डा दिपेन कडरिया/डा शीतल अधिकारी
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट नेपालमा एक लाख १५ हजार भन्दा बढी सङ्क्रमित भइसकेका छन्। प्रतिदिन सङ्क्रमितको संख्या बढ्दै छ। अस्पतालका शय्या भरिएका छन्। सङ्क्रमितको संख्या बढेसँगै लक्षण भएका सङ्क्रमित पनि बढ्दै छन्।
अहिले बिरामीले बेड नपाउने अवस्था सिर्जना भएको छ भने सरकारले सुरक्षित रुपमा घरमा वा संस्थागत आइसोलेसनमा बस्न आग्रह गरेको छ। करिब २० हजार संक्रमित घरमा आइसोलेसन छन्। धेरै नयाँ बिरामीलाई ज्वरो आउने, जिउ दुख्ने, खाना नपच्ने, स्वाद–गन्ध थाहा नहुने आदि लक्षण हुन सक्छन् र विस्तारै कम भई निको हुन्छन्। तर कोहीलाई शरीरमा अक्सिजन घट्न गई (Hypoxia) जटिल अवस्था सिर्जना हुने र ज्यानसमेत जाने हुन्छ।
यस लेखमा अक्सिजन घटेको अवस्थाको पहिचान र अपनाउनुपर्ने सतर्कताको बारेमा जानकारी गराउँछौँ।
१) साइलेन्ट हाइपोक्सिया भनेको के हो?
शरीरमा अक्सिजनको मात्रा कम (Hypoxia) हुँदा श्वास फेर्न गाह्रो हुने, छटपटी हुने, चेतना कम हुने जस्ता लक्षण देखिन्छन् तर कोभिड–१९ संक्रमितमा यी लक्षण विना नै अक्सिजनको मात्रा ज्यादै घटेको हुनसक्छ। यसै अवस्थालाई साइलेन्ट हाइपोक्सिया भनिन्छ।
२) शरिरमा अक्सिजन कति हुन्छ?
फोक्सोमा पुगेको हावाबाट अक्सिजन रगतमा भएको हेमोग्लोविनसँग शरीरको विभिन्न भागमा पुग्छ। यसको मात्रा पल्स अक्सिमिटरले सजिलैसँग नाप्न सकिन्छ। ९५ वा माथिकालाई नर्मल मानिन्छ। दमका बिरामीमा ८८ प्रतिशतभन्दा कमलाई घटेको मानिन्छ।
पल्स अक्सिमिटर करिब दुई हजार रुपैयाँमा किन्न सकिन्छ। घरमा राख्ने संस्थागत आइसोलेसनमा बसेको भए राख्न आग्रह गर्दा Hypoxia तुरुन्तै थाहा पाउन सकिन्छ। दिनको तीन÷चार पटक नापेर हेर्दा ९५ प्रतिशतभन्दा बढी भएमा आइसोलेसनमा नै बस्न सकिन्छ तर त्योभन्दा कम भएमा दम रोगीभन्दा कम भए तुरुन्त अस्पताल जाने वा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने हुन्छ।
३) अक्सिजन घट्दा शरीरमा के असर गर्छ?
शरीरमा अक्सिजन कम भएमा महत्वपूर्ण अङ्ग (मुटु, मिर्गौला, कलेजो, ब्रेन) आदिलाई असर गर्छ। अक्सिजन कम हुनुको मुख्य कारण भाइसरले फोक्सोमा पुर्याएको असर हो । सुरुमा निमोनिया गराए पनि पछि Hypoxia बनेर फोक्सोको श्वास लिने र फाल्नेमा गम्भीर असर गर्छ।
अक्सिजन दिँदा पनि नहुने, भेन्टिलेटरमा राख्नुपर्ने र यी सबै उपचार पद्धतिबाट पनि बिरामीलाई बचाउन नसकिने अवस्था आउन सक्छ। धेरै अङ्गहरुमा असर परेको अवस्थालाई मल्टी अर्गान फेलियर भनिन्छ। यो एकदमै नाजुक अवस्था हो। समयमै अक्सिजनको मात्रा पुर्याउन सकेमा धेरै बिरामीलाई यो अवस्थामा जानबाट रोक्न सकिन्छ। वयस्क तथा दीर्घरोगीहरु जस्तैः मधुमेह, दम, उच्च रक्तचाप, मुटुको अरु रोग तथा कलेजोका समस्या भएका सङ्क्रमितहरुमा साइलेन्ट हाइपोक्सिया कम हुने सम्भावना भए पनि वृद्ध तथा दीर्घरोगीहरुमा यसको असर धेरै हुन्छ।
४) अक्सिजनको मात्रा कम भए के गर्ने?
माथि भनिएअनुसार शरीरमा अक्सिजन घट्नु भनेको कोरोना भाइसरले फोक्सोमा धेरै असर गरेको हुनसक्छ। यस्तो अवस्थामा आइसोलेसनमा भएका बिरामीले तुरुन्त अस्पताल जाने व्यवस्था गर्नुपर्छ। यस अवस्थामा अक्सिजन दिएर उपचार सुरु गर्दा अरु जटिलताबाट बचाउन सकिन्छ। कोभिड–१९ का बिरामीहरुले आइसोलेसनमा रहँदा नआत्तिकन उच्च मनोबल राखेर सन्तुलित आहारसँगै शरीरमा अक्सिजनको मात्रा अझै हेरी यस विषम परिस्थितिमा आफूलाई सुरक्षित राख्न सक्न सकिन्छ।
(डा कडरिया युनिभर्सिटी अफ तान्जेनिया अमेरिका र डा अधिकारी चितवन मेडिकल कलेज, चितवनमा कार्यरत छन्।)