साथी, म बुझ्छु तिमी निकै हतारमा छौ,
जिन्दगी टुंग्याउने तरखरमा छौ
कृपया हातको डोरी एकछिन छोडिदेऊ,
पिउनै लागेको विष थोरै पर राखिदेऊ,
पेस्तोलको ट्रिगरको औंला छोडिदेऊ,
आफ्नै जिउमा कोर्न लागेको सलाईको काँटी फालिदेऊ र
आफू बसेको ठाउँबाट थोरै पर सरिदेऊ।
यत्तिका जिन्दगी बिताएर मर्दैछौ,
केवल दुई/चार मिनेट मेरा दुई शब्द सुनेर त मरिदेऊ।
म तिमीलाई तिमी गल्ती गर्दैछौ भन्न लागेको होइन,
सायद विचार आफैं गर्यौद होला मर्दै नमर भन्न आएको पनि होइन।
तर साथी, तिमी मर्नुअघि तिमीसँग दुई/चार कुरा खोज्न चाहन्छु,
मरिसकेपछि परिवारको आँसु किन सम्झन्नौ, एउटा प्रश्न सोध्न चाहन्छु।
साथी, तिमीलाई जिन्दगी जिउन कठिन लाग्छ भने,
तिमीलाई हुर्काउन/बचाउन तिम्रो आमाले गरेको दुःख सोधेर त हेर,
तिमी च्याँ गरेर जन्मदाको आवाजले बाबुमा आएको हर्ष सोधेर त हेर,
तिमीलाई क ख ग सिकाउँदा गुरुले तिमीमाथि देखेको सपना सोधेर त हेर,
मरेपछि भोलिको तिम्रो अस्तित्व आफैं खोजेर त हेर।
साथी तिमीलाई पढेर प्रगति गर्न सकिनँ जस्तो लाग्छ भने,
ती पढ्नै नपाएका सडक बालकलाई सम्झ।
पढेर जागिर पाइन जस्तो लाग्छ भने,
खाडीको जागीरमा शरीर गुमाएकाहरुलाई सम्झ।
जागिर गर्न दुःख भयो भन्छौ भने,
हातमा सर्टिफिकेट बोकेर फर्म भर्दै हिँडेका युवालाई सम्झ।
जिन्दगीमा पैसा कमाउन सकिनँ जस्तो लाग्छ भने,
पशुपतिमा भिख माग्दै बसेकाहरुलाई सम्झ।
जिन्दगीमा माया पाउन सकिन जस्तो लाग्छ भने,
विचरा ती टुहुरा बालकहरुलाई सम्झ
पाइरहेको माया गुमाए भन्ने लाग्छ भने,
आमाबुबा गुमाएकाहरुलाई सम्झ
आफैंले आमाबुबा गुमाएका छौ भने,
आफ्नो हातखुट्टा गुमाउनेहरुलाई सम्झ
सयौं जुनीमा पाइने मान्छेको जिन्दगी हो साथी, जानीजानी हत्या नगर
भोलि देखाउनु छ दुनियाँलाई, चिनाउनु छ आफूलाई साथी आत्महत्या नगर।
साथी उपायहरू धेरै थरीका छन्,
जिन्दगी जिउने धेरै तरिका छन्
यहाँ मान्छेको विश्वास लाग्दैन भने, भगवानको भर पर्न सक्छौ,
अनुहार देखाउनै लाज छ भने सयौं कोष पर सर्न सक्छौ
अपराध नै गरेका छौ भने पनि दुई चार वर्ष जेल बसिदेऊ,
मान्छेले के भन्छ भन्ने लाग्छ भने अनुहारमा खरानी, बेसार, तेल घसिदेऊ।
जिन्दगी रमाइलो छ साथी नयाँ सम्बन्ध जोड्न सक्छौ,
कुलतको बाटो छोड्न सक्छौ,
नयाँ बाटो खोज्न सक्छौ,
जिन्दगी चाहेको तिर मोड्न सक्छौ।
बस तिमीले जानीजानी आफ्नो जिन्दगी हत्या नगर,
अरु सबैथोक गर, साथी तर आत्महत्या नगर।