कोभिड-१९ विशेष

होम आइसोलेसनमा कसरी बस्ने? यस्ता छन् १० मापदण्ड

रामकुमार धमला

नेपालमा कोभिड–१९ संक्रमितको संख्या ५० हजार नाघिसकेको छ। यो उक्लन्दो संक्रमण दरको ग्राफसँगै संस्थागत आइसोलेसन र कोभिड अस्पतालका बेडहरु भरिँदै गएका छन्। अस्पतालमा भर्ना भई उपचार आवश्यक नभएका लक्षणविहीन तथा सामान्य लक्षण भएका संक्रमित होम आइसोलेसनमा रहनसक्ने मापदण्ड लागू भएको छ।

महामारीजन्य रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यको भरपर्दो उपाय हो आइसोलेसन। क्वारेन्टाइन वा आइसोलेसन विधिको उद्देश्य भनेको रोगको संक्रमणलाई रोक्नु वा फैलन नदिनु हो। सामान्य भाषामा बुझ्दा छुट्टै एकान्तबास वा अलग्गिनु नै आइसोलेसन हो। संस्थागत आइसोलेसन खाली भएन भने होम आइसोलेसनमा तोकिएका मापदण्डहरु अपनाएर बस्न सकिन्छ। 

नेपालमा कोभिड–१९ संक्रमणको सुरुवाती चरणमा लक्षण र चिह्नहरु कम देखिएका थिए। हाल आएर संक्रमितहरुमा श्वास फेर्न गाह्रो हुने, स्वाद तथा गन्ध थाहा नपाउने, खोकी लाग्ने, विना कारण ज्वरो आउने, घाँटी दुख्ने  जस्ता लक्षण तथा चिह्नहरु देखिन थालेका छन्। कोभिड महामारीको यो समयमा यस्ता लक्षण देखिएमा, आफ्नो स्वास्थ्य आफैंलाई अलिक असामान्य लागेमा वा बिरामी हुन लागेको जस्तो अनुभव भएमा सकेसम्म चाँडो परिवारका सदस्यहरुबाट अलग्गै रहनुपर्छ। त्यसपछि कोभिड–१९ को जाँच गर्नुपर्छ। परीक्षणमा नतिजा पोजेटिभ आएमा संस्थागत आइसोलेसन खाली भए सकेसम्म आइसोलेसन सेन्टरमा रहने यदि खाली नभए घरमा नै (होम) आइसोलेसनमा बस्न सकिन्छ। 

होम आइसोलेसनमा रहँदा पालना गर्नुपर्ने प्रमुख स्वास्थ्य मापदण्ड तथा व्यवहार  
१. संक्रमित बस्ने कोठा उज्यालो र पर्याप्त हावा आउने हुनुपर्छ। भेन्टिलेसन भएको कोठा हुनुपर्छ। 

२. सकेसम्म शौचालय र नुहाउने ठाउँ छुट्टै व्यवस्था गर्ने। सामूहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा संक्रमितले प्रयोग गरिसकेपछि ढोकाको हेन्डल, चुकुलदेखि सबै भागहरुलाई डिस्इन्फेक्टेन्ट प्रयोग गरेर सफाइ तथा स्प्रे गरेर मात्र परिवारका अन्य सदस्यले प्रयोग गर्ने। 

३. होम आइसोलेसन अवधिभर घर बाहिर ननिस्कने र अन्य आफन्तसँग भेटघाट तथा सम्पर्क नगर्ने। आवश्यक संवाद समेत फोन वा सामाजिक सञ्जालमार्फत गरेको राम्रो। गर्नैपर्ने अवस्था आएमा न्यूनतम २ देखि ३ मिटरको दूरीमा आमनसामने नहुने गरी बढीमा १५ मिनेटसम्ममा सक्ने गरी छोटो कुराकानी गर्ने। 

४. पोषिलो खानेकुरा खाएर रोगप्रतिरोधी क्षमता बढाउनु आवश्यक भएकोले पर्याप्त पानी, फलफूल तथा झोलिलो र हाई प्रोटिन खानेकुराहरु सहितको सन्तुलित खानेकुरा खाने। खानेकुरा खाँदा र डेलिभर गर्दा विशेष सावधानी अपनाउनुपर्छ। जस्तो कि खाना खाने प्लेटहरु सहित संक्रमितको छुट्टै सेट प्रयोग गर्नुपर्ने हुन्छ। साथै संक्रमितले प्रयोग गरेपछिको फोहोर व्यवस्थापन समेत उचित तरिकाबाट हुनुपर्छ। 

५. घरका सबै सदस्यले दिनमा पटकपटक साबुन पानीले हात मिचिमिची कम्तीमा २० सेकेन्डसम्म धुुनुपर्छ। सकेसम्म हातलाई अनुहारमा कम छुने। विशेषगरी कोरोनाबाट बच्न मुख, नाक र आँखालाई बचाउनुपर्ने हुन्छ। 

६. संक्रमितको हेरचाहमा खटिने परिवारको सदस्यले अनिवार्य मेडिकल मास्कको उचित तरिकाले प्रयोग गर्ने। आँखामा चस्मा वा फेस सिल्ड प्रयोग गर्ने। संक्रमितसँग सकेसम्म कम सम्पर्क गर्ने। 

७. व्यक्तिगत सरसफाइमा ध्यान दिने। सरसफाइ तथा नित्य कर्ममा प्रयोग हुने सामानहरु छुट्टै राखी प्रयोग गर्ने।  

८. घरमा रहेका कोभिड–१९ का जोखिम समूहहरु दीर्घ रोगी, जेष्ठ नागरिक, विशेषगरी उच्च रक्तचाप, मधुमेह रोगीहरु, बालबालिका, गर्भवती तथा सुत्केरीलाई संक्रमितको सम्पर्कबाट टाढा राख्ने। 

९. संक्रमितले ज्वरो आए वा नआएको कम्तीमा दिनमा २ पटक जाँच गर्ने। अन्य स्वास्थ्य समस्या आए वा नआएको ख्याल गर्ने। यदि ज्वरो आएमा वा अन्य समस्या आएमा स्वास्थ्यकर्मी वा चिकित्सकसँग सल्लाह लिने। कुनै रोग विरुद्ध औषधि सेवन गरिरहेको भए नियमित रुपमा औषधि खाने वा प्रयोग गर्ने। 

१०. नियमित रुपमा एकै समयमा सुत्ने र उठ्ने बानी बसाल्नु पर्छ। कम्तीमा दैनिक ८ घन्टा सुत्ने, दैनिक तथा शारीरिक व्यायाम तथा मेडिटेसनहरु गर्ने। योग गर्ने, किताबहरु पढ्ने तथा मनमा लागेका कुराहरु नोटबुकमा लेख्ने। चिन्ता नलिने। आधिकारिक स्रोतको सूचना मात्र लिने। सामाजिक सञ्जालहरु कम प्रयोग गर्ने। 

परिवारका सदस्यहरुको भूमिका
परिवारको कुनै सदस्य होम आइसोलेसनमा रहँदा रोगको रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा परिवारका अन्य सदस्यको उल्लेखनीय भूमिका रहन्छ। 
१. कोभिड–१९ रोग श्वासप्रश्वास माध्यमबाट सर्ने भाइरल रोग हो। यो जोकोहीलाई पनि लाग्नसक्छ भन्ने कुरा परिवारका सबै सदस्यले बुझ्न आवश्यक छ। यसर्थ सक्रमितलाई लान्छना होइन, माया, सद्भाव र सान्त्वना दिनुपर्छ। 
२. होम आइसोलेसनमा रहेका संक्रमितको मनोबल उच्च बनाउने। अनावश्यक आफन्तहरुसँगको भेटघाट कम गर्ने। 
३. संक्रमितलाई आवश्यक पर्ने सामानहरु उपलब्ध गराउने। तर उपयुक्त सावधानी अपनाएर मात्र।  
४.आफ्नो पालिकाको कोभिड–१९ फोकल पर्सन, चिकित्सक वा स्वास्थ्यकर्मी र कोभिड डेडिकेटेट एम्बुलेन्स चालकको सम्पर्क नम्बर लिने। कन्ट्याक्ट ट्रेसिङ एन्ड टेस्टिङ्ग टिमसँग समन्वय गरी परिवारका सदस्यहरुको पिसिआर परीक्षण गर्ने। 
५. संक्रमितको अवस्था र लक्षणहरु नियमित रुपमा अपडेट लिने दिने। जस्तो श्वास फेर्न गाह्रो हुने, स्वाद तथा गन्ध थाहा नपाउने, खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण भए पालिकाको चिकित्सक र स्वास्थ्यकर्मीलाई जानकारी गराई स्वास्थ्य सल्लाह लिने।

अन्त्यमा, संक्रमितलाई सकेसम्म संस्थागत आइसोलेसन सेन्टरमा राखेको राम्रो। तर होम आइसोलेसनमा नै बस्नुपर्ने भए माथिका प्रमुख स्वास्थ्य मापदण्डहरु पालना गर्न आवश्यक देखिन्छ। स्मरण रहोस, यदि तोकिएको स्वास्थ्य मापदण्ड छैन र सोको अवलम्बन गरिएको छैन भने होम आइसोलेसन नै कोभिड–१९ रोग फैलाउने मुख्य केन्द्र बन्न सक्छ।

होम आइसोलेसनमा रहँदा स्वयं संक्रमित व्यक्ति, परिवार र स्थानीय पालिका तीनै पक्ष र तहले स्वाअनुशासनको पालना र कडाइका साथ नियमन र अनुगमन गर्नुपर्ने आवश्यकता देखिन्छ। 

(धमला इटहरी उपमहानगरपालिकाको कोभिड–१९ होम आइसोलेसन अनुगमन तथा व्यवस्थापन समितिका सदस्य हुन्।)
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने