जीवनशैली

म, र मेरो अदृश्य साथी

डा धर्मराज रेग्मी

ऊ र म,
ठ्याक्कै याद त छैन
कता छोएँ, कता नजिकिएँ
हावा पछ्याउँदै गए या छिटाहरु
भेटिएछ ऊ, नजिकिएछु म।

उसले चिनाउँदै गएछ
म जान्दै गएछु।

विस्तारैविस्तारै उसले
ममाथी हावी हुन खोज्नु
मलाई आफ्नो बनाउन खोज्नु र 
ममाथि अपनत्व कायम गर्न खोज्नु
अनि म,
 नाइँनास्ति गर्नु 
आफ्नो अस्तित्व जोगाउन खोज्नु
उसका कुरा नमान्नु।

यसै बीचमा एक दिन
वैधानिकता पायो हाम्रो मिलनले
बाहिरियो हाम्रो सम्बन्ध 
अनि त ऊ मस्त
म स्तब्ध।

अनि, ऊ अब
मलाई एक्लै बसोस् भन्छ
मेरो नजिकै कोही नआउन् भन्छ
कसैले नभेटून् 
कसैले नछोउन्
मसँग कोही नबोलुन भन्छ
मलाई कतै नजाओस् भन्छ
कसैलाई नभेटी नितान्त एक्लो होस भन्छ।

मलाई केही नखाई बसोस् भन्छ
जिब्रोले स्वाद थाहा नपाए हुन्थ्यो भन्छ
पेटले खाना नपचाए हुन्थ्यो भन्छ
मलाई निन्द्रा नलगोस् भन्छ
डरैडरमा बाँचोस् भन्छ
भयानक सपनाहरुले
एक-एक गरी तर्साउन् भन्छ।

तर म,
मलाई जे- जे मन पर्छ खान्छु
सधैँ हँसिलो अनि ऊर्जावान हुन्छु
फोनमा सबैसँग गफिन्छु
भिडियो च्याटमा रमाउँछु
एक्लोपनको छायाँ पारेको छैन
जुन कुरा उसलाई फिटिक्कै मन परेको छैन
ऊ रुष्ट छ
तर्किएको छ ऊ
सायद सम्बन्ध छोट्याउन लाग्दै छ
टाढिन खोज्दैछ।

मेरो चाहाना पनि,
हाम्रो सम्बन्धविच्छेद होस
ऊ छुट्टिएर जाओस्
कतै टाढा 
मदेखि धेरै टाढा
अझै भनौं मानव जीवनदेखि टाढा
नितान्त एक्लो होस
र अन्ततः विलिन पनि।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने