पेसाले म एक नर्स हुँ। वीर अस्पतालको अप्रेसन थियटरमा विगत ३ वर्षदेखि काम गर्दै आइरहेकी छु।
नेपालमा कोरोना भाइरस संक्रमित देखिएपछि उनीहरुको उपचार गर्ने लिस्टको अग्रपंक्तिमा मेरो नाम पनि थियो। अस्पतालले म निरोगी भएको कारण पनि कोरोना संक्रमितको उपचारमा मलाई खटाएको हुनुपर्छ।
कोरोना संक्रमितको उपचारमा खटिँदा सुरुका दिनमा थोरै डर लागेको थियो तर मेरो लागि यो एउटा अवसर पनि हो भनेर म खुसी थिएँ। मैले आफू कोरोना संक्रमितको उपचारका लागि खटिएको जानकारी गराउँदा उहाँहरु पनि खुसी हुनुभयो। यस्तो बेलामा काम गर्नुपर्छ भनेर बुबा–ममी पनि खुसी हुनुभयो। आफू सुरक्षित रहेर संक्रमितको उपचार गर्न सुझाव दिनुभयो। र, आशिर्वाद पनि दिनुभयो।
मसहित अन्य १४ जना साथीहरुलाई अस्पतालले कोरोना संक्रमितको उपचारका लागि खटाएको थियो। त्यहाँ गइसकेपछि पो थाहा भयो, अस्पतालले कोरोना संक्रमितको सम्पूर्ण उपचारको जिम्मा नर्सलाई दिएको रहेछ।
हामी त अचम्ममा पर्यौं, कार्यालय सहयोगीदेखि नर्सिङ इन्चार्जको जिम्मा हामी आफैंले निर्वाह गर्नुपर्ने रहेछ।
३ वर्षको मेरो करिअरमा यस्तो भद्रगोल व्यवस्थापनमा काम गर्नु परेको थिएन। यस्तो अव्यवस्थित व्यवस्थापनमा खटिनु मेरो र मेरा साथीहरुको निम्ति चुनौतीपूर्ण थियो। फेरि कुनै पूर्वाधार पनि थिएन।
अघिपछि सामान्य बिरामीको उपचारमा खटिने हामीहरु यो बेलामा आफू बचेर अरुलाई बचाउनुपर्ने थियो। त्यसैले पनि हाम्रो लागि निकै चुनौतीपूर्ण काम थियो। हाम्रो लागि अस्पतालले उपचारमा चाहिने पूर्वाधार समेत उपलब्ध गराउन सकेकाे छैन।
नयाँ भवनमा कोरोना संक्रमितको उपचार गर्दै आएको भए पनि त्यहाँ कुनै पूर्वाधारको व्यवस्था छैन। १५ जना नर्सले ९ बेडको आइसियु सञ्चालन गर्नुपर्छ। पालैपालो ड्युटी सेड्युअल बनाएर काम गरिरहेका छौं।
९ वटा बेड आइसियुको निम्ति छुट्याइएको छ। सबै बेड बिरामीले भरिएका छन्। बेलाबेलामा फलानो बिरामीको अवस्था कस्तो छ भनेर चिकित्सकले फोन गरेर सोध्नुहुन्छ। त्योबाहेक सबै काम हामीले नै गर्नुपर्छ।
धन्न, चिकित्सकहरुले बेलाबेलामा फोन गरेर फलानो बिरामीको अवस्था सोध्नुहुन्छ। अस्पताल प्रशासनले कुनै चासो दिएको छैन। यस्तो अवस्थामा अस्पताल व्यवस्थापनको पारा देख्दा हामी छक्क परेका छौँ।
शनिबारको कुरो हो, हामी आइसियुमा काम गर्दै थियौँ। त्यति नै बेलामा दुई जना व्यक्ति आए। एक जनाले आफ्ना वृद्ध बुबालाई ट्रलीमा राखेर आइसियुमा ल्याएका थिए। हामी नजिक आएर उनले ‘मेरो बुबालाई बचाइदिनुस्’ भन्दै ट्रली रोके।
हामीलाई कुनै जानकारी नै छैन, उनलाई कसले त्यहाँ पठायो भनेर। हामीले आइसियु बेड खाली नभएको र प्रशासनसँग कुराकानी गरेर आउनुस् भनेर सल्लाह दियौं। तर बिरामीको अवस्था निकै नाजुक थियो। बिरामीका आफन्त ‘मेरो बुुबालाई बचाइदिनूस्, मेरो बुबालाई बचाइदिनूस्’ भन्दै भुइँमा पल्टेर रुन थाले।
त्यो दृश्य देख्दा साह्रै्र नरमाइलो लाग्यो। हामीले तत्कालै प्रशासनमा फोन ग¥यौं। तर त्यहाँको फोन लागेन। एक घन्टाको निरन्तर प्रयासपछि बल्लतल्ल एक जना चिकित्सकसँग टेलिफोन सम्पर्क भयो। हामीले सबै घटना जानकारी गराएपछि उहाँ तत्कालै आउनुभयो।
उहाँले पिपिई लगाएर ट्रलीमै राखेर बिरामीको उपचार गर्नुभयो। किनकि बेड खाली थिएन। चिकित्सकले ती बिरामीको उपचार सुरु गरेपछि उनका आफन्तले आफू कोरोना संक्रमित भएको बताए। ‘मलाई पनि कोरोना भएको छ हजुर, म कता जाउँ?’ भनेपछि हामी नर्सहरु त एकछिन अक्क न बक्क भयौं।
के गर्ने?, कहाँ जाने?, कसलाई भन्ने? संक्रमित व्यक्ति आफैं बिरामीलाई बोक्दै अस्पताल आउँदा उनका कारण कति जनालाई कोरोना संक्रमण भयो होला? अस्पताल कतिसम्म संवेदनहीन छ भन्ने यो एउटा उदाहरण हो।
यस्ता घटना दैनिकजसो अस्पतालमा हुने गरेका छन्। तर अस्पताल प्रशासनले कुनै गम्भीरता नदेखाएको देख्दा दुःख लागेको छ। कोरोना संक्रमितलाई निको बनाउनेभन्दा अस्पतालबाटै संक्रमण फैलिएला कि भन्ने चिन्ता पो हुन थालेको छ।
अस्पतालमा व्यवस्थापन पक्ष कति कमजोर छ भन्ने यी घटनाले पनि देखाउँछ। कोरोना संक्रमितको उपचारमा खटिएका हामीहरुको सुरक्षाप्रति कुनै गम्भीरता प्रशासनमा देखिँदैन। हामीहरु नै संक्रमित भयौं भने बिरामीको उपचार कसरी गर्ने? यसबारे प्रशासनले केही सोचेको छैन। हामी दिनरात जोखिमपूर्ण अवस्थामा पनि संक्रमितको उपचारमा खटिएका छौं। तर कुनै सेवा–सुविधा उपलब्ध गराइएको छैन।
हामी अहिले हतियार बिनाका सिपाही जस्तै भएका छौँ। आफूलाई कसरी सुरक्षित राख्न सकिन्छ र बिरामीको उपचारमा खटिने भन्नेमा हामीले ध्यान दिएका छौं। किनकि अस्पताल प्रशासनलाई कुनै चिन्ता नै देखिँदैन।
एकातिर न हामीहरुको जागिरको टुंगो छ, अर्कोतिर अस्पताल प्रशासनले न्यूनतम पूर्वाधार बिना संक्रमितको उपचारमा खटाएकाले ज्यान नै के हुने हो टुंगो छैन। हाम्रै कति साथीहरुको घरबाट ‘यस्तो हेलचेक्र्याइँमा काम नगर, बरु जागिर नै छोड’ भनेर दबाब आउन थालिसक्यो। तर पनि हामी यस्तो जटिल अवस्थामा बिरामीको सेवा गर्नु धर्म ठानेर आफू असुरक्षित महसुस गरेर भए पनि सेवामा खटिइरहेका छौं। अस्पताल प्रशासन नागरिकको जीवन रक्षाका लागि गम्भीर बन्नेछ भन्ने हामीले आशा गरेका छौं।
प्रस्तुति : सिर्जना खत्री