यो कस्तो क्लेष-
म आलोचना खपेर रम्ने,
तिमी थपेर रमाउने!
म श्वास भर्ने,
तिमी सब हर्ने!
मृत्युलाई अँगाल्दै तिमी,
तिम्रो रोग अँगाल्दै म!
अझै, किन तिमी नै उच्च?
अनि जीवन दिने-
मेरा जातका सबै तुच्छ?
हेर, म जगत बचाउन हिंड्ने,
तिमी कलह मचाउन भिड्ने!
अनुयायी तिम्रो-
को रहे, को भए होलान्?
म मृत्युसँग लड्न खोज्दा,
तिमीले मलाई लडाउने सोच्दा,
मेरा पनि हात थोरै काप्छन् होला नि!
तिम्रा आफ्नाहरुका लागि-
मेरा आफ्ना दूर छन्;
हाम्रा पनि ज्ञानले भावना नाप्छन् होला नि!!
कुनै दिन,
एक मुट्ठी श्वासमा
अड्किन्छौ नि तिमी!
अक्सिजनको भाँडोको भरमा
अडिन्छौ नि तिमी!
त्यस दिन,
तिमीले भाँचेका मेरा हातले
जोड्नेछन् तिम्रै श्वास।
तिम्रो चेहराले फेरी गर्नेछ,
आफ्नै मुर्ख्याइँको हिसाब अनि, थोरै सहानुभूतिको आस।।
को क्रुर?
सवाल यो जरुर
राख्छु म तिम्रो लागि!
तर, तेतिन्जेल-
तिम्रो क्रोधको आगोमा
म कति पिल्सिने?
तिम्रो फोहोरी मानसपटलमा
म किन मिल्किने?
संसार यो गोलो,
यहाँ तिम्रो अडबङ्गे सोच
कहिले सल्किने अनि कसरी टल्किने?
तिम्रा विरोधी हात
कहिल्यै दीर्घरोगी नबनून्!
दृश्य ती भयानक हुन्छन्-
अस्पतालको ओच्छ्यानमा
ती वृद्ध बाले सन्तान गुहारेको;
नचल्ने शरीरमा जीवित ती आमाले
रात बिहान मृत्यु पुकारेको!
तिम्रा भने-
सोचझैं शरीर पनि हरदम अटल रहोस्।
अनि, मेरा नजर,
तिम्रो सहरदेखि धेरै टाढा रहोस्।
म अचानो,
तिमी खुकुरी,
पिर यो मेरो कहिले बुझ्नु?
सोख तिम्रो यो,
सोक नबनून्!
चलन-चल्तीमा तिमी दानव नहुनु!
समवेदना दिने हातले
हिंसाको पानी कहिल्यै नछुनु!
व्यक्ति म चोटले फक्रेको,
नुन छर्किने नीति अब नबुन्नु!