रती पक्वाङ्ग
यतिबेला सिंगो संसार कोरोना कहर भोगिरहेछ। ९–१० महिनादेखि यता यो भाइरसले संसारलाई आफ्नो कब्जामा लिन खोजिरहेछ। हामी भाइरससँग बच्ने र जुध्ने प्रयास गरिरहेछौं। भाइरससँग जुध्ने चेतना र आवश्यक सामाग्रीको अभाव दुवैथोक एकै पटक झेलिरहेका पनि छौं।
कोरोना संसारको साझा समस्या हो। योसँग जुध्दै अघि बढ्नुको विकल्प छैन। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कोरोना विरुद्धको लडाईंको अग्रमोर्चामा छन्। ‘सेवा नै धर्म हो’ भन्ने पवित्र भावले अस्पतालमा खटिइरहँदा हामी स्वास्थ्यकर्मीले अनेक अप्ठ्यारोसँग जुध्नु परिरहेको छ। आफू संक्रमित हुने डरभन्दा माथि आफ्ना बिरामी र परिवारलाई कसरी जोगाउने भन्ने भाव मनभरि छ। आफू जोगिए अझ बढी सेवा गर्न सकिन्छ भन्ने भावले सीमित स्रोत–साधनका बाबजुद आफ्नो मनोबल जोगाएका छौं।
स्वास्थ्यकर्मीमा संक्रमण देखिने क्रम बढ्दै जाँदा उनीहरुले झेल्नु परेका पीडा र अपमान अकल्पनीय छन्। म यो आलेखमा त्यही पाटो उप्काउने प्रयास गर्दैछु, असाध्यै गह्रौं मन लिएर। अटेसमटेस भावना शब्दमा पोखिन मानिरहेका छैनन्।
नेपालकै सबैभन्दा जेठो वीर अस्पतालमा म विगत १७ वर्षदेखि काम गरिरहेको छु। हाल नर्सिङ अधिकृतको भूमिकामा त्यहाँ सेवारत छु। मानव सभ्यतामाथिकै ठूलो चुनौतीको यो कष्टकर घडीमा हामी अत्यन्तै संवेदनशील भएर अहोरात्र बिरामीको सेवामा खटिएका छौं। कोरोना संक्रमित बिरामीको आत्मबल कम होला कि, चित्तमा ठेस लाग्ला कि भनेर असाध्यै सचेत पनि छौं।
यसरी काम गरिरहँदा संक्रमित स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरिएको, संक्रमितको घर भनेर ब्यानरै टाँग्न खोजिएको, सामाजिक बहिष्करणमा पारिएको खबर सामाजिक सञ्जाल, टिभी र पत्रपत्रिकामा आउँदा असाध्यै छटपटी हुन्छ। बेलाबेलामा मनोबल ढल्न खोज्छ। तर धर्मराएको मनलाई आफैं टेको दिन्छु। दुखेको मनलाई आत्मबलको मल्हम लगाउँछु। हिँड्न सिक्दै गरेको बच्चाजस्तै हुन्छ मन। धर्मराउँदै उठ्छ मन। त्यसरी उठेको मनले संक्रमित र अरु बिरामीको सेवामा खट्न अह्राउँछ।
यस्तै सन्त्रासको समय चलिरहँदा कोरोनाले मलाई पनि अँगालो हाल्यो, नमिठो र त्रासदीपूर्ण अँगालो। अस्पतालको अस्तव्यस्त शैलीले भाइरसललाई पिपिईले छेकेन। सँगै काम गर्ने आत्मीय सहकर्मी, आदरणीय अग्रज र कैयन साथीहरुले पनि कोरोनालाई छल्न सक्नुभएन। मेरो नियमित सेवाकर्ममा अस्थायी ब्रेक लगाउने गरी मोबाइलमा सन्देश बज्यो, कोभिड–१९ डिटेक्टेड भनेर। यो सन्देशले केहीबेर मलाई स्तब्ध बनाए पनि यो दिन आउन सक्छ भनेर म मानसिक रुपमा पहिल्यैदेखि तयार थिएँ। म एक जिम्मेवार नागरिकसँगै अनुभवी, सक्षम र जिम्मेवार स्वास्थ्यकर्मी पनि हुँ। यो भाइरसका असर र प्रभावबारे मसँग राम्रो ज्ञान छ। यसबाट बच्न, जोगिन र उम्कन बारम्बार कयौंलाई हौसला पनि दिएकी छु।
कार्यक्षेत्रमा रहँदै मलाई भदौ २५ गते साँझपख अलि सन्चो नभएको महसुस भएको थियो। शरीरका हरेक अंग थाकेको महसुस भएको थियो र मध्यम खाले ज्वरो आएको थियो। शरीरमा भएको यो परिवर्तन महसुस भए तापनि ठिक त्यसैबेला एक बिरामीको रोगसँग लड्दालड्दै मृत्यु भएको कारण सम्पूर्ण जिम्मेवारीपूर्ण काम गर्न बाँकी हुँदा सारा शारीरिक पीडा भुलेर आफ्नो कार्य सिध्याएँ। काम सकिएपछि आफूलाई गाह्रो भएको कुरा सहकर्मीलाई भनेँ र कोरोना जाँचको लागि लागेँ। त्यही क्षणबाट एकान्तबासमा बसे पनि मनमा परिवर्तित मौसमको कारण आफूलाई सन्चो नभएको होला भन्ने लागेको थियो। कोरोनाले छोयो भन्ने सोचेको थिइनँ।
कमजोर हुँदा मुसाले सिंहलाई पनि पछार्छ भन्छन्। मानसिक र शारीरिक पीडाको समुद्रमा डुबिरहँदा कतिपय आफ्नाहरु आफ्नाजस्ता हुँदैनन् भन्ने कुरा मैले महसुस गरेँ। जानीनजानी समाजका सदस्यबाट मेरा सन्ततिमाथि सामाजिक दूरीको लागि व्यंग्यात्मक घोचपेच हुँदा मलाई त्यस्तो महसुस भयो। सायद आकाशमा चिल उड्नु र तल रूख ढल्नुको संयोगजस्तै भएको पनि हुनसक्छ।
परिवारका सदस्यहरुको रिपोर्ट कस्तो आउँला भन्ने डर मनैभरि थियो। धन्न सबैको रिपोर्ट धमाधम नेगेटिभ आइरहेको थियो। यसो हुँदा आफ्नो पीडा कम भएको थियो। मैले पहिलेदेखि नै सचेतना अपनाएको र आफूले जानेको ज्ञान परिवारमा लागू गर्नुको सकारात्मक परिणाम थियो यो। तर पनि समाजको कमजोर चेतनाको प्रभावबाट म अछुतो रहन सक्ने कुरै भएन। कोरोनाको पीडाजस्तै दुखद रह्यो, आफ्नो सेरोफेरोबाट पाएको दुःख पनि। कसैलाई दोष लगाउने मेरो रहर छैन। यो साझा समस्या हो। भोलि जसलाई पनि पर्न सक्छ। मानवता नहल्लियोस् भन्नेमात्र मेरो सोचाइ हो।
समय आफ्नै गतिमा बगिरहन्छ। मौका आउँछ पर्खंदैन। एकान्तबास (आइसोलेसन) को समय नितान्त व्यक्तिगत र आफ्नो समय हो। यसको सबैले भरपुर सदुपयोग गर्नुपर्छ र मन बहलाउनुपर्छ। मैले मेरो एकान्तबासको समयमा सम्बन्धित निकायलाई सूचित गरेँ र सिर्जनशील आफ्ना हातहरूलाई आफ्नो रुचिको काममा व्यस्त बनाएँ। सिलाइ–बुनाइ मेरो रुचि हो। तसर्थ पुराना कपडाको भण्डारलाई खोतली ‘बेस्ट फ्रम वेस्ट’ बनाई रमाएँ। फिल्मी मनोरञ्जनमा आफूलाई खुसी बनाएँ। मेरो आत्मीय दाजुको प्रेरणाले विपश्याना ध्यानमा तल्लिन रहेँ। जीवनको अभिन्न साथी (जीवनसाथी) को कहिल्यै नहल्लिने माया, साथ, सहयोग र प्रेरणाले मलाई त्यो कठिन समय गुर्जान धेरै सहज भयो। जीवनसाथीको असिम मायाले विषम परिस्थिति पार गर्न धेरै सजिलो भयो।
सुरुका दिनमा म कोरोना संक्रमित छु भनेर कसैलाई भन्न पनि मन भएन। त्यसले मानसिक तनाव दिंदोरहेछ। सायद मैले यसो गर्नुमा हाम्रो सामाजिक संरचना र अवस्था पनि हुनसक्छ तर मलाई यसमा खेद छैन। कोरोना संक्रमण भएका मेरा साथीहरु अस्पतालले व्यवस्था गरेको ठाउँमा एकान्तबासमा बसे। मलाई चाहिँ आफ्ना मुटुका टुक्राजस्ता बच्चाहरुबाट पर बस्न मन भएन। उनीहरुको हाँसो मेरो जीवनको ऊर्जा हो। त्यो ऊर्जाबाट पर बस्न मन भएन। त्यसैले घरकै एकान्तबास रोजें। उनीहरुको पिसिआर परीक्षण रिपोर्ट नआउँदासम्म मन निकै आत्तियो। उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि मन हल्का भयो। मेरो घरछेउको सरकार– भक्तपुर नगरपालिकाले असाध्यै माया दियो। त्यहाँको जनस्वास्थ्य कार्यालयले हालखबर सोध्यो। वडा सदस्य दाइ–दिदीहरु आवश्यक सामग्रीको बाकससहित घर आउँदा मन निकै हर्षित भयो। उहाँहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु।
कोभिड–१९ सामाजिक दूरी कायम गर्ने रोग होइन। सामाजिक दूरी र भौतिक दूरीमा आकाश र पातालको फरक छ। सामाजिक दूरीले मानिसलाई एक्ल्याउँछ, अत्याउँछ। छिछि र दूरदूरको पात्र बनाउँछ। यो त्यस्तो व्यथा होइन। यो त भौतिक दूरी कायम गरेर अलिकति पर तर आत्मीय रुपले परिवार, समाज र इष्टमित्रको माया, ढाढस र स्याहारले नियन्त्रण गर्न सकिने व्यथा हो। समाज, परिवार सबै मिलेर हेला गरे भने कुनै पनि व्यथाबाट पार पाउन सकिँदैन। यसकारण यसलाई भौतिक दूरीको रुपमा मात्र बुझौं। सँगसँगै तर अलग्ग र अलि पर बसेर मिलेर जिउने कला जान्नुपर्छ।
रोगसँग सचेत बनौं। कुनै पनि रोग लागेका व्यक्तिलाई होलाहोचो नगरौं। समाजसँग अलग नगरौं। दुव्र्यवचन नगरौं। आफ्नाहरुको आवश्यकता अप्ठेरोमा झन् बढी पर्छ। अप्ठेरोले आत्तिएको मनमा मल्हम लगाऔं। कोरोना साझा समस्या हो, मिलेर जोगिऔं। व्यथालाई मायाले जितौं।
(पक्वाङ्ग वीर अस्पतालकी नर्सिङ अधिकृत हुन्।)