सुम्सुम्याउँदै भन्नु हुने कथा सम्झन्थें होला
जीवनलाई नै सदाका लागि सुताइदिने गोलीहरु किन खान्थें होला भन्दै
चिताको सम्झनाबाट उठ्न खोजिरहेका छन्
पीडाको तरबारले मलाई भित्रभित्रै रेटिरहँदा
गर्ने कुरा धेरै तर केही पनि गर्नै नसक्ने हुँदा
छर छिमेकीका छोराछोरीहरु महँगो जीवन जिउँदा
आफ्नो मुटुको टुक्रालाई एक टुक्रो भोटो किन्न नसक्दा
मेरो हार लाचारीमा, दुर्गतिमा म आफ्नो टाउको ठोकिरहँदा
मैले किन मुख खोल्न सकिनँ
मलाई तिमीहरुको आवश्यकता छ किन भन्न सकिनँ
मलाई ग्लानीले गलाइरहेको छ भनी किन बोल्न सकिनँ
म त्यो तरबारलाई मेरो घरबार बिगार्न दिन्न भनी किन हिम्मत जुटाउन सकिनँ
त्यो हारलाई यत्न गरी विजयको हार बनाई गलामा किन लाउन सकिनँ
आफ्नै मुटुलाई मायाले ढाकेर राख्न सक्थे होला छिमेकीलाई हेर्ने?
किन भनेर सम्झाउन सकिन?
किन? किन?
प्राप्तिलाई नै प्रेमको अन्तिम गन्तव्य सोच्नेहरु
अहिले त्यागमा साँचो प्रेम बुझिरहेका छन्..
श्रीमती आगो हुँदा आफैं पानी हुन्थे किन हेपाइ दमन सोचें भनिरहेका छन्
दाइजोको दबाबमा किन दाइको राखी लगाउने हात खाली राखें
बरु दाइलाई यो कुरा किन राखिनँ मृत बैनी भनिरहेछन्
होमवर्कको चाप बढ्यो भन्दैमा आफ्नो होम नै छाडी नर्कको होम किन रोजें होला,
अलि अलि होमवर्क भई हाल्छ नि भनी आफ्नो होमलाई सम्झिरहेका छन्
इज्जतको आहुती दिएँ भन्दैमा समाजमा
मुखै देखाउन नमिल्ने जस्तो किन सोचें
लुटिएका एसिड प्रहार भएका थुप्रै महिलाहरु
मनको दु:ख-पीर मैला आत्मनिर्भर भएर फालिरहेका छन् भनेर किन सोचिनँ भन्दै
आफैंलाई बिलौनाका धुलोले मैलाइरहेका छन्
छोराछोरीले हेरेनन् भनेर ईश्वर हेर्न किन आएछु भन्दै
आफैंलाई मृत आमा-बाबा सरापिरहेका छन्
घरमै नातीनातिना खेलाएरै बसिन्थ्यो, भगवानलाई सम्झिन्थ्यो
नभए वृद्धाश्रम नै गइन्थ्यो आफूलाई किन मारिन्थ्यो भनी
हजुरबाबा हजुरामा ग्लानी बोध गरिरहेका छन्
शब्दका धनी हामी एक वाक्य "मलाई मद्दत गर" भन्न किन गरिब भयौं
दु:ख-पिर-धोकाका बन्द ढोका, कति खुल्छन्
आफैं बोल्न सके किन लाटो-बहिरो भयौं
किन? किन? किन?
म झुन्डिएर के मैले साँच्चै मुक्ति पाएँ र?
अहँ! मुक्ति त केवल आत्माले शरीरबाट पायो
देहले मट्टीबाट पायो, शरीर अनि अंङ्गले संसारिक अंकबाट पाए
मैले आफ्नाको अनि आफ्नाले मेरो स्पर्शबाट पाए
तर जिउँदा यादहरुले तर्साउन अझै छाडेका छैनन्
दाइका निधार, बैनीका तीज बाबाका सपना अनि
आमाको न्यानोपनले अझै तड्पाउन छाडेका छैनन्
हो आमा-बाबा-दाइ-बैनी-म आफ्नो होइन
तिमीहरुको निधार तीज सपना अनि न्यानोपनको हत्यारा हुँ।
जे गर्नु गल्ती गरिसकें, मरेर बाँचेकी सोच्थिएँ तर चिताको आगोले के पोल्थ्यो
तिम्रो आँसुको शीतलले पोलिरहेको छ आमा
चुँडेका तिम्रा सपनाको पन्खले खोचिरहेको छ बाबा
रित्तो दाइको निधारले मेरो हृदयमा आँसुको धारा लगाइरहेको छ
बैनीको तीजको रातो सारीले गला बेस्सरी बाँधिरहेको छ
हो म त अझै झुन्डिरहेकी छु
तिमीहरुलाई जिउँदै मारेर म मृतलोकमा छट्पटाउँदै बाँचिरहेको छु
हो मेरो गल्ती थियो
समस्याका घाँसलाई हसिया लगाउन नजान्नु मेरो गल्ती थियो
सानो सानो खुसीमा रमाउन नसक्नु मेरो गल्ती थियो
जीवन सरल, सरस तरिकाले जिउन बिर्सनु मेरो गल्ती थियो
म जस्तै मुस्कानको नकाप भिरेर भित्रभित्रै
पीडाले खोक्रिएका चुँडिएका धेरै छन् त्यहाँ
कृपया अर्को साथी नपठाइदेऊ है यहाँ
चित्त कसैको सानो कसैको ठूलो, बिन्ती हेप्ने दबाउने गिज्याउने नगरिदेऊ है अब
मृत्युलोकमा आएर पछुताउँदै छु, हाँसो भित्रको ब्यथा बुझिदेऊ है अब!
मैले जति भने पनि, तिम्रो लागि तिमी नै हौ
नाम, दाम, यस, आरामकै पछाडि दौडिरहेछ समाज
तिम्रो खुसीमा हाँस्न होइन, दु:खमा नाच्न रमाउँछ समाज
त्यसैले दु:ख परे बरु बेलैमा दु:ख बाँड्ने मितज्यू रोज
कृपया दु:ख थप्ने मृत्यु नरोज
दु:ख थप्ने मृत्यु नरोज!
बिन्ती मृत्यु नरोज!
(थपलिया इन्टर्न डाक्टर हुन्।)